१२-२५ असोज २०७१ | 28 September 2014

संविधानलेखनको महायज्ञ

Share:
  

'प्रक्रिया पछ्याउँदै सहमति' (५–११ असोज) मा प्रकाशित नेकपा–माओवादी सर्वपक्षीय राजनीतिक सम्मेलनमा नआएपछि प्रमुख दलहरू समयमा संविधान जारी गर्न सहमति नबने प्रक्रियाबाट अघि बढ्ने निष्कर्षमा पुगेको सम्बन्धी समाचार पढेपछि बल्ल नेताहरूको होश खुले जस्तो लागेको छ। वैद्य नेतृत्वको माओवादी होस् या पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी दुवैले संविधान चाहेका छैनन्। पहिलो संविधानसभामा आफू ठूलो दल भएको दम्भमा कांग्रेस, एमाले सहमतिमा नआए प्रक्रियाबाट अघि बढ्नुपर्छ भन्ने दाहाल नेतृत्वको एमाओवादी दोस्रो संविधानसभा निर्वाचनमा नराम्ररी पराजय भोग्नु परेपछि सबैको सहमति विना जारी हुने संविधान आफ्ना लागि मान्य नहुने धम्की दिन थालेको छ। मलाई त लाग्छ, वैद्य नेतृत्वको माओवादीलाई उचाल्ने पनि एमाओवादी नेतृत्व नै हो। दुवै माओवादीले जतिसुकै धम्कीका भाषा प्रयोग गरे पनि पुनः संविधानसभा चुनाव संभव छैन र चुनावी मुद्दा लिएर दलहरू जनतामाझ् जाने अवस्था पनि छैन। त्यसैले कसैको डर, धम्कीमा नअल्मलिई कांग्रेस, एमाले सहितका साना दलका नेताहरू दलीय स्वार्थ छाडेर संविधान निर्माणको महायज्ञमा सरिक हुनैपर्छ।

दयाराम पराजुली, चितवन

गैरजिम्मेवार नेतृत्व

'नमेटिएका खाटा' (५–११ असोज) मा प्रकाशित नौ वर्षअघि माओवादीले चितवनको बाँदरमुढेमा नियोजित रूपमा बम विस्फोट गराएको माडी नरसंहार सम्बन्धी समाचार सामग्री पढेपछि समय घर्किंदै जाँदा पीडा पनि बल्झ्ँदै जाने स्पष्ट देखिन्छ। ३८ जनाको ज्यान जाने गरी भएको सो घटनामा घाइते भएका बालबालिकामा गम्भीर मानसिक असर परेको छ भने कतिपयले मानसिक सन्तुलन गुमाएका छन्। कतिपय पीडित र मृतकका परिवारले अझै राहत पाएका छैनन् भने घटनाका एक जना पीडितले आत्महत्या गरेका छन्।

मुलुकमा लोकतन्त्र बहालीपछि पटक–पटक सरकार परिवर्तन भए पनि माडी नरसंहारको घटनामा मल्हम लगाउने प्रयास समेत हुनसकेको छैन। पहिलो संविधानसभा चुनावपछि यस्ता घटनाका दोषी पत्ता लगाएर पीडितलाई न्याय दिलाउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने दलहरूले प्रतिबद्धता जनाएका थिए। तर दोस्रो संविधानसभा निर्वाचन भएको १० महीना बितिसक्दा पनि दलहरूले आयोग गठन गरेर द्वन्द्वका घाउमा मल्हम लगाउने प्रयास नगर्नुले उनीहरूको गैरजिम्मेवारीपन प्रष्ट हुन्छ।

प्रकाश भट्ट, द्वन्द्वपीडित परिवार, काठमाडौं

सलाम मुख्य सचिव

'सुधारक प्रशासक' (५–११ असोज) मा प्रकाशित निर्भीक र विवादमा नमुछिएका मुख्य सचिव लीलामणि पौडेल साँच्चै सुधारक प्रशासक हुन्। राष्ट्रिय स्वार्थ छाडेर उनले दलविशेषको अजेण्डालाई प्राथमिकतामा राखेका छैनन्। उनको ध्यान जहिले पनि प्रशासन र सिंगो समाजलाई कसरी सुधार्ने भन्नेमै केन्द्रित छ। यस्तो असल व्यक्तिलाई मुलुकको मुख्य सचिवका रूपमा पाउनु हाम्रो लागि गौरवको कुरा हो। हामी नेपाली सधैं तपाईंको पक्षमा छौं। मुलुकमा सुशासन कायम गर्नका लागि तपाईंको अभियान निरन्तर अघि बढोस्।

