सपनाको गाँस पढेपछि

Share:
  

 

धर्मपरायण भन्न रुचाउने हामी नेपालीले आफूलाई जन्माउने, हुर्काउने कर्म दिने आमाबाबुप्रतिको कर्तव्य बिर्सेको यसबाट प्रष्ट हुन्छ।  
 
सपनाको गाँस पढेपछि  
हिमाल (१–३० कात्तिक) मा प्रकाशित कथा 'सपनाको गाँस'की कमरेड कोपिला एक प्रतिनिधि पात्र हुन्। लेखक स्वयंले सरल ढंगले ती पात्रमाथि न्याय गरेका मात्र छैनन्, युद्धले छाडेका कहालीलाग्दा घाउ कोट्याएका छन्। समयमै त्यस्ता घाउ कोट्याउने काम लेखकहरूको हो। नत्र ती घाउहरू भूत बनेर सिंहदरबारको पर्खालमा नाचिरहने छन्। भूतप्रेतमा विश्वास नगर्ने मार्क्सवादीहरू एकदिन अपराधको प्रायश्चित गर्न कालीको मन्दिरमा शरण परेको समाचार आम नेपालीले सुनेमा अचम्म नमाने हुन्छ।  
 
सरोज ढुंगाना  
हिमालखबरबाट  
 
यथार्थपरक लेख 
हिमाल (१–३० कात्तिक) मा प्रकाशित 'कम्युनिष्ट स्कूलिङ फर्केर हेर्दा' पढें। लेखकको अनुभव नेपाली समाजको वास्तविकता हो। कम्युनिष्ट पार्टीमा त्यस्ता धेरै कार्यकर्ता छन् जो लेखक जस्तै प्रताडित छन्।  
 
जीबी राना  
हिमालखबरबाट  
 
हिमाल (१–३० कात्तिक) मा प्रकाशित 'शकुनि राजनीतिका बिम्ब' पढें। १० वर्षसम्म जनतालाई गुमराहमा राखेर देश लुट्ने काम गरेको छ माओवादीले। कोरामा बसेको मानिसको हत्या गर्ने, मन्दिरमा मान्छेको बलि चढाउने जस्ता कुकृत्य मान्छेले बिर्से पनि भगवानले बिर्सने छैनन्।    
सविन लामा  
हिमालखबरबाट  
 
सबैले पढ्नैपर्ने 
हिमाल (१–३० कात्तिक) मा प्रकाशित डा. तीर्थबहादुर श्रेष्ठको 'फरिश्ता बनेर घर फर्कने हैन?' लेख पढेर नेपाली भएकोमा आफूलाई भाग्यमानी ठानेको छु। नेपालबारे जानकार डा. श्रेष्ठको लेख देश–विदेशमा रहेका नेपालीले पढी मनन् गर्न सकेमा यो जतिको ओखतीमूलो नेपाल र नेपालीको लागि अरू केही हुनै सक्दैन। 
 
राजरमण सिंह 
धुम्बाराही–४    
 
हामी हिंडेको बाटो 
हिमाल (१–१५ असोज) मा प्रकाशित बेसहारा बुढ्यौली शीर्षकको समाचार निकै यथार्थपरक छ। यसले नेपाली समाजको विकृति दर्साउने मात्रै नभएर हामी कुन बाटोमा हिंडिरहेका छौं भन्ने कुरा देखाउँछ।  
 
धर्मपरायण भन्न रुचाउने हामी नेपालीले आफूलाई जन्माउने, हुर्काउने कर्म दिने आमाबाबुप्रतिको कर्तव्य बिर्सेको यसबाट प्रष्ट हुन्छ। हुन त वृद्धाश्रममा बस्ने सबैजना सम्पत्तिविहीन हुँदैनन्। अधिकांश त्यस्ता वृद्धवृद्धाको सम्पत्ति आफ्नै सन्तान र नातेदारले अनेक प्रलोभनमा लिएका हुन्छन्। वृद्धवृद्धाको सम्पत्ति आफू जीवित रहुञ्जेल कुनै पनि निहुँमा नामसारी गर्न नपाइने कानून बनाएर सरकारले कडाइका साथ लागू गरेमा बुढेसकालमा यस्तो पीडा भोग्नुपर्ने थिएन।   
 
हीरालाल राजवंश  
कोटेश्वर, काठमाडौं  
 
माओवादीकरण रोक 
कथित जनयुद्धकालमा मात्र होइन, बृहत् शान्ति–सम्झौता, संविधानसभा चुनाव र त्यसपछिका दिनमा पनि एमाओवादी मुलुकमा हत्या, हिंसा, भ्रष्टाचार, दण्डहीनता र अराजकतालाई संस्थागत गर्नमा क्रियाशील छ।
 
माओवादी नेतृत्वको सरकारले राज्यको ढुकुटी रित्याएको मात्र छैन, राज्यसंयन्त्र अस्तव्यस्त बनाएको छ। त्यसैले कांग्रेस/एमाले जस्ता जिम्मेवार दलका नेताहरू स्पष्ट रणनीतिका साथ अघि बढ्नुपर्छ। होइन भने अब हुने चुनावमा पनि माओवादीले संविधानसभा चुनावमा जस्तै विपक्षीलाई कुटी–कुटी परिणाम आफ्नो पक्षमा ल्याउने निश्चित छ।  
 
इन्द्रकुमार श्रेष्ठ 
कमलाकुञ्ज, ओखलढुंगा  
 
मेरो संलग्नता छैन  
हिमाल (१–१५ मंसीर २०६८) मा मेरो अनुभव र अनुभूति नामक पुस्तकबारे प्रकाशित इतिहास बोकेको जीवन यात्रा शीर्षकको सामग्रीमा कतिपय नभएका प्रसंग उल्लेख गरिएकोले प्रष्ट पार्न चाहन्छु।  
 
टिप्पणीको पहिलो दफामा प्रधानन्यायाधीश हुँदा शहीद यज्ञबहादुर थापाको मुद्दामा मृत्युदण्डको फैसला सुनाएको उल्लेख गरिएको छ, जुन कुरा साँचो होइन। थापाको मुद्दामा मेरो संलग्नता छैन र किताबमा पनि कतै उल्लेख गरिएको छैन।  
 
२०५७/५८ मै टुंगिसकेको शहीद यज्ञबहादुर थापाको मुद्दाबारे हिमाल जस्तो प्रतिष्ठित पत्रिकाले कपोलकल्पित कुराहरू उठाएको देख्दा आश्चर्यचकित भएको छु। सर्वोच्च अदालतका रेकर्ड हेर्दा पनि यसबारे प्रष्ट हुन्छ। त्यसकारण असम्बन्धित प्रसंगमा मेरो नाम जोडेर बद्नाम गर्ने प्रयास भएको भन्ने मलाई लागेको छ।  
 
नयनबहादुर खत्री 
थसिखेल, ललितपुर 

 

comments powered by Disqus

रमझम