१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

निरन्तरता दिइयोस्

Share:
  

हिमाल (६–१२ वैशाख २०७२) मा चिनी सम्बन्धी प्राविधिक सूचनासहितको समाचारका लागि धन्यवाद। विश्वमा धेरै मान्छेको ज्यान लिने मुटु रोगको विषयमा अलग्गै रिपोर्ट बनाउनु उपयुक्त होला। खाद्य सम्बन्धी समाचारमा सहयोग गर्न हामी जहिल्यै तत्पर छौं। हिमाल ले यस्ता विषयमा निरन्तर कलम चलाइरहोस्।

हरिहर गुरागाईं, महासचिव

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ

सर्वसाधारण नेपालीले चिनीले निम्त्याउन सक्ने रोगबारे जान्न र बुझन आवश्यक छ। हामीले नबुझेर नै चिनी मार्फत भयावह रोगबाट ग्रसित भइरहेका छौं। त्यसैले सरकार र संघसंस्थाहरूले सचेतना कार्यक्रम दिनु जरूरी छ।

सूर्य सारु मगर, इमेलबाट

जमीन सार्वजनिक सम्पत्ति हो

'नेपाली झ्गडा जग्गामा' हिमाल (६–१२ वैशाख २०७२) रिपोर्ट पढें। जमीन सार्वजनिक सम्पत्ति हो। जमीन उपयोग गर्नेले मालपोत बुझ्ाउँछन्। भूमि व्यवस्थापन गर्ने सर्वाधिकार राज्यसँग हुन्छ। यो कुरा सर्वोच्च अदालतले समेत व्याख्या गरिदिएको छ। जमीनमा आफूले बढे/बढाएको मूल्य र उपयोगिताको मात्र हर्जाना पाइने हो। यसकारण सन्तान वा अंशियारका नाममा भूमि जाँदा तिनले बढी मालपोत तिर्नुपर्छ। मूल्य र उपयोगिता बढाउने काममा पत्नीको भूमिका सँगसँगैको हुने हुँदा उनले जमीन नामसारी हुँदा लाग्ने शुल्कमा बढी छूट पाउँछिन्। जमीनको मूल्य र उपयोगिता बढाउनमा जसको जति कम योगदान छ त्यसले त्यति नै कम छूट पाउँछ वा बढी शुल्क तिर्नुपर्छ। प्रगतिशील कर प्रणाली भएको हरेक राज्यमा यस्तो चलन छ। नजिकैको बंगाल राज्यमा यही व्यवस्था छ।

नेपालमा समाजवादी अथवा माओवादी। कुनै पनि पार्टीले एउटा प्रस्ताव ल्याउँदैन कि जल, जमीन, जंगल सबै सार्वजनिक सम्पत्ति हो। उपयोग गर्नेले उपभोगको अधिकार मात्र पाउँछन्। नजिर छ, नेपालका तमाम जंगल २००७ सालपछि राष्ट्रिय सम्पत्ति घोषणा गरियो र त्यसो गर्दा कौडी मुआब्जा दिइएन। राणाकालमा समेत चरिचरन, जंगल, बाटो र खानी सरकारी सम्पत्ति ठानिन्थ्यो। पञ्चायतकालमा राजाहरूले आफन्तलाई मनपरी जमीन बाँडे। बहुदल कालमा डोल र संरक्षित क्षेत्र बहुदलका कार्यकर्ता र नेताले हडपे। काठमाडौंको अनामनगर, बसुन्धरा जस्ता विशाल डोल क्षेत्र, राजढल, वागमती किनाराका हजारौं रोपनी जग्गा सित्तैंमा कब्जा मात्र गरिएन बरु, नापी गराएर लालपुर्जा समेत निकालियो। शहीद शुक्रराजलाई झुण्ड्याउँदाको फोटोमै देखिन्छ छेउमा वागमती बगिरहेको छ। अहिले त्यहाँ शुक्रराजलाई झुण्ड्याइएको रूखभन्दा दक्षिण ५–७ सय मिटर जमीनमा घना आवादी छ। विशाल भवन, आवास क्षेत्र, पसल, अस्पताल छन्। के छैन? कमलादीस्थित टुकुचा छेउको जमीन महेन्द्रले आफ्ना भारदारलाई बाँडे। त्यसको पश्चिमको जग्गा छोरीहरूलाई बाँडे। एक टुक्रामा प्रज्ञा–प्रतिष्ठान बसाले र थोरै लाज ढाके। तर बहुदल र गणतन्त्रकालीन नेताहरूलाई त्यति पनि लाज लागेको देखिएन।

सुबोधराज प्याकुरेल, इमेलबाट

लथालिङ्ग सुरक्षा

'सुरक्षामा नयाँ चुनौती' हिमाल (६–१२ वैशाख २०७२) पढें। योभन्दा ठूलो दुर्दशा के हुन सक्ला! हामी किन यति साह्रो लथालिङ्ग हुँदैछौं। नेता, मन्त्री, सभासद्हरूले क–कसलाई पर्खेको हो? यो समस्या कसको हो।

रोमनव राम, इमेलबाट

लोभ र बुद्धि हो मन्द विष

'चिनी मन्द विष' हिमाल (६–१२ वैशाख २०७२) रिपोर्ट पढ्दा १८ वर्षदेखि मधुमेह बोकेर हिंडेको ६३ वर्षे एक नेपालीको नाताले लाग्छ, चिनी नभई यसलाई खाने मानिसको लोभ र बुद्धि मन्द विष हो। चिनी ज्यानमारा हैन, बरु त्यही लोभी मानिस मन्द आत्महत्यारा हो।

उच्च रक्तचापको निम्ति विष नून र मधुमेहीको निम्ति विष चिनीले पानीसँग मिलेर संसारमा करोडौं मानिसको ज्यान बचाएको छ। संसारबाट ती दुई चिज झिकिदिऊँ त, के हुन्छ ? त्यसैले, रिपोर्टले समाजमा कस्तो संचार प्रवाह गर्छ, त्यसतर्फ पनि सोच्नु पर्‍यो। साथै, केमा कति चिनी? भन्ने चित्रसहितको तथ्यांकले के भन्न खोजेको, बुझिएन। कोष्ठकभित्रको अंक र बाहिरको रंगीन अंकको तालमेल के हो त्यो पनि बुझिएन।

जहाँसम्म मेरो अनुभव छ, मलाई मधुमेह भएको थाहा हुँदा सुगर लेवल ४००/२५० थियो। डाक्टर ध्रुवलालले खाटमा बाँधेर औषधि गर्ने भन्थे, तर मेरो प्रतिज्ञापूर्ण अनुरोधले त्यसो गर्नु परेन। आजसम्म इन्सुलिन पनि लिनु परेको छैन, सुगर कन्ट्रोलमै छ। उमेर अनुसार हिंडडुल र कामकाज गरेकै छु। खाना, व्यायाम र अन्य सन्तुलनका कार्य डाक्टरको भनाइ अनुसार गरेको छु। अर्को एक दशक मर्दिनँ भन्ने लाग्छ।

हिमाल को रिपोर्टमा डा. मिमी गिरीले भने जस्तै, चिनी शरीरका लागि अति आवश्यक तत्व हो, तर खान जान्नु पर्‍यो। अत्यधिक चिनी हुने वस्तुमा करको दायरा बढाउनुपर्छ। आइसक्रिम, कोकाकोला, फ्यान्टा जस्ता पदार्थमा त हदैसम्म कर तोक्नुपर्छ।

शुक्र सागर, कीर्तिपुर, काठमाडौं

comments powered by Disqus

रमझम