२४-३० जेठ २०७२ | 7-13 June 2015

विवेकीलाई सलाम!

Share:
  

'विवेकी पुस्ता' (१७–२३ जेठ) पढ्दा प्रचारमा गरिए जस्तो गरी हाम्रो देश खत्तम भइसकेको रहेनछ। देशभन्दा व्यक्तिगत स्वार्थमा भुलेको आरोप लागेका युवाले विपत्का बेला आफ्नो विवेक प्रयोग गरे। आपत्मा सहयोग त नेपाली संस्कृति नै हो। तर पछिल्लो समय राजनीतिक असफलताले निराश नेपाली समाजले बाटो बिराउन थालेको हो कि भन्ने आशंका गरिएको थियो। आवश्यक पर्दा एक हुने प्रवृत्ति फेरि एकपटक देख्न पाउँदा समाज विखण्डित भइसकेको रहेनछ भन्ने सन्देश फैलिएको छ।

हिमाल ले छापेका विवेकी युवाका कथा केही प्रतिनिधि उदाहरण मात्रै होलान्। भूकम्प प्रभावित क्षेत्रमा यस्ता धेरै विवेकी युवाको सक्रियताका कारण मात्र समाज अहिले तंग्रिन सम्भव भएको हो। स्वयंसेवा र सामाजिक काममा भोक–प्यास समर्पण गरेका विवेकी युवाको सत्कर्मलाई सलाम!

रिमा खनाल, इमेलबाट

गलत बाटोतिर राजनीति

'त्रासदीपछिको तरङ्ग' (१७–२३ जेठ) पढ्दा फेरि नेपाली राजनीतिले फोहोरी अनुहार देखाउला भन्ने त्रास उत्पन्न भयो। समाजले भोगिरहेको महाभूकम्पको विपत्ति सामनामा सबै पक्ष एक हुनुपर्ने समय हो, यो। यतिबेला राहत, पुनःनिर्माण र पुनर्स्थापनाको मुद्दालाई छोडेर सामान्य अवस्था झैं सरकार गठन/विघटनको खेलमा लाग्ने भूल गरिनुहुँदैन। दलहरूको चेत खुल्ने बेला यही हो।

विपत्तिपछि हुनसक्ने भूराजनीतिक चलखेल र त्यसले राष्ट्रलाई पुर्‍याउने असर रोक्न राष्ट्रिय राजनीतिमा प्रमुख हिस्सा ओगट्ने दलहरूबीचको समझ्दारी आवश्यक पर्छ। राष्ट्रिय सरकार गठनको बहसको सतहमा यस्तै आवश्यकता दर्साइएको भए पनि भित्र भने नेतृत्वका व्यक्तिगत आकांक्षा हावी हुन थालेको संकेत देखिंदैछन्। राष्ट्रिय सरकार गठनका नाममा विपत्ति बिर्साउने गरी स्वार्थसिद्ध गर्ने नेतृत्वको चाल भए राष्ट्रका लागि सबैभन्दा दुर्भाग्यपूर्ण हुनेछ।

हरि भट्टराई, इमेलबाट


सुरक्षित पर्यटनको प्रचार 'गोरखामा कम्पन पोखरा र लुम्बिनीमा असर' (१७–२३ जेठ) ले भूकम्पको भौतिक असर नदेखिएका ठाउँ पनि प्रभावित भएको देखाएको छ। समयमै सुरक्षित पर्यटनको प्रचार अभियान नचलाउने हो भने यसले मुलुककै आर्थिक विकासमा उल्लेख्य क्षति पुर्‍याउन सक्छ।

विश्व सम्पदा सूचीमा समावेश काठमाडौंका पुरातात्विक सम्पदा र सगरमाथा क्षेत्रमा भूकम्पले केही असर गरे पनि नेपालका अन्य पर्यटकीय क्षेत्र सुरक्षित नै छन्। पोखरा, लुम्बिनी, चितवन, मध्य र सुदूरपश्चिमका अन्य थुप्रै पर्यटकीय क्षेत्रमा पनि गोरखा भूकम्पले कुनै असर पुर्‍याएको छैन। यो कुरा नेपाल आउन चाहने विश्वभरका पर्यटकले थाहा पाउने गरी प्रचार गरिनुपर्छ। यसकार्यमा सरकारको मुख नताकी सम्बन्धित क्षेत्रका व्यवसायी तथा सरोकारवालाले अग्रसरता देखाउनुपर्छ।

दीपक शाही, इमेलबाट

अर्यालबारे गलत सूचना

आवरण रिपोर्ट (१०–१६ जेठ) 'यसरी बने ज्यानमारा घर' ले काठमाडौंका घरहरूबारे केही तीतो सत्य पाठकसामु ल्याइदिएकोमा हिमाल लाई धन्यवाद। तर, यसैबीच भूकम्पले क्षतिग्रस्त काठमाडौं, धापासी–८ स्थित मेरो घर र परिवारबारे तथ्यका नाममा गलत सूचना सम्प्रेषण भएकोप्रति भने आपत्ति प्रकट गर्दछु।

'छिमेकीको त्रास' शीर्षकमा घरधनीका रूपमा उल्लिखित रघुनाथ अर्याल भूकम्पलगत्तै अमेरिकाबाट नेपाल फर्केर क्षतिपूर्तिका लागि अग्रसर भएको भनिएको छ। भूकम्पबाट आफन्तसमेत गुमाएका हामीलाई यस्तो गलत सूचनाले मर्माहत बनाएको छ।

सत्य के हो भने उनी भूकम्पका बेला र अहिले पनि अमेरिकामै छन्। उनी अन्तिमपटक १४ मे २०१४ मा नेपाल गएका थिए। छोराछोरी र पत्नीलाई अमेरिका पठाई अर्याल एक्लै नेपाल बस्थे भन्ने कुरा पनि निराधार हो। तीन वर्षयता परिवारसहित अमेरिका आएका उनी एकाध पटक मात्र एक्लै नेपाल गएका हुन्। अर्यालले आफ्नो पेशाको बलमा छिमेकीलाई थर्काउने, धम्क्याउने गरेको भन्ने आरोप पनि निराधार छ।

मेधा अर्याल, हालः अमेरिका

comments powered by Disqus

रमझम