२-१५ कात्तिक २०७१ | 19 Oct 1- Nov 2014

नयाँ नेपालका नयाँ नेता!

Share:
  

'सत्तामा आँखा' (२६ असोज–१ कात्तिक) पढेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको सत्तामोह प्रष्ट हुन्छ। संविधान निर्माणलाई सहज पार्न गरिएको पाँचबुँदे सहमतिलाई बेवास्ता गर्दै एमाओवादी अध्यक्ष दाहाल संविधान निर्माणको नाममा संवाद, संघर्ष र षड्यन्त्रमार्फत सरकारमा जाने बाटो खोजेका छन्। हुन त संविधान निर्माणको विषयमा छलफल नगरेर सत्तामा ध्यान दिनु हाम्रा नेताहरूको पुरानै बानी हो। जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने भन्दै समानताको कुरा गर्ने एमाओवादी नेताहरू पारिवारिक स्वार्थमा लुटपुटिएका छन्। उनीहरूले समाजका लागि उल्लेखनीय केही काम गर्नसकेका छैनन्। के यही हो नयाँ नेपाल?

सरस्वती शर्मा, इमेलबाट

माटो जोगाऊँ

'मर्दैछ माटो' (२६ असोज―१ कात्तिक) मा उल्लेख गरिए जस्तै देशभरकै जमीनमा अम्लीयपन बढेको, प्राङ्गारिक पदार्थ घटेको तथा उत्पादन कम भएकोले सबैलाई चिन्तित बनाएको छ। यसरी माटो बिग्रनुको धेरै कारणमध्ये रासायनिक मल र विषादीको अत्यधिक प्रयोग प्रमुख हो। प्राङ्गारिक मलको प्रयोगले माटोमा बढ्दै गएको रूखोपनलाई कम गर्ने भएकोले यसतर्फ ढिलाइ गर्नुहुँदैन। हामीकहाँ शहरीकरणको नाममा खेतीयोग्य जमीन बाँझै छोड्नाले खाद्यान्नमा परनिर्भरता बढ्दो छ। उत्पादन बढाउने नाममा अनेक किसिमका विषादी र रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरबारे सर्वसाधारण किसानलाई जानकारी दिनु पनि आवश्यक छ। ग्रामीण भेगका कतिपय किसानले रासायनिक मलको असरबारे जानकारी नभएर पनि अत्यधिक प्रयोग गर्ने गरेका छन्। यसतर्फ पनि सरोकारवालाहरूको ध्यान जानुपर्छ।

अनुज सिग्देल, इमेलबाट

चाहिंदैन यस्ता सल्लाहकार

'अर्थहीन सल्लाहकार' (२६ असोज–१ कात्तिक) यथार्थपरक लाग्यो। खासमा सल्लाहकारको काम भनेको विकल्पसहित राय दिनु हो। तर हामीकहाँ भनसुनका भरमा नियुक्त हुने सल्लाहकारहरू राय दिन नभई स्वार्थसिद्ध गर्न लागिपरेका छन्। राम्रा होइन हाम्रा भन्दै मन्त्रीहरूले सल्लाहकार छनोट गरेपछि कसरी पाउँछन् सही सल्लाह। त्यसकारण आवश्यकता र औचित्यका आधारमा सल्लाहकार राख्ने मापदण्ड बनाउनुपर्दछ। यस्तो मापदण्ड नबनाउने हो भने पैसा मात्र खर्च गराउने यस्ता सल्लाहकार नभएकै बेस।

अर्जुन पौडेल, इमेलबाट

अपराधको बाटोमा

'यौनका लागि अपराध' (२६ असोज–१ कात्तिक) पढ्दा झ्सङ्ग बनायो। यौनसम्बन्धी अत्यधिक उत्सुकता र देखासिकीले कलिला किशोर–किशोरीलाई अपराधतर्फ डोर्‍याएको छ। बलात्कार, बलात्कारजन्य घटना र यौनहिंसाका बढ्दो घटनाले नेपाली समाज कसरी अपराधतर्फ उन्मुख भएको छ भन्ने प्रष्ट हुन्छ। पछिल्लो समय बालिकामाथि हुने यौनजन्य हिंसाको वृद्धि त छँदैछ साथै बालबालिका स्वयं यौन अपराधमा संलग्न हुनुले कहालीलाग्दो अवस्था देखिन्छ। त्यसैले संकटाभिमुख बालबालिकालाई सही मार्गमा ल्याउनको लागि अभिभावक, घरपरिवार, समाज, शैक्षिक संस्था र सिंगो मुलुकले ढिलाइ गर्नुहुँदैन।

गोमा पौडेल, इमेलबाट

शुभकामना नीलम

'कलाले सबल' (२६ असोज–१ कात्तिक) मन छुने खालको समाचार लाग्यो। लगनशील र क्षमतावान् जो–कोहीलाई अघि बढ्न कसैले छेक्न सक्दैन भन्ने गतिलो उदाहरण बनेकी नीलम ढुंगानाबाट सबैले पाठ सिक्नुपर्दछ। स्कूटर दुर्घटनामा परेर एउटा खुट्टा गुमाएकी ढुंगाना बाँकी रहेको एउटा खुट्टाले नाचेर दर्शकलाई मुग्ध पार्छिन्। यस्ता प्रतिभालाई समेटेर समाचार प्रकाशित गरेकोमा हिमाल लाई धन्यवाद अनि नीलमलाई शुभकामना।

सन्तकुमार राई, इमेलबाट

हाम्रा कुरा सुन

'सानो निहुँ, ठूलो नरसंहार' (२६ असोज–१ कात्तिक) समाचारले माओवादीको दशवर्षे द्वन्द्वका क्रममा गाउँ–गाउँमा गठन गरिएका माओवादी र प्रतिकार समितिबाट भएका ज्यादती देखाएको छ। माओवादी र प्रतिकार समितिले एकै वर्षमा नवलपरासीको एउटै वडामा गरेको १३ जनाको हत्यालाई द्वन्द्वकालीन घटना भन्दै हालसम्म कतै उजुरी लिने/दिने काम समेत भएको छैन। सामान्य विवादलाई लिएर माओवादी र प्रतिकार समितिले फैलाएको हिंसामा वर्गदवा गाउँका १३ जनाको हत्या भएको थियो भने नरसंहारपछिको आतंकमा विस्थापित भएका ३९ परिवारमध्ये १४ परिवार भारत र बाँकी छिमेकी गाउँमा छरिएको समाचार पढ्दा दुःख लाग्यो। आफ्नै भूमिमा यसरी विस्थापित जीवन बिताउनुपर्दा पनि सरकार र माओवादी कसैले यसलाई गम्भीरतापूर्वक लिएका छैनन्। अनि मानवअधिकारवादी पनि कता हराएका छन् थाहा छैन। कसले बुझने विस्थापित यी परिवारको पीडा?

राजु थापा, नयाँबजार, काठमाडौं

comments powered by Disqus

रमझम