८-१४ चैत २०७१ | 22-28 March 2015

पैसाको नास

Share:
  

'सभासद्लाई म्यासेज' (१–८ चैत) पढ्दा, नेपालीलाई के भा'को जस्तो लाग्यो! किन संविधान मात्रै भन्छन्? केलाई हो यो 'धान' न भात पकाउन मिल्छ न केही गर्न मिल्छ। संविधान आए पनि के नआए के सभासद्लाई भत्ता आएकै छ। बरु टेक्स्ट म्यासेज पठाएर फोनको पैसा सक्ने हामी नै पागल हौं। देश बनाउन संविधान भन्दा पनि लगन र मन चाहिन्छ।

मनोज पौडेल, इमेलबाट

सलाम मुमा

'सुन फलाउने शिक्षा' (१–८ चैत) मा उल्लेख भएकी चन्द्रकुमारी (पाण्डे) जोशीको प्रेरणा मलाई पनि छ। 'नानी साहसी बन्नू अनि श्रीमान्ले केही भनेमा मुखमा पानी हाल्नू' भन्ने उहाँको यो अर्ति हो हरेक महिलालाई। म उहाँलाई हृदयदेखि नै सम्झ्न्छु अनि मेरो जीवनको सलाम छ मुमा।

इन्दिरा त्रिपाठी, इमेलबाट

विकल्पहीन वैकल्पिक विमानस्थल

'समृद्धिको साँचो' (१७–२३ फागुन) निकै चाखलाग्दो छ। दोस्रो वैकल्पिक विमानस्थल कति आवश्यक छ भन्ने मलाई राम्ररी थाहा छ। वैकल्पिक विमानस्थल चाहिन्छ भनेर सन् २००२ ताका मैले पर्यटन मन्त्रालयमा पत्र पनि लेखेको थिएँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लोकलाइजर एप्रोच (सेमी अटोमेटिक) राखौं भनेको थिएँ तर नतीजा अझै आएन।

काठमाडौंका लागि उडान भर्दा दिल्ली वा कलकत्तालाई पुग्ने अतिरिक्त इन्धन राख्ने गरेको छु। मौसम लगायतका विभिन्न कारणले अवतरण गर्न पाइँदैन कि भन्ने कारणले यस्तो गर्नु परेको हो। तसर्थ सम्बन्धित अधिकारीहरूलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आग्रह गर्दछु। यसले नेपालको अर्थतन्त्रमै परिवर्तन ल्याउन सक्दछ।

क्या. केबी पौडेल क्षेत्री, बी ७५७

योजना राम्रो हुँदाहुँदै पनि कार्यान्वयन पक्ष खराब हुनु हाम्रो ठूलो रोग बनेको छ। हाम्रो राजनीतिक संस्कार नै विकास योजना विरोधी देखिएको छ। 'बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरूलाई पनि बनाउन दिंदैन' भन्ने नेपाली उखान सार्थक हुँदैन भन्ने आशा गरौं।

रोमराज शर्मा, इमेलबाट

मूर्ति मर्मत सूत्र

'बीभत्स मर्मत' (१–८ चैत) मा भनिए जस्तै यसलाई जडान गर्न सुपरग्लूको प्रयोग गरिएमा यो प्रभावहीन हुनेछ। सुपरग्लूलाई ताप र पानीले चाँडै असर गर्ने हुँदा यो टिकाउ हुँदैन। यसलाई जीर्णोद्धार गरेपछि पुरानै प्रकृतिको देखाउन र लामो समयसम्म टिकाउनका लागि निम्न तरीका अपनाउन सकिन्छः –समान प्रकृतिको ढुङ्गाको धूलो तयार गर्ने,

–मूर्तिको आकर्षण नबिग्रने गरी आवश्यकता अनुसार माइक्रोड्रिल गर्ने र त्यही अनुरुपको स्टीलका मसिना रडहरू तयार पार्ने,

–बजारमा पाइने टाँस क्षमता हुने गम Fevitite/Areldite/Yamapoxy/Bontite मध्येको कुनै एक गमलाई चर्किएको भागमा, माइक्रोड्रिल गरिएको प्वाल र स्टीलको रडमा दल्ने

–बाँकी रहेको आवश्यक गममा ढुङ्गाको धूलो मुछेर पुटिङ बनाई त्यसले गम दलेको चर्किएको भागमा र प्वालमा भित्रैसम्म छिर्ने गरी भर्ने अनि स्टीलका रडहरू छिराएर टाइट गर्ने

–करीब पाँच घण्टापछि फिलिङ गरेको पुटिङ सुक्छ, यसलाई निपुण मूर्तिकारद्वारा बढी देखिने भागलाई ताछेर, सरेस पेपर लगाएर पहिलेकै प्रकृतिमा ल्याउन सकिन्छ।

मञ्जुल मितेरी (मूर्तिकार), उर्लाबारी मोरङ

उत्तरदायित्व बिर्सेको छैन नागरिक समाजले

'संवादपछि संविधान' (१–८ चैत) मा नागरिक समाजले दलहरूबीच जुटाएको संवाद र सहमतिका प्रयासलाई नकारात्मक दृष्टिकोण राखेको पाइयो। यस प्रक्रियामा सहभागी नै नभएका व्यक्तिहरूका नाम समेत उल्लेख हुँदा लेखको सत्यतामा प्रश्न उठेको छ।

५ माघको संविधानसभाको दुखद् घटनापछि नदीका दुई किनारा जस्ता भएका दलहरूलाई संवाद र वार्तामा फर्काउनेहरू उत्तरदायित्व बिर्सेका नागरिक समाज कसरी भए?

३० दलीय मोर्चाको १६ माघको प्रदर्शन रोक्ने विशेष प्रयास नभएको होइन। संविधानसभा स्थगनपछि अन्तरवस्तुमा खासै समस्या नभएकाले दुईचार दिनमै सहमति हुन्छ र आन्दोलन रोकिन्छ भनिएको पनि हो। यसै सन्दर्भमा नेता र दलहरू बीच विश्वासको संकट हटाउने सबै प्रयास निरन्तर भए र यो जारी छ। नागरिक समाज पनि परिवर्तनका सहयात्री भएबाट प्राप्त उपलब्धि रक्षा गर्ने जिम्मेवारी उसको समेत हो। नेपालीको अपनत्व बोकेको लोकतान्त्रिक र मानवअधिकार मैत्री संविधान जारी नभएसम्म नागरिकहरू निष्त्रि्कय भएर बस्न मिल्दैन र हुँदैन पनि भन्ने हाम्रो मान्यता छ। त्यसैले हाम्रो उत्तरदायित्व सकिएको छैन बरु अझ् थपिएको छ भन्ने स्पष्ट पार्न चाहन्छु।

चरण प्रसाई, काठमाडौं

comments powered by Disqus

रमझम