तुलसी ज्ञवाली, इमेलबाट

राजधानीको पीडा

'स्वरुप फेर्ने अवसर' (५–११ असोज) मा प्रकाशित दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनको अवसर पारेर राजधानी काठमाडौंको मुहार फेरिन लागेको समाचारले राजधानीवासीमा पक्कै खुशी छाएको हुनुपर्छ। विदेशी पाहुनालाई देखाउनका लागि रातारात सडकका खाल्डो टालिएका छन्, चौरमा रूख रोपिएका छन्, सडक सफाई शुरू गरिएको छ र सडकमा बत्ती राख्न थालिएको छ। यी सबै गतिविधिलाई नेपालमै बसेर नियालिरहेका सार्क सदस्य राष्ट्रका नागरिकहरूले चाहिं कसरी लिएका होलान्? अघिल्लो पटक सार्क सम्मेलन गर्दा यसैगरी टालिएका राजधानीका सडक केही दिनमै भत्किएको कुरा राजधानीवासीले बिर्सेका छैनन्। त्यसैले हिजोको घटनालाई शिक्षाका रूपमा लिएर काम अघि बढाउनुपर्दछ। राजधानी शहरलाई व्यवस्थित पार्न यसैगरी सार्क सम्मेलन कहिलेसम्म पर्खनुपर्ने होला?

निराजन श्रेष्ठ, बागबजार, काठमाडौं


सीके राउतबारे मिलेन

सप्तरीका डा. चन्द्रकान्त (सीके) राउतलाई सिंगो नेपालकै एक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वैज्ञानिकका रूपमा मिडियाले जसरी प्रस्तुत गरेका छन् त्यसो अलि हैन। यो त लन्डनमा गोल्डम्यान स्याक्स नामक वित्त संस्थाको कार्यालयमा काम गरिरहेको कुनै नेपालीलाई सिंगो नेपालकै एक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्याङ्कर भन्या जस्तै भयो।

मिलेन!

विदेशमा नाम चलेकै कम्पनीमा दशौं हजार र त्योभन्दा बढी नै मान्छे काम गरेका हुन्छन्, त्यो पनि संसारभरिका। राउतलाई बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी सकाएर एउटा अमेरिकी कम्पनीमा दुइर्रु–तीन वर्ष जागीर खाएका कम्प्युटर वैज्ञानिक भनेको भए त्यो कुरा सत्यको नजिक हुन्छ। रेथिएन विविएन टेक्नोलोजिजले राम्रा युनिभर्सिटीहरूबाट कम्प्युटरजन्य विषयमा पीएचडी सकाएकाहरूलाई जागीर दिन्छ। राउतले त्यहाँ जागीर पाएकाले उनको बारेमा यी चार कुराको सिग्नल हामीले पाउन सक्छौं, पहिलो; कम्प्युटरजन्य विषयमा उनको व्यावसायिक क्षमताको, दोस्रो; उनले एउटा टप कम्प्युटर साइन्स डिपार्टेन्टबाट पाइने क्यारिएर सम्बन्धी फाइदा लिनसकेको पुष्टि, तेस्रो; उनको पीएचडीको शोधकार्य रेथियन विविएन टेक्नोलोजिजको कार्यक्षेत्रसँग मिलेको वा मिल्न सक्ने भएको, र चौथो; उनलाई युनिभर्सिटी पढाउन मन नलागेको या नपाएको या उनले पोष्ट–पीएचडी चाहिं गैरअध्यापन क्षेत्रमा काम गर्न खोजेको। मैले बुझ्े अनुसार अमेरिकामा जागीर खाने सिलसिलाको प्रारम्भिक चरणमा एक–दुई वर्ष काम गरेर अनि छोडेर हिंडिसकेपछि त्यो पहिलो कम्पनीले खासै को कहाँ गयो, के गर्छ आदिबारे मतलब गर्दैन। अमेरिकामा कुनै नामै चलेको डिफेन्स कन्ट्रयाक्टरको लागि काम गरे पनि त्यो काम र राउतको अहिलेको कामको भूराजनीतिक सम्बन्ध कुनै रूपमा छ जस्तो मलाई लाग्दैन।

आशुतोष तिवारी, फेसबुकबाट

comments powered by Disqus

रमझम