ढुंगेलको तथ्यहीन तर्क

Share:
  

 

डा. ढुंगेलले भीमशमशेरको इस्तिहार पछि मात्र 'तामाङ' नाम प्रचलनमा आएको ठोकुवा गरेका छन्। उनको ज्ञानमाथि शंका गर्ने कि नियतमाथि? 
 
हिमाल (१६–३० मंसीर) ताम्सालिङ, तामाङसालिङ जे नाम राखे पनि यसको अर्थ तामाङहरूको पहिचान सहितको राज्य (ह्युल) हो। ढुङ्गेलले भनेजस्तो सबै शब्दमा 'राब–ताम' जोड्नुपर्छ भन्ने तामाङ भाषाको नियममा छैन।  
 
अरूले मुर्मि, भोटे, सेन जे भने पनि इस्तिहारमा तामाङहरूले आफूलाई कहींकतै मुर्मि भनेका छैनन्। मुर्मि भनेको 'सिमानाको मान्छे' भन्ने कुरा आधुनिक तिब्बतियनदेखि क्लासिकल तिब्बतियन (जुन तामाङ भाषासँग धेरै मिल्छ) र तामाङ भाषाको शब्दकोशमा कतै भेटिंदैन। बरु तामाङ र तिब्बती भाषामा भोइ (तिब्बत), ह्रोङ (बेंसी, कछाड, उपत्यका) र घ्यागर (मधेश) भन्ने शब्द प्रचलित छ। तामाङहरूलाई तिब्बतियनहरूले ह्रोङबा चाहिं भन्ने गर्दछन्। लेखकले ब्राइन हज्सनले १९०४ मा मुर्मि शब्द प्रयोग गरेको उल्लेख गरेका छन्। तर उक्त ग्रन्थभित्र तामाङ भाषा र नेपाली भाषामा 'चुनी तमंग रुइ चोपरे' 'बाह्र तामाङ जात अठार' भनी उपशीर्षक छ। बरु फुरर होमनड्रोफ, म्याकडोनल्ड र वारेन क्याम्पा आदि विदेशी लेखकहरूले तामाङहरूले आफूलाई मुर्मि भनेको नपाइएको उल्लेख गरेका छन्।  
 
ऐतिहासिक हिसाबले मुर्मि होइन तामाङ शब्द १३औं शताब्दीमा नै जातिवाचक शब्दको रूपमा प्रयोग भएको पाइन्छ। तल्लो मुस्ताङका तामाङ जातिलाई दबाउनको लागि गुङथाङ (तिब्बत) का राजा बुम दे गोनले मुक्तिनाथमा स्रीन किल्ला निर्माण गरेका थिए। छेवाङ नोर्बुले ङारी गुङथाङ राजवंशको वंशावली तयार गर्ने क्रममा सो वंशका राजा बुम दे गोन (१२५३–१२८०) ले निर्माण गरेका किल्लाहरूको अभिलेख संकलन गर्ने क्रममा माथिका अभिलेख पाएका थिए भनी म्याकडोनल्ड (१९७६) ले डेभिड पी. ज्याक्सन (१९७६) लाई उद्धृत गर्दै लेखेका छन्। यसबाट प्रष्ट हुन्छ, मुर्मि शब्द शासकहरूले तामाङको अस्तित्व मेटाउन जबरजस्ती थोपरेको शब्द हो। तामाङहरू तिब्बती सम्राट स्रङचङ गोम्पोका घोडचढी सैनिकका सन्तान हुन् भन्ने भनाइप्रति असहमत हुनुभएकोमा ढुङ्गेललाई धन्यवाद।  
दुपवाङगेल मोक्तान तामाङ, काभ्रे 
 
