२४–३० कात्तिक २०७६ | 10-16 Nov 2019

देवकोटा बुझ्ने आँखीझ्याल

Share:
  

‘मिथको जोखिममा महाकवि’ (१०–२३ कात्तिक) आवरण रिपोर्टले महाकवि लक्ष्मीप्रसाद देवकोटाका थुप्रै पाटा उधिनेको छ । योसँगै देवकोटाका बारेमा केन्द्रित भएर प्रकाशित गरिएका अन्य आलेखले यो अड्ढ पठनीय र सङ्ग्रहणीय बनेको छ ।

अनेक किंवदन्तीमा बाँचेका महाकवि देवकोटाबारे चर्चा गर्ने प्रायः सबैले उनलाई गरीबका रूपमा चित्रण गरेको पाइन्छ । तर वास्तविकता त्यस्तो रहेनछ । उनी त्यतिवेलाको सम्पन्न व्यक्ति थिए भन्ने तथ्यसँगै उनका व्यक्तित्व र कृतित्वका विविध पाटा जान्न पाउँदा रोचक लाग्यो । यस रिपोर्टले महाकवि देवकोटा विश्वव्यापी प्रभाव विस्तार गर्न सक्ने कोटिका विद्वान् हुन् भन्ने पुष्टि गरेको छ ।

महाकविका आखिरी दिनहरूको बारेमा डम मोरेको चित्रमय लेखन औधी मार्मिक लाग्यो । यसका साथै, माधवप्रसाद घिमिरे, भैरव रिसाल, शेखर खरेल, डा. नम्रता चतुर्वेदी लगायतका लेख पनि देवकोटाको आनीबानी र रचनाशिल्प बुझाउने आँखीझ्याल साबित भए ।

खेमराज रेग्मी, सखुवागाछी, सुनसरी

वन्यजन्तुलाई नबिथोल

चितवन राष्ट्रिय निकुञ्ज सम्बन्धी रिपोर्ट ‘रात्रिकालीन सफारी घातक प्रस्ताव’ (१०–२३ कात्तिक) ले बढी आम्दानी गर्ने ध्याउन्नमा प्रकृतिमाथि जथाभावी गर्न कुनै कसर बाँकी नछाड्ने व्यापारिक स्वार्थ समूहको प्रवृत्ति उदाङ्गो पारेको छ । अहिलेकै दिवाकालीन जङ्गल सफारीले निकुञ्जका वन्यजन्तुलाई असर पारिरहेका वेला राति पनि सफारी सञ्चालन गर्ने व्यवसायीहरुको प्रस्ताव प्रकृति विरोधी छ । निकुञ्ज र त्यहाँका वन्यजन्तुको आकर्षणकै कारण व्यवसाय चलाइरहेका होटल व्यवसायीहरूले आफ्नो अन्नदाताको संवेदनशीलताप्रति रत्तिभर नसोच्नु उदेकलाग्दो कुरा हो । हामी निःसन्देह प्रकृतिको काखमा पुग्दा आनन्द मान्छौं, तर त्यसले त्यहाँको वातावरण, जनावरलाई के कति असर पुर्‍याउन सक्छ भन्नेतर्फ पनि हेक्का राख्नुपर्छ ।

रातमा कति वन्यजन्तु सयरमा निस्किन्छन्, कतिपय आराम गर्लान् । वन्यजन्तुलाई असर पारेर, वातावरणमा फोहोरमैला गरेर प्राप्त गरेको आनन्दको के अर्थ ? विद्यमान कानूनले रात्रिकालीन सफारी सञ्चालन गर्ने अनुमति नदिएको स्थितिमा त्यतातर्फ सोच्दै नसोचौं, बरु निकुञ्ज प्रशासनले दिवाकालीन सफारीलाई निश्चित समयतालिका बनाएर व्यवस्थित बनाओस् । सफारीको नाममा जतिसुकै संख्यामा गाडी निकुञ्जमा छिर्ने क्रम रोकियोस् ।

जमिरलाल खवास, जरुवाटोली, मोरङ

•••

रात्रिकालीन सफारी हुनुहुँदैन । ढिलोमा पनि साँझ ६ बजेपछि निकुञ्जभित्र कुनै पनि मानवीय गतिविधि गर्न बन्द गरिनुपर्छ ।

विमल बुढा क्षेत्री, फेसबूकबाट

•••

रातको समय जीवजन्तुको पनि आराम गर्ने समय हो । पैसा कमाउनैका लागि राति निकुञ्जभित्र आराम गरिरहेका पशुपन्छीलाई दखल दिन पाइँदैन ।

प्रह्लाद तिमिल्सिना, फेसबूकबाट

कस्तो विरोधाभास !

