३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

सामाजिक कलंक

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल (२३―२९) मा प्रकाशित 'बालगृह कि व्यापार' मनछुने खालको छ। सेवाको लागि गरिने यस्तो धन्दाले बालबालिकाको भविष्यसँगै अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको छवि समेत बिगारेको छ। बालबालिकाको नाममा यस्तो कालो धन्दा गर्नेलाई कानूनी कारबाहीमा ल्याउन ढिला गर्नुहुँदैन। नेपालमा रहेको गरीबी र अशिक्षाको मारमा पनि बालबालिका नै परेका छन्। हिजोसम्म बालबालिकाले खान पाएनन् वा पढ्न लेख्न पाएनन् भन्ने विषय आज बदलिएर बालबालिका झ्नै ठूलो समस्यामा पर्न थालेका छन्। माओवादीको १० वर्षे द्वन्द्वको चपेटामा परेका धेरै बालबालिकाको घाउ पुरिन नपाउँदै फेरि अर्को कहालीलाग्दो अवस्था हाम्रा अगाडि आउनु राम्रो संकेत पक्कै होइन। बालव्यापार होस् वा अन्य सामाजिक समस्याको मूल कारण राजनीति नै हो।

जीवनाथ प्याकुरेल, इमेलबाट

यस्तो काम सभ्य समाजको लागि कलंक नै हो। पैसा कमाउने लोभमा निर्दोष बालबालिकालाई बर्बर यातना दिनु कहाँसम्मको अमानवीय क्रियाकलाप होला। त्यसैले यस्ता कुरामा अब अभिभावक पनि सचेत हुनुपर्दछ। केही व्यक्तिका यस्ता कुकर्मका कारण उदार मनले बाल संस्था चलाउनेप्रतिको सामाजिक हेराइमा समेत परिवर्तन आउन सक्छ। त्यसैले सरोकारवाला निकायले सही र गलत छुट्याउन आवश्यक छ।

दीपक सञ्जेल, इमेलबाट

व्यवहार सुधारौं

हिमाल (२३―२९) मा प्रकाशित आगलागीको घटना नियन्त्रणको भन्दा पछुताउको विषय बनिआएको सन्दर्भमा 'पछुताउ मात्र' समाचार सान्दर्भिक लाग्यो। भूकम्प, आगलागी लगायतका विपत्का वेला काठमाडौं उच्च जोखिममा रहेको तथ्य विभिन्न अध्ययनले देखाएका छन्। उच्च जोखिममा रहेका बस्तीलाई विपत्को समयमा उद्धार गर्न नसक्नु हाम्रा लागि दुःखदायी पक्ष हो। अव्यवस्थित रूपमा निर्माण गरिएका संरचना र विपत् व्यवस्थापन सम्बन्धी आवश्यक संयन्त्र नहुँदा हामीले ठूलै मूल्य चुकाउनुपर्ने हुन सक्छ। प्राकृतिक विपत्लाई व्यवस्थापन गर्न नसके पनि मानवीय क्रियाकलापमा सुधार ल्याउन सके केही मात्रामा भए पनि विपत् टार्न पक्कै सकिन्छ।

विद्या आलेमगर, इमेलबाट

अवसर नगुमाऊ

हिमाल (२३―२९) मा दलहरूले इच्छाशक्ति देखाएमा एक वर्षभित्रै संविधान निर्माण गर्न सकिन्छ भन्ने 'अवसर धेरै' समाचार पढेपछि अबको दबाब राजनीतिक दलहरूलाई नै दिनुपर्ने देखिन्छ। हुन त दोस्रो संविधानसभा चुनावपछिको अवस्था हेर्दा दलहरूले आफूले पाएको अवसरको सदुपयोग गर्न नसकेको प्रष्ट हुन्छ। व्यक्तिगत र दलगत स्वार्थका कारण सही समयमा सही निर्णय हुन नसकेको वास्तविकता हाम्रा सामु छ। त्यसैले जिम्मेवार दलका जिम्मेवार नेताहरूले आफूले पाएको अवसरको सदुपयोग गरी नेपाल र नेपालीको भविष्य निर्माणमा जुट्न ढिलाइ गर्नुहुँदैन।

गोपाल पौडेल, इमेलबाट

कम्युनिष्टकै बदनाम

हिमाल (२३―२९ चैत) मा प्रकाशित 'मार्क्सवाद र नेपालका कम्युनिष्ट' समाचार सामग्री सान्दर्भिक लाग्यो। सर्वहारा वर्गको पार्टी भन्दै कम्युनिष्टका नाममा गरिने राजनीति स्वार्थकेन्द्रित भएको नेपालको सन्दर्भबाट प्रष्ट हुन्छ। सत्ता हात पार्नका लागि अनेक हत्कण्डा प्रयोग गर्नु नेपालका कम्युनिष्ट नेताका लागि सामान्य जस्तै भएको छ। राजनीतिक दलका यी र यस्ता क्रियाकलापका कारण समग्र कम्युनिष्ट पार्टीकै बद्नाम भएको छ। यो कुरा बुझेर अब पनि दलले आफ्ना व्यवहारमा सुधार ल्याउन नसके उनीहरूको राजनीतिक भविष्य ओरालो लाग्ने निश्चित छ।

सत्यजित बराल, इमेलबाट

comments powered by Disqus

रमझम