२२-२८ मंसीर २०७६ | 8-14 Dec 2019

बिजुली चुल्होलाई स्वागत !

Share:
  

आवरण रिपोर्ट ‘बिजुली चुल्होको युग’ (१५–२१ मंसीर) ले भान्साको आगोलाई अर्थतन्त्र र मानव स्वास्थ्यसँग जोडेर उत्साहित बनायो । हिजो लोडसेडिङको दुर्दशा भोगेका नेपालीले दाउरा र एलपी ग्याँसको विकल्पमा विद्युतीय चुल्हो प्रयोग गर्ने चरणमा पुग्नु ठूलो फड्को हो । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउन आह्वान गरिरहेका वेला किफायती र वातावरण संरक्षणको दृष्टिले अब बिजुली चुल्हो नै हाम्रो बाटो हुनुपर्छ ।

यसको प्रवद्र्धनका लागि सरकारले विद्युत् महसुल घटाउने र अनुदानमा बिजुली चुल्हो उपलब्ध गराउनेतर्फ कदम चालिहाल्नुपर्छ । भान्सामा बिजुली चुल्होको प्रयोग बढे जनस्वास्थ्यमा मात्र फाइदा पुग्ने होइन, देशमा एलपी ग्याँसको आयात घटाएर व्यापार घाटा कम गर्नेसम्मको बृहत् लाभ रहेछ । यसैले राष्ट्रिय अर्थतन्त्र उकास्ने यति सुवर्ण अवसर सक्दो उपयोग गर्न सरकारले कुनै कसर बाँकी छाड्नुहुँदैन ।

हामी बिजुली चुल्होको युगमा प्रवेश गर्दै गर्दा विद्युत् वितरण प्रणाली र सुरक्षातर्फ पनि संवेदनशील हुनुपर्ला । भार थाम्न नसकेर ट्रान्सफर्मर पड्किने र तार जल्ने जस्ता समस्या देखिने गरेका छन् । यी समस्या समाधान गरी सरकारले प्रवद्र्धनका कार्यक्रम ल्याए हरेक घरका भान्सा बिजुली चुल्होलाई स्वागत गर्न आतुर छन् ।

रीमा रेग्मी, मैतीदेवी, काठमाडौं


•••

बिजुली चुल्होले ग्याँसलाई विस्थापित गरोस् र जङ्गल पनि जोगाओस् । नेपालीलाई पुग्ने बिजुली उत्पादन यही चैतबाट हुँदैछ । विद्युत् महसुल अलि सस्तो गरौं सरकार ! fYubaraj Kadel

•••

भान्सामा आधुनिक उपकरण प्रयोग गर्नु स्वास्थ्यको लागि फाइदाजनक छ । अब गाउँघरसम्मका भान्सा स्वच्छ भएर धुवाँका कारण लाग्ने रोग दूर हुने भयो ।

Suraj Bhujel Spandan

सस्तो र भरपर्दो चुलो सरकारले उपलब्ध गराउनुपर्‍यो ।

Prakash Sapkota

•••

तत्कालका लागि सरकारलाई घाटा जस्तो देखिए पनि दैनिक प्रयोग हुने विद्युतीय चुल्हो, वासिङ मेशिन, माइक्रोवेभ ओभन, एसी, रेफ्रिजेरेटर लगायत सामानको आयात भन्सार महसुलमा सहुलियत दिने हो भने दीर्घकालीन रूपमा आर्थिक र पर्यावरणीय दुवै हिसाबले लाभदायक हुनेछ ।

saroj kunwar @sarojkunwar64

•••

विद्युत् महसुल घटाए मात्र बिजुलीमा खाना पाक्छ । होइन भने तीन महीना खाना पकाएर बिल तिर्न नसकी फेरि अँध्यारोमा बस्नुपर्ने हुनसक्छ ।

- Pushkar Bam 4

•••

महँगो बिजुली भएका देशमध्ये नेपाल पनि एक हो । पहिले बिजुली उत्पादन नै कम थियो । अब पर्याप्त उत्पादन हुँदै गर्दा घरायसी प्रयोजनको विद्युत् महसुल घटाउने वेला भएन र ?