‘पोषणको नाममा पत्रु खानाको व्यापार !’ (१०–२३ कात्तिक) रिपोर्टले पोषणको आवरणमा ‘जंक पूmड’ को व्यापारलाई बढावा दिन खोजेको तथ्य सार्वजनिक गरेको छ । बालबालिकामा देखिएको कुपोषण र होचोपन कम गर्ने उद्देश्यले ‘बलियो नेपाल’ अभियान अन्तर्गत चाउचाउमै पोषकतत्व राखिने कुरा पोषणको क्षेत्रमा विडम्बना हो । अझ जंक फूड उत्पादक व्यापारिक घराना चौधरी ग्रुपको चौधरी फाउण्डेशनले पोषण अभियान सञ्चालन गर्नु कति विरोधाभास चाउचाउ जस्ता ‘जंक फूड’ मानव स्वास्थ्य र त्यसमा पनि बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासमा गम्भीर असर पुर्‍याउने अनुसन्धानबाट प्रमाणित भइसकेको छ । जंक फूडमै पोषकतत्व राखेर बालबालिकामा पुर्‍याउने पोषण कार्यक्रमको योजना हो भने यो त व्यापारिक धन्दा बाहेक केही हुनेछैन ।

‘बलियो नेपाल’ अभियानको प्रवद्र्धक चौधरी फाउण्डेशनले माइक्रोसफ्टका संस्थापक बिल गेट्सको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनबाट ल्याएको रु.८ करोड राज्यलाई छलेर भिœयाइएको देखिनु अर्को शंकास्पद पाटो बनेको छ । जंक फूड उत्पादक व्यापारिक घराना चौधरी ग्रुपको फाउण्डेशनले आफ्नो कार्यक्रम निर्बाध अगाडि बढाउन राज्यसंयन्त्रमा के कति प्रभाव पार्‍यो होला, अनुसन्धानको विषय हो । रिपोर्टमा लेखिए झैं ‘बलियो नेपाल’ अभियानको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको थाहा पाउँदा थप आश्चर्य लाग्यो ।

पोषण स्थिति सुधार गर्ने मुख्य जिम्मेवारी लिएर बसेको स्वास्थ्य मन्त्रालय र त्यहाँका अधिकारीहरू नै यो अभियानबारे बेखबर हुनु अर्को आश्चर्य हो । तालुकवाला निकायसँग नै कुनै समन्वय, सहकार्य नगरी एउटा संस्थाले आफूखुशी पोषण कार्यक्रम अघि बढाउनु शंकास्पद भएकाले सरकारले छानबिन गरी कारबाही गरोस् ।

रामचन्द्र अधिकारी, छत्रपुर, चितवन

ब्याङ्किङ कसुरको त्रास

यी ब्याङ्करहरू त्रासको नाटक गरिरहेका छन् । अजय श्रेष्ठको मुद्दामा कसैले सिन्कोसम्म भाँचेको देखिंदैन । एउटा निर्दोष व्यक्ति कागजी जालझेलमा फसेको यत्रो दिन भयो । उनको रिहाइको पहल गर्नुपर्ने ब्याङ्कर्स एशोसिएसनले सशक्त रूपले पहल नगरेको देख्दा भोलि यस्तै किसिमको आरोप अरुहरूलाई लाग्दैन भन्ठाने जस्तो देखिन्छ । नचाहिंदो मुद्दामा यत्रो दिन अनुसन्धानको नाममा थुनिनु कानूनको उपहास मात्र हो ।

निलेन्द्र प्याकुरेल, फेसबूकबाट

comments powered by Disqus

रमझम