२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

यथार्थ समीक्षा

Share:
  

'अवसानपथमा प्रचण्ड' (२२–२८ भदौ) ले प्रचण्डको राजनीतिक जीवनको कठोर तर यथार्थपरक समीक्षा गरेको छ। यसले प्रचण्डको राजनीतिक जीवन अवसानतिर गइरहेको देखाउँछ। माओवाद उन्नत राजनीतिक, सामाजिक, आर्थिक दर्शन भएकाले प्रचण्डको उदय भएको होइन। साविकका राजनीतिक शक्ति र व्यक्तिका निष्ठाहीन आवेग, परस्पर अविश्वास, कमजोरी, मूढ र भ्रष्टतामा अराजक र उग्र घृणाको राजनीति घोलेर प्रचण्ड उदाएका थिए। प्रजातन्त्रले दिनै पर्ने सुरक्षित, सफल र समृद्ध जीवन नपाएका मानिसका मनमा गुम्सिएको कुण्ठा र आक्रोश उनको ऊर्जा थियो। तत्कालीन राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति–केन्द्रहरूले उनलाई खोकिलामा राखेर हुर्काएका थिए। तर, उनीहरूले नै भुईंमा छोडिदिएपछि प्रचण्ड चिसोमा कठ्यांग्रिए। आफ्नै राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवेश अनुसार आफैं बाँच्ने हैसियत नबनाएकोले नै यो परिणाम आएको हो। तर देशका अन्य दल र राजनीतिक नेतृत्वहरूको क्षमता, निष्ठा र इमानदारीप्रति जनताको उत्साह र विश्वास बढेर प्रचण्ड राजनीतिक अवसानको यात्रामा लागेका भने होइनन्। अहङ्कार र अविवेकी आवेगको गह्रौं भारी बोकेकाले उनी अरूभन्दा छिटो ओरालो लागेका हुन्। अरू पनि माथितिर नउक्लिएर विस्तारै ओरालो नै र्झ्दै छन्।

राजतन्त्रको अन्त्य भएपछिको रिक्त स्थान भर्ने कुनै संस्था आउन नसके जस्तै प्रचण्डको राजनीतिक अवसानबाट रिक्त हुने स्थान भर्न को आउँछ भन्ने ठेगान छैन। एमाओवादी सानो भएको र प्रचण्डको राजनीतिक हैसियत घटेको भए पनि उनको टक्करको अर्को राजनीतिज्ञ पनि मुलुकमा छैनन्। नेपाली राजनीतिमा अल्पकालीन र दीर्घकालीन रूपमा त्यसबाट पर्न सक्ने असर बारे पनि लेखिनुपर्थ्यो।

केशवप्रसाद भट्टराई, फेसबुकबाट

कागजी उद्योगको धन्दा

'झोले कारखानालाई दुई करोड' (२२–२८ भदौ) समाचारले कागज मिलाएर देशमा कसरी भ्रष्टाचार हुन्छ भन्ने देखाउँछ। सरकारले कृषि क्षेत्रमा परिवर्तन ल्याउन प्राङ्गारिक मल कारखाना स्थापना गर्न दिएको अनुदान केही व्यक्तिको खल्तीमा पर्नु दुर्भाग्य हो। यस्तो दुरुपयोगले एकातिर सरकारी विकास बजेट दुरुपयोग हुन्छ भने अर्कातिर जनताको भाग खोसिन्छ। यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ र दोषीमाथि कारबाही गरिनुपर्छ।

विनोद सापकोटा, चितवन

'रेमिट्यान्स जोखिम'

'व्यवस्थापन जरूरी' (२२–२८ भदौ) समाचारले रेमिट्यान्सले अर्थतन्त्रमा ल्याउन सक्ने जोखिम प्रष्ट्याएको छ। रेमिट्यान्समा मात्र भर पर्दा राज्य भविष्यमा अकल्पनीय जोखिमको भासमा पर्न सक्छ। विदेशमा काम गर्न जाने युवालाई स्वदेशमै रोजगारी दिन सके उत्पादकत्व मात्र बढ्दैन, देशको आर्थिक समृद्धि पनि हुन्छ। तर, नीति–निर्माताहरूले यसतर्फ ध्यान दिएको देखिंदैन।

सिर्जना कोइराला, पोखरा

पानीको कालो धन्दा

'सजाय नहुँदा मनोमानी' (२२–२८ भदौ) समाचारले मिनरल वाटरका नाममा बेचिने अस्वस्थकर पानीको दूषित पाटो उजागर गरेको छ। समाचारमा उल्लेख भए जस्तै दूषित पानीले ज्यान लिए पनि केही हजार जरिवाना तिर्दा हुने भएकाले पानी व्यवसायीले डरै नमानी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरिरहेका छन्, जुन आपत्तिजनक छ। स्वास्थ्य जस्तो गम्भीर विषयमा पनि सरकारले ध्यान नदिनु र विषाक्त पानी बेच्नेलाई कारबाही नगर्नु दुर्भाग्यपूर्ण छ।

हरिहर ढकाल, इमेलबाट

वास्तुकला उपयोगी

'वास्तुः न अविश्वास न अन्धविश्वास' (२२–२८ भदौ) मन पर्‍यो। वास्तुशास्त्र अन्धविश्वास र अविश्वास मात्रै नभएर प्राचीन आर्किटेक्ट कला पनि हो। यसले विज्ञानसम्मत मान्यताहरू पनि स्वीकार्ने भएकाले एकोहोरो विरोध गर्नुपर्ने आवश्यकता छैन। घर बनाउँदा वास्तुकलाका मान्यताको अभ्यास गर्न सके राम्रै हुन्छ।

अनुप प्याकुरेल, नुवाकोट

आशा जाग्यो

'बढ्यो पहलकदमी' (२२–२८ भदौ) रिपोर्टले संविधान निर्माण हुने आशा जगाएको छ। विवादित विषयमा सहमति गर्न बाँकी भए पनि दलका नेताहरूले संविधान निर्माण प्रक्रियामा देखाएको चासो सकारात्मक हो। देश पछिल्लो सात वर्षदेखि संविधान वरिपरि घुमिरहेको छ। उन्नति, समृद्धि र विकासको यात्रामा लम्कनुपर्ने सिंगो राष्ट्रका लागि सात वर्ष चानचुने समय होइन। छिटो संविधान निर्माण गरेर आर्थिक विकास र समृद्धितिरको बाटो तय गर्नु अहिलेको प्रमुख आवश्यकता हो।

राजकुमार देवकोटा, नेपालटार

comments powered by Disqus

रमझम