४–१० फागुन २०७६ | 16-22 Feb 2020

आवश्यक एमसीसी

Share:
  

एमसीसीबारेको आवरण बहस (२६ माघ–३ फागुन) अमेरिकी सहयोग परियोजनामा देखिएका विवाद र भ्रम चिर्ने गरी आउँदा छर्लङ्ग हुन पाइयो । नेपालकै औपचारिक प्रस्ताव र पहलमा परियोजना पाएर साढे दुई वर्षअघि नै सम्झौता भइसकेको सहयोग लिन आनाकानी गर्नु एकदमै आलोकाँचो व्यवहार हो । एमसीसी सहयोग स्वीकारे अमेरिकाको सैन्य गठबन्धनमा सामेल हुनुपर्ने जस्ता सम्झौतामै उल्लेख नभएका भ्रामक विषय अनावश्यक रूपमा उछाल्दा नकारात्मक सन्देश गइरहेको छ । विकास आयोजनाको लागि धेरैभन्दा धेरै लगानी र सहयोगको खाँचो रहेको देशलाई यस्तो भ्रमको खेतीले अघि बढाउँदैन । आन्तरिक राजनीतिक वादविवादले वैदेशिक सहयोग र कूटनीतिमा दीर्घकालीन असर पार्न सक्ने भएकाले नेताहरूले परिपक्वता देखाऊन् ।

सुवर्ण थापा, कपन, काठमाडौं

•••

एमसीसीबारे विवाद र बहस भइरहँदा दुई महत्वपूर्ण कुरा ओझेलमा परिरहेका छन् । एउटा, एमसीसीका शर्तहरूले नेपालको संसद् निर्मित कानून विस्थापित गर्ने हुनाले नेपालको सार्वभौमसत्तामा आँच आउँछ । दोस्रो, एमसीसीको परियोजनाभित्र परेको प्रसारण लाइन निर्माण बिजुली भारत निकासी गर्न हो, आन्तरिक खपतको लागि होइन । यसबाट अर्थतन्त्रमा ८५ अमेरिकी सेन्ट बराबर मूल्य अभिवृद्धिबाट नेपाल वञ्चित हुन जान्छ ।

RatnaSansar Shrestha @rsansar

चल्ला मार्ने कुकाम

चल्ला नबिकेर मार्न बाध्य भएको उत्पादकको भनाइ ढाँट कुरा हो । बिकेनन् भनेर मार्ने होइन, मूल्य सस्तो बनाए अवश्य बिक्छन् । व्यापारको चक्रमा नाफा–घाटा स्वाभाविक हो । खुला बजार प्रणालीमा बजारभाउलाई प्रभावित गर्ने मनसायले हुने उत्पादकको मिलेमतोलाई अपराध मानिन्छ । यो आधारभूत मान्यताबारे हाम्रो राज्य बेखबर भएको हो कि ?

Surya Raj Acharya @SuryaRAcharya

•••

पैसा कमाउने दाउमा चल्ला मार्नु व्यापारिक बेइमानी नै हो । चल्ला उत्पादन र बिक्रीमा सिण्डिकेटलाई बढावा दिने यस्तो घिनलाग्दो खेल नहोस् ।

Surendra Shrestha

•••

चल्ला मारेर कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने व्यवसायीहरू सजायका भागिदार हुन् । यो प्रकरणमा कानूनी उपचार हुँदैन ?

Manoz Pun

•••

चल्ला उत्पादकले यस्तै रबैया गरिरहे भारतीय उत्पादनलाई ढोका खोल भनेर सरकारलाई आम उपभोक्ताले भन्नुपर्ने अवस्था आउँछ । उपभोक्ता र सानो लगानी गरी कुखुरा पालन गरेर जीविका चलाउन खोज्ने कैयौं मानिस अप्ठेरोमा परेका छन् । दुई÷चार लाख ऋण गरेर कुखुरा पाल्ने व्यवसायी र आम उपभोक्ताको पक्षमा बोलिदिने कसले ?

Atman @atmiya_nepali

अँधेरी रातप्रति संवेदनशीलता

अँधेरी रातको महत्व र रात्रि आकाशको सौन्दर्य बुझाउने दुई लेख (२६ माघ–३ फागुन) पढ्दा फरक पाटो बुझ्न पाइयो । मानव गतिविधिले प्रकृतिका विविध छटा निमोठिंदै र उजाडिंदै गएको छ । कतिसम्म भने, रातको अँध्यारोलाई समेत हामीले जोगाउन नसक्दा जीवजन्तुको प्राकृतिक क्रियाकलाप बिथोलिंदै गएको रहेछ । प्रकाशको प्रदूषण टाढाटाढासम्म फैलाउने कृत्रिम उज्यालो सकेसम्म कम र व्यवस्थित प्रयोग गर्नु नै रातको अँध्यारो र आकाश सुरक्षित राख्ने उपाय हो । कृत्रिम प्रकाशसँगै धेरै थरी प्रदूषणले कञ्चन आकाश छोपिंदा रात्रि सौन्दर्यका पारखी पर्यटकलाई मुग्ध पार्ने संभावना खेर गइरहेको छ । पर्यावरणको बहसमा अँध्यारो रात र रात्रि आकाशको प्राकृतिक स्वरूप बचाउने विषय सार्थक परिणाम हासिल हुने गरी गम्भीर ढंगले उठोस् ।

पेमा शेर्पा, पथरी, मोरङ

•••

हामी सानो छँदा देख्ने गरेको जूनकिरी, लाटोकोसेरो नदेखेको जुगौं भयो । अँधेरी रात जोगाउनेबारे अब सोच्नैपर्ने वेला आइसकेको रहेछ ।

Shyam k. Pandey

कलाकारको विरोध किन ?

भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि बनाइएको यतीको मूर्ति सम्बन्धी रिपोर्ट ‘स्वरूपमै विवाद’ (२६ माघ–३ फागुन) पढ्दा कलाकार वित्थामा चेपुवामा परेको जस्तो लाग्यो । किंवदन्तीमा सीमित यतीको मूर्ति बनाउनु नै दुस्साहस हो, बनाइएको मूर्तिको आकृति र अनुहार मिलेन भनेर टिप्पणी गर्नु अर्को डेढ अक्कली काम हो । कला सिर्जनामा कल्पनाशीलता र स्वतन्त्रता महत्वपूर्ण हुने भएकाले कलाकारको विरोध गर्नु बेकार हो ।

रमिन्द्र कायस्थ,धोबीघाट, ललितपुर

•••

यती मिथक हो । नेपाल वायुसेवा निगमको न्यूरोडस्थित केन्द्रीय कार्यालय प्राङ्गणमा राखिएको मूर्ति पनि कलाकारले बनाएको काल्पनिक हो । सम्भवतः कलाकारले यतीबारे स्थानीयहरूले बयान गरेको आख्यानको आधारमा रुप दिएका हुन् । काल्पनिक कुरालाई मूर्त रूप दिन खोज्नु नै मूर्खता हो । यसबारे विदेशीहरूले ज्ञान राख्ने भएकाले पर्यटन प्रवद्र्धनको नाममा हाँसोको पात्र नबनौं ।

Hari krishna shakya @Harikrishnashky

comments powered by Disqus

रमझम