जवाफ-पाऊँ

Share:
  

 

जातीय संवेदनशीलतासँग जोडिएका लेख गहन र निरपेक्ष अध्ययन–अनुसन्धानपछि मात्र आउनुपर्नेमा डा. ढुंगेललाई सचेत पार्न चाहन्छु। 
 
हिमाल खबरपत्रिका (१६–३० असोज)मा छापिएको डा. रमेश ढुंगेलको विगत बुझने प्रयास शीर्षकको लेख राम्रो लाग्यो। मैले यसबाट किराँती एउटा सभ्यता हो अनि त्यसमा विभिन्न क्षेत्रबाट किराँत सहित देशमा रहेर उनीहरूको जात, थर जे भए पनि आफ्नो चलनचल्तीलाई सुचारु गर्ने अधिकार किराँतीहरूले दिए। अनि शायद नेपाली भने जस्तै आफूलाई किराँती भने र किराँतहरूले समानता र विविधताको नीति अपनाएका थिए। जुन चाहिं यो अहिले नेपालमा स्थापित गर्न खोजिएको छ।  
 
अर्को कुरा यस लेखमा लेखकले के खण्डन/समावेश गर्नु भएन भने सिंहदरबार जल्दा जनजाति विशेष गरी किराँतहरूको ऐतिहासिक कुरा जलेर सबै कुरा जुन यहाँ उठ्यो त्यसलाई पुष्टि गर्न अलिक गाह्रो परेको कुरा चाहिं किन खुलेन। लेखकले हिमाल बाटै जवाफ दिनुहुन्छ भन्ने प्रतीक्षामा छु।  
नरेशकुमार राई 
हिमालखबरबाट 
 
ढुंगेलको अधुरो लेख 
डा. रमेश ढुङ्गेलको 'विगत बुझने प्रयास' (हिमाल, १६–३० असोज २०६९) लेखमा लोहोरुङ किराँतीको प्रसंग अपुरो छ। आफूलाई ल्हासा गोत्रको 'एपोङ लोकलुङहाङ' (दश लोहोरुङ) भन्ने गरेका लोहोरुङ किराँतीलाई खम्बुहाङ र याक्थुङ्हाङकै एक हाँगोको रूपमा पनि लिइन्छ। उनीहरू भोटबाट किमाथाङ्का हुँदै नेपाल प्रवेश गरेको कुरा खोजको विषय हो। पृथ्वीनारायण शाहसँगको नुनपानी लालमोहर सम्झौतामा लोहोरुङ किराँती बसेको भूगोललाई 'दश लोहोरुङ, दश मझिया' भनी उल्लेख गरेको पाइन्छ।  
 
नेपाल एकीकरणअघि अरुण उपत्यका (मायोवा होङमा) र त्यसको माथिल्लो भेगमा रेवाहाङ देखिम लोहोरुङ राज्य गर्दथे। संखुवासभा जिल्ला प्रहरी कार्यालय भवन बनाउँदा उनको दरबारको भग्नावशेष फेला परेको थियो, जहाँ लोहोरुङहरू पूजा गर्दछन्। एपोङ लोहोरुङ र भोटका भोटेहरूबीच निकट सम्बन्धका साथै राम्रो व्यापार थियो। पुर्खाहरूद्वारा हस्तान्तरित त्यस समयको मुद्रा पंक्तिकारसँग सुरक्षित छ। गोभक्षी हुनु लोहोरुङ र भोटे (सम्पा) को पुरानो समानता हो।  
 
अन्त्यमा, जातीय संवेदनशीलतासँग जोडिएका यस्ता लेखहरू गहन र निरपेक्ष अध्ययन–अनुसन्धानपछि मात्र आउनुपर्नेमा डा. ढुङ्गेललाई सचेत पार्न चाहन्छु। नत्र, छारो उडाएर जातीय मनोमालिन्य बढाउने काम मात्र हुनेछ। 
सेरेम्हाङ लामसोङ लोहोरुङ 
अध्यक्ष, रेवाहाङ देखिम दरबार पुनःनिर्माण समिति,
संखुवासभा 
 
आप्रवासी नागरिक आयोग बनाऊ 
नेपालको राणाशासन अवधिमा र २००७, २०१७, २०४६–४७ र २०६२–६३ पछि कुन कुन जातजातिका आप्रवासीहरू कति संख्यामा नेपाली नागरिक बने भन्ने थाहा पाउन नेपाल आप्रवासी नागरिक आयोग गठन गरी उनीहरू सबैको राष्ट्रियस्तरमा अभिलेख राख्नु आवश्यक विषय बनिसकेको छ। देशको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतालाई अक्षुण्ण राख्न आयोगबाट आप्रवासी नेपालीहरूलाई नेपाल पसेको तीन पुस्ताको प्रमाण जुटाएपछि मात्र यहाँको राजनीतिमा प्रवेश गर्न तथा नेपाल सरकारको उच्च पदहरूमा बसी सेवा गर्न अनुमति दिनुपर्छ।  
 
