११-१७ माघ २०७१ | 25-31 January 2015

पार्टीगत स्वार्थ हावी

Share:
  

'धरापमा संघीयता' (४–१० माघ) सान्दर्भिक लाग्यो। प्रदेश निर्माण प्रक्रियामा संघीयता आवश्यक पर्नुका कारणबारे ध्यानै नदिई पार्टीगत स्वार्थ हावी हुँदा संघीयता धरापमा पर्ने अवस्था आएको हो। अघिल्लो संविधानसभा विघटनको प्रमुख कारक बनेको संघीयताको विवाद समयमै नटुंग्याउँदा जनतामा विस्तारै संघीयताविरोधी मनोभावना बढ्दै गएको सर्वेक्षणले देखाएको छ। प्रदेश बनाउँदा बृहत्तर राष्ट्रिय स्वार्थ नहेरी नेताहरूले आफू र आफ्नो दलको भविष्यलाई केन्द्रमा राखेकाले विवाद सल्टिन नसकेको हो।

दलहरूबीच सहमति नहुँदा संघीयता मात्रै होइन, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता जनआन्दोलनका महत्वपूर्ण उपलब्धिहरू पनि धरापमा पर्ने खतरा छ। ती अजेण्डामा जनधारणा नकारात्मक बन्दैछ। दलीय सहमति नहुँदा संविधानको विषय टुंगोमा नपुग्ने मात्र होइन देशमा अरू समस्या पनि बढ्दै जानेछन्।

गोपाल पौडेल, इमेलबाट

संघीयता मात्र होइन देशमा शान्ति सुरक्षा समेत धरापमा पर्न थालेको छ। नेताहरू आफ्नो मात्रै स्वार्थमा छन्। नागरिक समाज र सञ्चारमाध्यम पनि नेताहरूलाई दबाब दिन आवश्यक जति सक्रिय हुनसकेका छैनन्। विवादित विषयलाई टुंगोमा पुर्‍याएर छिट्टै संविधान जारी नगरेसम्म परिवर्तनका उपलब्धि संस्थागत हुने छैनन्।

उज्वल शर्मा, इमेलबाट

स्वास्थ्यमा लापरबाही

'योगबाट वियोग' (४–१० माघ) ले स्वास्थ्य क्षेत्रमा गम्भीर लापरबाही भएको देखाउँछ। दीर्घरोगले पीडित बनेकाहरू रोग निको हुने आशामा चिकित्सकको परामर्श र औषधि छाडेर रामदेवको योगमा मात्रै भरपर्दा झ्न् ठूलो स्वास्थ्य समस्या निम्तिएको छ। योग र सन्तुलित खानपानले स्वस्थ रहन सहयोग पुर्‍याए पनि रोग लागिसकेपछि योगको मात्र विश्वासमा पर्नुहुँदैन। मिर्गौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोग एलोप्याथिक औषधिले नै निको पार्छ। योगमा भर परेर नियमित खाँदै आएको औषधि बीचमै छाड्दा ज्यानै गएका पनि उदाहरण छन्। त्यसैले आफ्नै स्वास्थ्यमाथि खेलबाड गर्दै योगका नाममा भइरहेको व्यापारप्रति बेपरवाह बन्नुहुँदैन।

शर्मिला राई, इमेलबाट

सरकारी उदासीनता

'३१ वर्षसम्म शिविरकै बास' (४–१० माघ) ले आरक्षबाट विस्थापितहरूका लागि बसोबासको व्यवस्था गर्न सरकारले देखाएको उदासीनता प्रष्ट पारेको छ। सुरक्षित बसोबासको व्यवस्था पछि मात्र बस्ती सार्नुपर्ने भए पनि यति लामो समयसम्म समस्या समाधान गर्न नसक्नु लाजमर्दो कुरा हो। शुक्लाफाँटा आरक्ष समस्या समाधान आयोगले समेत समाधानको साटो समस्या थपिरहेको छ। राजनीतिक नियुक्तिले आयोगमा व्यक्ति परिवर्तन गरेर मात्र हुँदैन समस्या समाधान गर्नतर्फ पनि गम्भीरताका साथ लाग्नुपर्छ।

