हिमाल (२७ असार–२ साउन) आवरण 'आशा जगाउने बाध्यता' पढ्दा बजेट जति आकर्षक देखिए पनि कार्यान्वयन नहुने हो भने अर्थहीन हुने विगतका अनुभवले देखाउँछ। भाषणभन्दा कामलाई प्राथमिकता दिइएका बजेट नै जनताको स्मरणमा छन्। घण्टौं लामो बजेट मन्तव्यले जनताको पेट भरिंदैन। यसका लागि बजेटले काम लाग्ने र गर्न सकिने कुरामा ध्यान दिनुपर्छ।
महाभूकम्पका कारण भएको जनधनको क्षतिले हामीलाई धेरै वर्ष पिरोल्न सक्छ। यतिवेला पुनःनिर्माणमा जोड नदिए देश अझै पछाडि धकेलिन्छ। त्यसैले बजेटमा पुनःनिर्माणका लागि विनियोजित रकम र प्रतिबद्धता कार्यान्वयन गरिनै पर्छ। भ्रष्टाचारीलाई कारबाहीको भागीदार बनाइयोस्। अन्यथा 'हात्ती आयो, हात्ती आयो फुस्सा' भने झैं हुनेछ।
विकास थापा, खैरेनी, तनहुँ
हामीलाई नसुहाउने हिंसा
'यार्सा टिप्ने निहुँमा वन्यजन्तु शिकार' (२७ असार–२ साउन) पढें। वन्यजन्तु सिध्याउन खोज्नेलाई कडा भन्दा कडा कारबाही गर्नुपर्दछ। धनी, गरीब जो भए पनि मानिस मासु नखाई बाँच्न सक्छ। आफू बाँच्नका लागि अरूको ज्यान लिनु राम्रो होइन। बुद्ध जन्मेको देशमा यस्तो हिंसा सुहाउने कुरा होइन।
जीन लि, इमेलबाट
भर्पाइ खै?
भूकम्प पीडितका नाममा आएको करोडौं रकम घोटाला सम्बन्धी (२७ असार–२ साउन) 'त्रिपाल खरीदः भूकम्पमा भ्रष्टाचार' समाचारले आक्रोशित बनायो। भूकम्पमा राम्रा जति टेन्ट, पाल, जुस, बिस्कुट, सोलार, जेनेरेटर लगायत धेरै राहत सामग्री बाँड्ने मान्छेले नै लुकाए, पीडितले पाएनन्। वितरण गरेको पालको भर्पाइ मात्रै माग्ने हो भने पनि भ्रष्टाचार कति भएको छ थाहा हुनेछ।
शंकरदेव शर्मा, इमेलबाट
सशस्त्रलाई सीमा सुरक्षा
'सुरक्षामा नयाँ संकट' (२७ असार–२ साउन) पढ्दा लाग्यो सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाए राम्रो हुन्छ। 'धेरै बिराला भए भने मुसा मार्दैनन्' भने झैं एउटै कामका लागि दुइटा सुरक्षा निकाय हुँदा समस्या बढ्छ। सीमामा राखे देशको सुरक्षा पनि हुन्छ, विवाद पनि हुँदैन।
केशव लिम्बू, इमेलबाट
व्यर्थको विवाद किन?
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको अन्तर्वार्ता 'निःशुल्क भिसा र टिकटको विकल्प छैन' (२७ असार–२ साउन) मा व्यक्त विचार व्यवहारमा लागू हुनुपर्छ। म्यानपावर व्यवसायीका पनि आफ्नै समस्या होलान्। तर सरकारले जनताको हितमा काम गर्ने हो। गरीब युवा निःशुल्क वैदेशिक रोजगारीमा जाने अवसरको विरोध गर्नुहुँदैन। व्यवसायीले आम्दानीको कुरा गर्दा अरूको अधिकार खोस्न मिल्दैन।
तर व्यवसायीले भने जस्तै निःशुल्क भिसा र टिकट आउने अवस्था नै छैन भने चाहिं सरकार गम्भीर हुनुपर्छ। आरोप–प्रत्यारोप भन्दा पनि छलफलबाटै समस्याको हल खोजे राम्रो हुनेछ।
सुनिता पछाई, चाबहिल, काठमाडौं
अचानोको चोट
'मेरो मर्जी' को विपक्षमा' (२७ असार–२ साउन) को शेखर खरेलको विचारमा पूरापूर सहमत हुन सकिंदैन। लेखमा बलिउड अभिनेत्री दीपिका पादुकोणको 'मेरो मस्तिष्क, मेरो शरीर, मेरै मर्जी; विवाहअघिको यौन वा विवाह बाहिरको यौन वा यौनको परहेज मेरै मर्जी; पुरुष मन पराउनु वा महिला वा दुवै मेरै मर्जी' भन्ने सन्दर्भ उल्लेख गरेका छन्। यसको पक्ष र विपक्षमा आ–आफ्ना तर्क र धारणा आउनु अस्वाभाविक होइन। तर अचानोको चोट खुकुरीलाई के थाहा! भने जस्तै महिला स्वतन्त्रताका विषयमा महिलाकै धारणा आधिकारिक हुन्छ जस्तो लाग्छ। तर, यो लेखले नयाँ बहसका लागि मार्गप्रशस्त भने गरेको छ।
क्रिशु थापा, पोखरा
युवाका लागि माछा व्यवसाय
'नीतिले बढायो माछापालन' (२७ असार–२ साउन) ले हौस्यायो। रोजगारका लागि लाखौं युवा विदेशिएका वेला पहाड र तराईका गाउँमा माछापालन अभियान फस्टाएको छ। माछापालनबाट युवाहरूले रोजगारी पाएका छन्, यो खुशीको कुरा हो। तर, त्योभन्दा पनि महवत्पूर्ण कुरा नेपालीले विदेशीको मुख ताक्नु परेको छैन। एक पटकको लगानीले वर्षौं आम्दानी दिइरहने माछा व्यवसायका लागि पूर्वाधारसहित बजार संयन्त्रको विकासमा जोड दिनुपर्दछ। यति गर्न सके माछा व्यवसाय समृद्धिको गतिलो आधार बन्न सक्छ।
अमोल श्रेष्ठ, लगनखेल, ललितपुर