देशको राष्ट्रियता र मर्यादा विना व्यक्त गरिने 'काठमाडौंको घाँटी बन्द गरिदिनेछौं', 'तराईलाई टुक्र्याइदिनेछौं', 'मधेश एक प्रदेश हुनेछ', 'नेपालको नाम सगरमाथा राखे हुन्छ', 'राष्ट्रपतिलाई राजनीतिशास्त्रबारे के थाहा?' आदि कर्कस आवाजहरू अब नेपालीले धेरै सुन्न सक्ने छैनन्।  
डिके उपाध्याय 
प्युखा,काठमाडौं 
 
म अनुवादक होइन  
हिमाल खबरपत्रिका (१६–३० असोज) मा प्रकाशित अड्कायो अनुवादले शीर्षकको समाचारमा मेरो नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा भने जसरी सक्कल नै नमागेर नागरिकताको अनुवाद गर्‍यो भन्ने कुरा सत्य होइन। म अनुवादक पनि होइन र जारी गरिएको बिल पनि मेरो कार्यालयको होइन। नोटरी पब्लिकको कार्यालयमा आएका सेवाग्राहीलाई अनुवाद सम्बन्धी कार्यविधि सिकाउँदैमा मेरो नाम समाचारमा जोडिनु नै संवाददाता गलत सूचनाबाट अभिप्रेरित हुनु हो।  
भीमराज भट्ट 
नोटरी पब्लिक, बबरमहल 
 
बधाई प्रबल  
हिमाल खबरपत्रिका (१६–३० असोज)को अन्तिम पानामा छापिएको यो नेपाली ठिटो! का लागि लेखकलाई धन्यवाद। लेख साह्रै मन पर्‍यो। सधैं राजनीतिक समाचार भन्दा यस्ता कुरा पढ्दा रमाइलो लाग्यो। बधाई छ, प्रबल गुरुङ।  
खेमराज चिन्तन 
हिमालखबरबाट 
 
काङ्शो राय लिम्बू सेनापति हुन् 
अर्जुनबाबु माबुहाङ, धरान  
 
डा. रमेशकुमार ढुङ्गेलको लेख 'लिम्बू कि याक्थुङ्?' (हिमाल, १–१५ असोज २०६९) ले लिम्बू नायक काङ्शो रायका विषयमा भ्रम फैलाउने प्रयत्न गरेको पाइयो। डा. ढुङ्गेलले काङ्शो राय सिक्किमका सेनापति भएको र लिम्बूहरूले वि.सं १८४४–४५ को सिद्धिपुर युद्ध सिक्किमको तर्फबाट लडेको भ्रममा पार्न खोज्नुभएको छ। हज्सन पाण्डुलिपि (वि.सं १९०३) को खण्ड ८५ को पृष्ठ १३०–१४९ मा अरुण र सभाखोलाको दोभानमा गोर्खाली र याक्थुङ्बा (लिम्बू) बीच पहिलो लडार्इं भएको उल्लेख छ, जसमा लिम्बूहरूले गोर्खालीलाई धपाउँछन्। पाण्डुलिपिमा साल, संवत् लेखिएको छैन। त्यसपश्चात् सभाखोलाको किनारमा भएको युद्धमा गोर्खाली सरदार रघु राना र काङ्शो रायको मृत्यु हुन्छ। काङ्शो रायको मृत्युपछि फागु लिम्बूहरूले पुरानो मगरसँगको भैयाद (दाजुभाइ) सम्बन्ध तोड्छन्।  
 
त्यति नै बेला याङवारक (पाँचथर) का यङयाङ लिम्बू र सिक्किमका भोटे मिलेर गोर्खालीमाथि आक्रमण गर्न लागेको रामभद्र थापा मगरले थाहा पाएपछि मगर र फागु लिम्बूको पुरानो सम्बन्ध केलाएर चैनपुरका फागु लिम्बूसँग मीत लगाउँछन्। सिन्जाली थापा मगर र फागु (फागो) लिम्बूबीचको भैयाद जुठो बार्नेसम्मको बनेको चर्चा हज्सन पाण्डुलिपिमा छ। त्यसपछि गोर्खालीले लिम्बूहरूलाई फकाएर लम्जुङ र तनहुँसम्म लडार्इंमा लगेर जागिर दिएको पाइन्छ। फागो वनेम वंशावली टिपोटमा वनेम फागो लिम्बूहरूको सम्बन्ध सिन्जाली थापाहरूसँग रहेको भेटिएकाले ऐतिहासिक योद्धा काङ्शो राय फागो वनेम थरका लिम्बू भएको पुष्टि हुन्छ।  
 
योगी नरहरिनाथको लेखोट (वि.सं.२०२२) मा पनि गोर्खालीले वि.सं १८३१ मा पूर्वमा सभाखोला साँध लगाएको उल्लेख भएकाले पनि काङ्शो रायले सिद्धिपुरको लडार्इं नलडेको पुष्टि हुन्छ। हज्सन पाण्डुलिपिमा सिद्धिपुरको लडार्इंमा गोर्खाली–फागु लिम्बू विरुद्ध यङया लिम्बू–सिक्किमका भोटेहरू लडेको उल्लेख छ। नरहरिनाथले सिद्धिपुरको लडार्इं वि.सं १८४८ मा भएको चर्चा गरेका छन्।

 

comments powered by Disqus

रमझम