८-१४ भदौ २०७१ | 24-30 August 2014

व्यवस्थापन प्रभावकारी भएन

Share:
  

'विपत्तिमा देश, लाचार राज्य' (१–७ भदौ) मा प्रकाशित मनसुनी वर्षासँगै देशभर शुरू भएको प्राकृतिक विपत्तिले निम्त्याएको जनधनको क्षतिप्रति राज्यको लापरबाही सम्बन्धी समाचार पढेपछि सरकारको असली रूप देखिन्छ। मनसुनी वर्षासँगै मुलुकका विभिन्न भागमा एकपछि अर्को विपत्तिका घटना भइरहेका छन्। पूर्वदेखि पश्चिमसम्मका मानिसले विपत्तिको सामना मात्र गर्नु परेको छैन अकालमा ज्यान समेत गुमाउनु परेको छ। प्राकृतिक विपत्ति रोक्न नसकिए पनि मानवीय क्रियाकलापले निम्त्याउने जोखिम कम गर्नेतर्फ सरकारी प्रयास देखिएको छैन। घरबारविहीनहरूको उचित व्यवस्थापन नहुँदा विपत्तिपछि उत्पन्न स्वास्थ्य समस्या त छँदैछ, साथै खाद्यान्नको उचित व्यवस्था नहुँदा बूढाबूढी, बालबालिका, सुत्केरी र गर्भवती महिला थप पीडित भएका छन्। त्यसैले विपत्तिमा परेकाहरूको व्यवस्थापनमा ढिलाइ नगरौं।

लक्ष्मीप्रसाद रिमाल, इमेलबाट

नेतृत्वलाई शुभकामना

'संविधानको सुरसार' (१–७ भदौ) मा प्रकाशित प्रमुख दलका शीर्ष नेताहरू संविधान निर्माणको बहसमा प्रवेश गरेपछि संविधान लेखिने आशा पलाएको कुरा समाचारमा उल्लेख गरिए पनि नेताहरूका कोठे बैठकका कुरा सुन्दा २०७१ सालभित्र संविधान बन्नेमा विश्वास लागेन। बैठकमा सहमतिको कुरा गर्ने शीर्ष नेताहरू बैठकबाट बाहिरिएपछि एकअर्काको टीकाटिप्पणी गर्नमै व्यस्त छन्। सबैजसो ठूला दलहरू आन्तरिक विवाद मिलाउन नसकिरहेको अवस्थामा सबै विवाद मिलाएर संविधान बनाउलान् भन्नेमा सर्वसाधारणलाई विश्वास गर्न गाह्रो भएको छ। जनतालाई संविधान दिने बाचा गरेका दलहरूले २०७१ मा संविधान दिए भने गुमेको विश्वास केही मात्रामा भए पनि जोगाउन सक्लान्। समयमा संविधान जारी होस्। अहिलेका लागि शुभकामना, जनप्रतिनिधिहरूलाई।

विनोदकुमार पनेरू, इमेलबाट

अपराधीको मनोबल नबढाऊ

'क्षतिपूर्ति लिन कठिन' (१–७ भदौ) मा प्रकाशित बलात्कारका घटनामा अदालतले गरेका पीडितलाई क्षतिपूर्ति दिलाउने फैसला विरलै कार्यान्वयनमा आएको सम्बन्धी समाचार पढेपछि कानूनी राज्यको अवस्था प्रष्ट हुन्छ। पीडित महिलाले क्षतिपूर्ति पाउनु त्यति सहज छैन। एकपटक अदालतले क्षतिपूर्ति दिनु भनेर फैसला गरे पनि उचित क्षतिपूर्ति नपाउँदा पटक–पटक अदालतको ढोकासम्म पुग्नुपर्ने बाध्यताले महिलालाई झ्ानै पीडित बनाएको हुन्छ। अर्कोतिर बलात्कार जस्तो जघन्य अपराधमा संलग्नहरूलाई मिलापत्रबाट छुटाउँदा अपराधीको मनोबल बढ्नुको साथै पीडित थप पीडा सहन बाध्य हुन्छन्।