Mahesh Sharma @Thikthak


चिन्ताजनक बालस्वास्थ्य

बालस्वास्थ्य सम्बन्धी रिपोर्ट ‘सुस्त स्नायु विकास’ (१५–२१ मंसीर) ले नेपाली बालबालिकाको स्नायु विकासको द्रुत मूल्याङ्कन गरेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थाहा पाउँदा खुशी लाग्यो । अध्ययन प्रतिवेदनले ललितपुरका बाल हेरचाह केन्द्रहरूका बालबालिकाको बौद्धिक विकास निकै चिन्ताजनक रहेको तथ्य उजागर गरेको छ । अध्ययनका लागि ललितपुरका बालबालिका छनोट गरिए पनि यसले समग्र देशको प्रतिनिधित्व गरे झैं लाग्यो । किनकि, खानपान र प्रविधिको एकैखाले जञ्जालले शहरदेखि गाउँसम्मका बालबालिकालाई गाँजिरहेको छ ।

नेपाली बालबालिकाको विकास प्रक्रिया जोखिममा देखिनु स्वास्थ्य क्षेत्रका नीतिनिर्मातादेखि अभिभावकसम्मलाई चुनौती हो । बच्चाको विकास प्रक्रिया तिनलाई हुर्काउने संस्कार र खानपान शैलीसँग जोडिने भएकाले अभिभावक नै संवेदनशील हुनुपर्छ । तर विडम्बना के छ भने, यसबारे चेतनाको कमी छ । चेतनशील अभिभावकलाई पनि आजको व्यस्त जीवनशैलीमा पोषण र बौद्धिक क्षमताका तगारोबारे सोच्ने फुर्सद नै छैन । बच्चालाई खुशी पार्ने नाममा प्याकेटका खानेकुरा र आधुनिक ग्याजेटहरू दिंदा स्नायु विकासमा अवरोध भइरहेको छ । यति महङ्खवपूर्ण विषयमा जनचेतनाका नियमित कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।

हिमाल पुलामी, इटहरी, सुनसरी


वित्तीय स्रोतमा गरीबको पहुँच खोइ ?

‘ब्याङ्कमा धनीकै रजाइँ’ (१५–२१ मंसीर) रिपोर्टले ब्याङ्कको वित्तीय स्रोत–साधनमा सीमित समूहको हालीमुहाली भइरहँदा विपन्न नागरिक साहुकारसँग महँगो ब्याजदरमा ऋण काढ्न बाध्य भएको तथ्य सार्वजनिक गरेको छ । पर्याप्त स्थिर सम्पत्ति भएकाहरूले नै ब्याङ्क तथा वित्तीय संस्थाको स्रोत–साधन उपयोग गरिरहेको देखियो । धनीलाई पोस्ने नभई सिङ्गो समाजलाई आर्थिक रूपमा चलायमान पार्ने दायित्व ब्याड्ढ तथा वित्तीय संस्थाका सञ्चालकहरूमाथि हुन्छ ।

वित्तीय स्रोतसम्म गरीबको पहुँच बढाउन सके मात्रै गरीबी घटाउन सकिन्छ भन्ने विश्वव्यापी मान्यतालाई चुनौती दिइरहेका हाम्रा ब्याङ्क तथा वित्तीय संस्था कहिले सुध्रेलान् ? ब्याङ्कहरू मार्फत सामान्य नागरिकलाई आवश्यक पर्दा सुलभ दरमा कर्जा उपलब्ध गराउने प्रबन्ध गराउन सरकारले विशेष पहल गर्नुपर्ने देखियो ।

भोलामान तामाङ, काभ्रे

comments powered by Disqus

रमझम