कविता मल्ल, इमेलबाट

फलफूल भण्डारणको व्यवस्था

'मधेशमा शीतलहर पहाडमा असर' (४–१० माघ) सान्दर्भिक लाग्यो। पहाडमा उत्पादित सुन्तला लगायतका फलफूलको व्यापार तराई भएकाले त्यहाँको शीतलहरको असर पहाडमा देखिएको हो। अर्कोतर्फ सुन्तला भण्डारण गर्न सक्ने अवस्था नभएकाले पनि सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ। फलफूल भण्डारणका लागि किसानलाई सरकारी सहयोग आवश्यक छ। फलफूललाई उपयुक्त तरीकाले भण्डारण गरी बेमौसममा बिक्री गर्दा त्यसबाट किसानले त फाइदा पाउँछन् नै देशको अर्थतन्त्रमा समेत सकारात्मक असर देखापर्नेछ।

विमल माली, इमेलबाट

विदेशमा नेपाली पहिचान

'स्वीट्जरल्याण्डमा नेपाली चैत्य' (४–१० माघ) पढेर खुशी लाग्यो। नेपाली वास्तुकला विश्वका विभिन्न देशमा पुगिसकेको छ। स्वीट्जरल्याण्डमा बनाइएको चैत्यले कालिगडलाई मात्र होइन नेपाली वास्तुकला र संस्कृतिलाई समेत अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्‍याएको छ।

निर्मल अर्याल, इमेलबाट

प्रशंसनीय काम

'वागमती किनारामा वाक वे' (४–१० माघ) ले काठमाडौंमा भइरहेको उदाहरणीय निर्माण कार्यको जानकारी दियो। फोहोर र दुर्गन्धले भरिएको वागमती किनारलाई 'सम्पदा मार्ग' बनाएर मनोरञ्जन र शारीरिक व्यायाम स्थल बनाउनु निकै प्रशंसनीय कुरा हो। घाट व्यवस्थित हुँदा नदी पनि सफा हुनेछ। बाक्लो बस्ती, फोहोर र अस्तव्यस्तताले दिक्क भएका काठमाडौंवासीका लागि मनोरञ्जन र विश्राम गर्ने उपयुक्त स्थान हुनेछ।

बाबुराम कामी, इमेलबाट

कलामा पहिचान खोज्दै

'फरक शिल्प' (४–१० माघ) ले रूखका जरा र हाँगाबाट विभिन्न कलाको सिर्जना गर्ने काममा तल्लीन नरेन्द्रबहादुर श्रेष्ठको जानकारी दिएर काममा निरन्तर लाग्न प्रेरणा दिन्छ। काम नलाग्ने भनेर घरबाट फ्याँकिएका कतिपय सामानबाट विभिन्न कलात्मक सामग्री बन्ने थाहा पाएपछि ती सामग्रीको उचित प्रयोग गर्नेतर्फ सोच्ने कि?

प्रकाश श्रेष्ठ, इमेलबाट

शहरी युवाको नयाँ काम

'ठट्टा देखाउँदै ठिटा' (४–१० माघ) ले काठमाडौंका युवाहरूले नयाँ काम गर्न र त्यसमै पहिचान बनाउँदै गएको देखाउँछ। ठट्यौली कार्यक्रमका लागि अब विदेशी च्यानलमा भर पर्नुपर्ने बाध्यता रहेन। कसैलाई क्षणिक रूपमा झ्ुक्याएर धेरैलाई रमाइलो दिने यस्तो काम अन्तर्राष्ट्रिय स्तरमा चर्चित भए पनि नेपालका लागि भने नौलो हो। साथै कार्यक्रममा झुक्किरहेका व्यक्तिको प्रतिक्रियाले नेपाली समाजले विस्तारै खुलापन अँगाल्दै गरेको देखाउँछ।

राजु बिष्ट, इमेलबाट

comments powered by Disqus

रमझम