जमुना मल्ल, इमेलबाट

विषादीले बर्बाद

'विकल्प जैविक' (१–७ भदौ) मा प्रकाशित तरकारी बालीमा जथाभावी प्रयोग भइरहेको रासायनिक विषादीबाट जनस्वास्थ्यलाई जोगाउन जैविक विषादी नै उपयुक्त सम्बन्धी समाचार सामग्री पठनीय लाग्यो। विषादीले बजार पिटेको समयमा जैविक विषादी प्रयोग गर्दा स्वास्थ्यलाई हुने फाइदाका बारेमा सबैले बुझ्न जरूरी छ। गाउँघरमा सजिलै पाइने झारपात र मसलाजन्य वनस्पतिबाट जैविक विषादी बनाउन सकिन्छ भन्ने कुरा अधिकांश किसानलाई बुझाउनु आवश्यक छ। खेतीबाट तत्कालै अधिक फाइदा लिन गरिने अत्यधिक विषादी प्रयोगको तरकारीबाट उपभोक्ताको स्वास्थ्यमा त समस्या आउँछ नै, साथै विषादी प्रयोग गर्नेहरूले यसबाट आरुनो स्वास्थ्यमा परेको असरतर्फ ध्यान दिएका छैनन्। यसतर्फ सम्बन्धित किसान सचेत हुनु आवश्यक हुन्छ।

विनिता आचार्य, इमेलबाट

सुक्खा ठाउँमा उत्पादन हुने धानको खोजी

'मनसुनी कहर' (१–७ भदौ) मा प्रकाशित मनसुनको ढिलाइ र अधिक वर्षाका कारण मुलुकभरि अकल्पनीय क्षति भएको समाचार मन छुने खालको छ। समयमा पानी नपर्दा रोपाइँ गर्न नपाएका किसान मात्र होइन, पानीको अभावमा गरिएको कतिपय ठाउँको रोपाइँ पहेंलिएको छ। एकातिर रोपाइँ हुन नसक्नु अर्कातिर रोपेको ठाउँमा पनि सिंचाइको उचित व्यवस्था नहुँदा उत्पादन घट्ने निश्चित छ। कतिपय ठाउँमा लगातारको पानीले खेतीबाली नष्ट भएको छ। समयमा रोपाइँ हुन नसक्नुले कृषि पेशामा संलग्न किसान मात्र होइन, सिंगो मुलुक महँगीको मारमा पर्ने निश्चित छ। त्यसैले किसानलाई सुक्खा ठाउँमा पनि उत्पादन हुने धानको बीउ उपलब्ध गराउनेतर्फ सरकारले ध्यान दिनुपर्दछ।

मातृका अमात्य, इमेलबाट

नेपालको गौरव

'के–टुमा संसार विजय' (१–७ भदौ) मा प्रकाशित माउन्ट के–टुको शिखर पुग्ने विश्वकै पहिलो नेपाली महिला टोली सम्बन्धी समाचार पढ्दा खुशी लाग्यो। विश्वको दोस्रो अग्लो माउन्ट के–टुको सफल आरोहण गरेका पासाङ ल्हामु शेर्पा, माया शेर्पा, दावायाङजमु शेर्पाले महिला पनि चुनौतीपूर्ण काम गर्न सक्छन् भन्ने प्रमाणित गरेका छन्। जोखिमपूर्ण काम महिलाबाट हुन सक्दैन भन्ने कुरालाई चुनौती दिंदै शुरू गरेको माउन्टेन गाइडको कामले नै उनीहरूलाई सफल बनाएको हो। नेपाली महिलाको सफल आरोहणका लागि बधाई।

अरूणा दर्नाल, इमेलबाट

comments powered by Disqus

रमझम