डा. ढुंगेल जस्तो व्यक्तिले ढुंगेलको इतिहास लेख्नुभएको भए धेरै राम्रो हुन्थ्यो। लेखमा उनले तामाङको इतिहासभन्दा आफ्नो मनको कुरा लेखेका छन्। तामाङ मुर्मि हैनन् तामाङ तामाङ हुन् भीमशमशेरको पालादेखि तामाङ भएको नभई आदिमकालदेखि नै तामाङ थिए।  तामाङ इतिहास तामाङलाई नै लेखाउँदा बेस होला कि!  
बुद्ध योञ्जन लामा 
लिशंखु, सिन्धुपाल्चोक  
 
म तामाङ भएकोले मैले बोल्ने भाषालाई खुबै प्रेम गर्छु। मेरो भाषाको एक शब्दको अर्थ गलत रूपमा प्रयोग हुँदा मेरो मन दुख्नु अत्यन्तै जायज र स्वाभाविक छ। एउटा अर्थ लाग्ने शब्दलाई काल्पनिक अर्थ सोचेर गलत व्याख्या गरिन्छ भने त्यो सीधा भाषामाथिको आक्रमण ठान्दछु। केही शब्दहरू 'तम', 'मुल्मी', 'तामाङ', 'ताम्सालिङ', 'फोला', 'रुइ' र केही तिब्बतियन शब्दहरू त प्रयोगमा ल्याएका छन् तर ती शब्दहरूको काल्पनिक अनुमान र गलत अर्थ लगाएर व्याख्या गरेका छन्। ती शब्दको अर्थ नै थाहा नहुने ढुंगेलले किन गलत व्याख्या गरेका हुन्?  
 
तामाङ शब्दलाई विघटन गर्दै अनेक अर्थ लगाउन समेत भ्याउनु भएछ। तामाङको अर्थ 'घोडा व्यापारी' त 'घोडापालक' पो बनाइदिएछन्। तामाङ कोही स्रङचङ गम्पोले छोडेको सैनिक थिएन न त घोडा व्यापारी नै। यस्ता आधारहीन तर्क कुन अर्थमा उजागर गर्न खोज्नुभो, नबुझेको स्थिति छ। 
 मणिकलाल, घिसिङ, हिमालखबरबाट  
 
एक पक्षीय समाचार  
हिमाल (१६–३० मंसीर) खबरपत्रिकामा प्रकाशित प्राज्ञिक क्षेत्रमा प्रहार शीर्षकको रिपोर्ट जानकारीमूलक भए पनि एक पक्षीय लाग्यो। समाचार पढ्दा उपकुलपति डा. सुरेशराज शर्मालाई गलहत्याइएको अर्थ लाग्छ। विश्वविद्यालय स्थापनाको जस उहाँलाई नै दिउँ तर शक्तिमा पुग्नका लागि उहाँले नै राजनीतिक बाटो अँगाल्नुभएको हो। शर्माको २१ वर्षे कार्यकाल कस्तो थियो भन्ने भुक्तभोगीहरूलाई थाहा छ। सिनेट र कार्यकारी परिषद्मा पनि शिक्षकहरूको वास्तविक प्रतिनिधित्व कहिल्यै पनि गराउनुभएन। यी तथ्यहरूप्रति डा. केदारभक्त माथेमा पनि अनभिज्ञ छैनन्। तर पनि माथेमाले गौरवीकरण गरेको प्रतिक्रिया पढ्दा अचम्म लाग्यो। 
डा. विभूतिरञ्जन झा
अध्यक्ष, नेपाल प्राध्यापक संघ, केयु  
 
यथार्थपरक लेख  
हिमाल (१६–३० मंसीर) मा प्रकाशित सावधान राष्ट्रपति शीर्षकको लेख मर्मस्पर्शी र यथार्थपरक लाग्यो। यदि लेखकले भने झ्ैं एमाओवादीले घुमाउरो ढंगले आफ्नो अभीष्ट पूरा गर्न खोजेको हो भने त्यो देशको लागि निकै घातक र महँगो पर्न जान्छ। आफूलाई राजनीतिको पण्डित ठान्नेहरूले यसतर्फ गम्भीर ध्यान दिंदा मुलुकलाई वर्तमान संकटबाट उन्मुक्ति दिन सकिन्छ।  
गोपाल बराल, हिमालखबरबाट 
ताम्सालिङबारे गलत ठोकुवा 
 
