२९ भदाै - ४ असाेज २०७६ | 15-21 Sep 2019

इच्छाशक्ति जरूरी

Share:
  

‘सरकारको डेढ वर्षः विकासमा बेपरबाह’ (२२–२८ भदौ) आवरण रिपोर्टले महत्वपूर्ण पूर्वाधार विकास परियोजनामा सरकारको चरम ढिलासुस्तीको चिरफार गरेको छ । दुईतिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारले राजनीतिक स्थिरताको अनुकूल मौका उपयोग गर्दै निर्माणाधीन ठूला परियोजनालाई विशेष प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने हो । तर विकासका काममा विभिन्न प्रक्रिया र सुस्तताको पुरानै रोगले सर्वत्र गाँजिरहेको छ । दशवर्षे द्वन्द्वकाल र त्यति नै समयको राजनीतिक संक्रमणकालका कारण देशमा आशा र संभावना देख्न नपाएका जनता अहिले पनि अपेक्षा अनुसार सरकार बलियो रूपमा प्रस्तुत नहुँदा थप निराश छन् । विकास आयोजनाको काम मात्र होइन, जनताका दैनन्दिनमा जोडिएका हरेक विषय अस्तव्यस्त छन् । गर्नैपर्ने काम अलपत्र छन् भने नछुँदा/नचलाउँदा हुने विषय गिजोलेर असन्तुष्टि बढाउने काम भएको छ । केही समय अघि गुठी विधेयक ल्याएर आलोचना र विरोध खेपेको सरकारले पछिल्लो समय ठाउँ कुठाउँ राष्ट्रगान गाउनु/बजाउनुपर्ने उर्दी जारी गरेर आफूलाई रक्षात्मक बन्नुपर्ने अवस्थामा पु¥यायो । शासनका लागि अनुकूल समय पाएर मात्र नहुने रहेछ, राम्रो काम गर्ने इच्छाशक्ति महत्वपूर्ण कुरा हो । दुईतिहाइ बहुमतयुक्त सरकार पुरानै सरकारको निरन्तरता जस्तो देखिनु विडम्बना हो ।

भवनाथ धमला

सिन्धुली


उदाहरणीय दिव्यलक्ष्मी

नेपालकी पहिलो महिला माटो वैज्ञानिक बारेको व्यक्तिवृत्त ‘माटो मैयाँ’ (२२–२८ भदौ) ले प्रयास गरे देशभित्र पनि कामबाट पहिचान बनाउन सकिने उदाहरण पेश गरेको छ । विदेशमोह छाडेर आफ्नै देशमा केही गर्ने अठोटसाथ क्रियाशील दिव्यलक्ष्मी वज्राचार्यको सफलता अरूका लागि पनि उत्प्रेरणा बन्न सक्छ । ८२ वर्षे उमेरमा पनि माटोको अनुसन्धानमा सक्रिय वज्राचार्यको यो ऊर्जा र लगन कायम रहोस् ।

शैलेश श्रेष्ठ

भक्तपुर


किसानमा उत्साह

‘छलाङ मार्दै कफी’ (२२–२८ भदौ) ले कफीको व्यावसायिक खेतीको संभावनाबारे चर्चा गर्दै कृषि कर्ममा भविष्य खोजिरहेका युवालाई उत्साहित बनाएको छ । अहिले देशमा कफी खेती भइरहेका ठाउँ बाहेकमा पनि यो खेती गर्न सकिने विज्ञहरूको राय उत्साहप्रद छ । हावापानीका कारण हामीकहाँ उत्पादित कफी स्वादिलो भएकाले यसलाई अन्तर्राष्ट्रिय बजारमा बढीभन्दा बढी उपयोग गर्न सक्नुपर्छ । नेपाली कफीको ब्राण्डिङ अहिलेसम्म व्यवसायीहरूले आफ्नै हिसाबमा गर्दै आएका रहेछन्, यसमा सरकारको पनि पहल आवश्यक छ ।

जय मगर

स्याङ्जा, हालः काठमाडौं


कार्यकर्ता रिझाउन नलागौं

‘अतिक्रमणलाई वैधानिकता’ (२२–२८ भदौ) रिपोर्टमा सार्वजनिक तथा वनक्षेत्रको जग्गा अतिक्रमण गरेर बसेकालाई वैधानिकता दिने गरी भूमि ऐनको संशोधन विधेयक पारित गर्ने तयारीबारे जान्दा नमज्जा लाग्यो । सत्तारुढ दलको कार्यकर्ता रिझउने प्रपञ्च मात्र हो, यो । अतिक्रमण गरेर बसिरहेकालाई जग्गा उपलब्ध गराउने हो भने सार्वजनिक स्थल र वनक्षेत्र मासिंदै जान्छ । यो कदम सरकारले रोक्नु नै बुद्धिमानी हुन्छ ।

खेमचन्द्र भट्टराई

अनलाइनबाट


विकराल समस्या

बेवारिसे गाईगोरुबारे ‘भारतको बाछिटा’ (२२–२८ भदौ) रिपोर्ट पढ्दा तराईका जिल्लाहरूमा बेवारिसे गाईगोरुको समस्या विकराल बन्नुको कारण थाहा भयो । हेर्दा सामान्य जस्तो देखिए पनि शहर र बजार क्षेत्रमा ट्राफिक समस्या र दुर्घटना बढाउने, किसानको बाली नोक्सान गरिदिने बेवारिसे गाईगोरु ठूलो समस्या बनिसकेका रहेछन् । चौपाया व्यवस्थापनका लागि स्थानीय सरकारले बजेट नै छुट्याउनुपर्ने अवस्था आउनुले यो समस्याको गहिराइ देखाउँछ । भारतबाट भित्रिने गाईहरू सिमानामा रोक्न स्थानीय र प्रदेश सरकारको प्रयास विफल भइसकेका कारण केन्द्र सरकारले कूटनीतिक तहबाट पहल गर्नुपर्छ ।

कल्पना जोशी

बालकोट, भक्तपुर


राजतन्त्रको भूत–

नेताले काम गरेन, धोका दिए भन्नुको मतलब राजा आऊ भन्ने होइन । काम लाग्ने नेता राखेर बेकामेलाई फाल्ने अधिकार जनतासँग सुरक्षित छ । हामी कहाँ चुक्यौं, आफैं कुरा बुझौं ।

हेम लिम्बू

फेसबूकबाट

•••

प्रतिगामी शक्ति सलबलाउने अवस्था आउनुमा गल्ती कसको ? यसका पछाडि पक्कै कारण होलान्, तर खोतल्ने प्रयास कतैबाट भएको देखिंदैन । सत्ता बाहिर रहेको शक्तिले जनताको चाहना र मूड अनुसार आफ्नो राजनीति बदल्छ । अर्कातिर, सत्तामा रहने दल कुर्सी सधैंका लागि हाम्रो हो भन्ने धङधङीमा रहन्छ । वास्तवमा सत्तामा हुनेले नै आफ्नो त्रुटि–कमजोरीका कारण व्यवस्थालाई कमजोर पार्छन् ।

निलेन्द्र प्याकुरेल

फेसबूकबाट

comments powered by Disqus

रमझम