११-१७ साउन २०७१ | 27 July - 2 August 2014

सावधानी अपनाऔं

Share:
  

सावधानी अपनाऔं

'कामकाजी रोगको प्रकोप' (४–१० साउन) मा प्रकाशित स्वास्थ्यमा ध्यान नदिंदा मुटु, फोक्सोको संक्रमण तथा ढाडदुखाइ, डिप्रेसन जस्ता पेशाजन्य रोगले महामारीको रूप लिंदै गरेको समाचार मननीय छ। बदलिंदो जीवनशैली र काम गर्ने तौरतरीकाका कारण धेरै कामकाजी समस्यामा परेको कुरा कसैबाट लुकेको छैन। काम गरिरहँदा कसरी सावधानी अपनाउनुपर्दछ भन्ने सानो कुरा थाहा नहुँदा भोग्नुपर्ने ठूलो समस्याले अङ्गभङ्ग बनाउने मात्र होइन, मृत्युको मुखमा समेत पुर्‍याउन सक्छ। अधिकांशले भोगेको तर धेरैको ध्यान नपुगेको यो आम मानिसको समस्या हो। हाम्रो खानपान, बसाइ, काम गर्ने तौरतरीकाको कारण हुने यस्ता समस्याको समाधानमा ढिलाइ गर्नुहुँदैन। अन्यथा पछुताउनुको विकल्प हुने छैन।

शिवप्रसाद पण्डित, ललितपुर

सानातिना कुरामा ध्यान दिने हो भने पनि कामकाजीले दैनिकजसो भोग्दै आएका समस्याको सजिलै समाधान खोज्न सकिन्छ। तर यसका लागि बेलैमा ध्यान दिनुपर्छ। लामो समय उभिनु पर्दा, कम्प्युटरमा बस्नु पर्दा वा सौन्दर्य सामग्री प्रयोग गर्दा पनि समस्या हुन्छ भन्ने कुरा जानकारी नभएकालाई हिमाल मा प्रकाशित समाचारले सोच्न बाध्य बनाएको छ। यसका साथै अव्यवस्थित जीवनशैलीका कारण हुने यस्ता समस्या समाधानको लागि व्यवस्थित हुनु उत्तिकै आवश्यक छ।

सनम पौडेल, इमेलबाट

युवामैत्री नीति

'टालटुलमै सीमित' (४–१० साउन) मा प्रकाशित पहुँचवालालाई गच्छे अनुसार रिझाउन खोजेको बजेटमा आर्थिक सुधारका विषय मात्र होइन, आम जनतालाई तत्काल राहत दिने कार्यक्रम समेत नभएको समाचार पढ्दा दिक्क लाग्यो। हरेक वर्ष प्रस्तुत हुने बजेट भाषणले गरीब तथा बेरोजगारका लागि केही नयाँ कार्यक्रम ल्याउला भन्ने कुरा सपना जस्तै हुने भएको छ। नयाँ कार्यक्रम, युवा र गरीब लक्षित भनिए पनि त्यो भाषणमै सीमित भएको छ। देशमा काम गर्ने वातावरण नहुँदा दैनिक अठार सयको हाराहारीमा युवा विदेशिएको अवस्थामा युवामैत्री कार्यक्रम ल्याउन सरकारले चासो देखाएको छैन। यसका साथै रेमिट्यान्सका कारण देशको अर्थतन्त्र चलायमान भएको वास्तविकता बिर्सेर सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटले विदेशमा बस्नेको समस्या बुझने प्रयास गरेको पनि देखिएन।

जीवन मल्ल, इमेलबाट

किसान गुरु

'कृषिलाई मनतातो मात्र' (४–१० साउन) मा प्रकाशित युवापुस्तालाई कृषिमा आकर्षित गर्ने तरीका सम्बन्धी समाचार साँच्चै मननयोग्य छ। कृषिप्रधान देशलाई व्यवस्थित बनाउन किसानका लागि राहतको कार्यक्रम ल्याउनुपर्दछ भन्ने कुरा हँसिमजाकको विषय भएको छ। समाचारमा भनिए जस्तै युवा पुस्तालाई व्याजमा अनुदान दिएर मात्र पुग्दैन त्यसलाई सहज बनाउनुको साथै गाउँमा किसान गुरु बनाउने काम गर्न ढिलो गर्नुहुँदैन। आफ्नै बलबुताले खेती गरिरहेका किसानलाई उचित बजार र प्रोत्साहन गर्न नसक्ने सरकारले अरू के नै गर्ला र! यस्तै भाषण मात्रै गर्ने हो भने देशलाई कृषिप्रधान भन्दै बाहिरबाट खाद्यान्न आयात गर्नुको विकल्प रहने छैन।

मुरारी खनाल, इमेलबाट

बिचौलियाको विगविगी

'हचुवाको परिणाम' (४–१० साउन) मा प्रकाशित किसानले लागत मूल्यभन्दा कम भाउ पाएको भन्दै कालीमाटीमा करीब आठ टन गोलभेंडा फालेको समाचार सामग्री मन छुने खालको छ। आफ्नो लगानी समेत नउठ्ने भएपछि सडकमा गोलभेंडा फालेर किसानले सरकारको ध्यानाकर्षण गराउन खोजे पनि त्यसले सरोकारवाला निकायलाई छुनसकेको छैन। किसानबाट प्रतिकिलो रु.१२ मा तरकारी लिएर उपभोक्तालाई प्रतिकिलो रु.६० मा बेच्दा पनि व्यापारीलाई कुनै कारबाही हुन सक्दैन। बेचौलियाको विगविगी रहेको हाम्रो देशमा जसको शक्ति उसको भक्ति जस्तै छ। किसान र उपभोक्तलाई मारमा पारेर मोटाउने बिचौलियामाथि कारबाही गर्न ढिलाइ गर्नुहँुदैन।

अरूण पराजुली, इमेलबाट

नेपाली मोह

'नेपाली पहिचानमा आना' (४–१० साउन) मा प्रकाशित एक जना अमेरिकी नागरिकले नेपाली लोकदोहोरीलाई अन्तर्राष्ट्रिय बनाउँदै लगेको समाचार पठनीय लाग्यो। आफ्नो कला र संस्कृति बिर्सिंदै जान लागेका नेपाली युवा–युवतीले आनाबाट केही पाठ सिक्नै पर्दछ। विश्वमै फरक पहिचान बोकेको नेपाली लोकदोहोरीमा नेपालीको रुचि घट्दै गएको सन्दर्भमा समुन्द्रपारिको व्यक्ति आएर नेपाली संस्कृतिबारे अनुसन्धान गरिरहँदा नेपाली भने पश्चिमी संस्कृतिमा हराउन लागेका छन्। त्यसैले देशको सांस्कृतिक तथा मौलिक विशेषता बोकेको लोकदोहोरीलाई बचाउन हामी आफैंले पनि केही गर्ने कि?

विमला राई, इमेलबाट

comments powered by Disqus

रमझम