डा. रमेश ढुंगेलको लेख 'भेटिएन ताम्सालिङ' (हिमाल १६–३० मंसीर) मा उल्लेख भएको 'तामाङ' नाम बारेको प्रसंग सही छैन। तामाङले आफ्नो जातीय परिचय जहिल्यै तामाङ नामबाटै दिए, दिने गर्थे। तामाङ समुदायमा 'मुर्मि' शब्दको प्रयोग शाह–राणा शासक र बेलायती लेखकहरूको दुर्नियतको अभिव्यक्ति मात्र थियो भन्ने कुरा डा. ढुंगेल कार्यरत सिनासबाटै सन् १९९६ मा प्रकाशित ब्रायन वारेनकामको तामाङ तामः अ सोसिओलिङ्ग्युस्टिक स्टडी अफ इस्टर्न तामाङ डायलेक्ट (इन नेपाल) ले पनि स्पष्ट पार्छ।  
 
अर्को कुरा, राणा प्रधानमन्त्री भीमशमशेरले ६ भदौ १९८९ मा तामाङलाई जात दिएका होइनन्, तामाङ नाममा लागेको बन्देज हटाएका हुन्। डा. ढुंगेलले त्यो इस्तिहारको पुनः अध्ययन गरे बेस होला। इस्तिहारको एक ठाउँमा 'उप्रान्त १२ तामाङ जातलाई लामाभोटे भन्ने चलन चलेकोमा' र अर्को ठाउँमा 'हामी १२ तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाइने गराइबक्से हुँदो हो' भन्ने उल्लेख छ। यी वाक्यांशले तामाङहरूले आफूलाई तामाङ र अन्य समुदायले चाहिं लामाभोटे भन्दा रहेछन् भन्ने प्रष्ट हुन्छ। निवेदकको थरले पनि यही प्रष्ट्याउँछ। निवेदक जंगवीर तामाङले प्रष्ट शब्दमा 'हामीले तामाङ भन्न, लेख्न पाउनुपर्छ' भनेका छन्। 
 
ऐतिहासिक अभिलेखहरूमा पनि 'तामाङ' नामको यथेष्ट प्रयोग भएको पाइन्छ। डा. ढुंगेल आफैं विज्ञ रहेको हज्सन पेपरमा 'मुर्मिहरूको कुलाचार' शीर्षकको पहिलो पृष्ठको दाहिनेतिर तामाङ भाषामा 'चुनि तमंग रुइ चोपरे' र मुनितिरको नेपाली अनुवादमा 'बाह्र तमंग जात अठार' लेखिएको छ। वि.सं. १८६३ मा स्वयम्भूका थर्ची लामालाई काठमाडौं उपत्यका वरिपरिका १२ घ्याङको अधिकारसहित १२ तामाङको थितिसमेत कायम गर्न पाउने अधिकार दिएको अभिलेखमा पनि 'तामाङ' शब्द प्रयोग भएको छ। दोलखा भीमेश्वर भण्डारको १८५० सालको अभिलेखमा 'जोगिराम तामाङको सन्तान' उल्लेख छ।  
 
यी अभिलेखहरू १९८९ (इ. १९३२) भन्दा धेरै अगाडिदेखि नेपालमा 'तामाङ' नामको आधिकारिक प्रयोग हुँदै आएको अकाट्य प्रमाणहरू हुन्। डा. ढुंगेलले भने भीमशमशेरको इस्तिहार पछि मात्र 'तामाङ' नाम प्रचलनमा आएको ठोकुवा गरेका छन्। अब उनको ज्ञानमाथि शंका गर्ने कि नियतमाथि?  
स्युक्पा तामाङ, काठमाडौं 
comments powered by Disqus

रमझम