हिमाल (३–९ साउन) को आवरण 'कान्तिहीन बजेट, क्रान्तिकारी कृषि' पढें। वीरेन्द्रबहादुर बस्नेतको कदम स्वागतयोग्य लाग्यो। यान्त्रीकरण नै कृषिको मेरुदण्ड हो। जनशक्तिको भरमा गरिने परम्परागत कृषिले रैथाने प्रजाति र विधि जोगाउन त सक्ला तर बजार सम्बोधन गर्न सक्दैन। पसिना बगाएर मात्र खेती हुन्छ भन्ने मान्यता यान्त्रीकरणबाट विस्थापित हुँदैछ। र, यही देशको आवश्यकता पनि हो।
विकसित देशहरूमा कृषिमा ३ देखि ५.७५ प्रतिशत जनसंख्या मात्रै सहभागी हुन्छन्। तर, पनि उनीहरू आत्मनिर्भर हुन्छन्, निर्यात गर्न पनि भ्याउँछन्। तर जनसंख्याको ७० प्रतिशत जति कृषिमा लागेका नेपालीका लागि कृषिजन्य उत्पादन नै आयात गर्नुपर्ने अवस्था छ। यसको मुख्य कारण कृषिमा यान्त्रीकरण नहुनु हो। वीरगञ्जमा कृषि औजार कारखाना थियो।
तर, हाम्रो व्यवस्थाले त्यसलाई पनि बाँकी राखेन र कृषिलाई हलो, जुवा, कुटो, कोदालोमै सीमित पार्यो।
कृषिमा आम्दानी कम र परिश्रम ज्यादा भएपछि युवा विदेशिए र देशको आर्थिक आधार नै रेमिट्यान्स बन्दो छ। त्यही रेमिट्यान्सको पैसाले खानेकुरा नै आयात गर्दैछौं। पैसा त फेरि विदेश नै पुग्दैछ। त्यस अर्थमा पनि बस्नेतको कदम सराहनीय र प्रेरणादायी पनि छ।
डिल्ली, इमेलबाट
सबैको रगत रातो
म पनि हिन्दू हुँ। हिन्दूका कतिपय आस्था, विश्वास र पर्वले हामीलाई एकताबद्ध गराउँछ। दलित जातिमाथिको कुसंस्कार र दमनले चाहिं हिन्दूवादीको हैसियतमाथि प्रश्न उब्जाउँछ। काटे सबैको रगत रातो आउँछ। हामी सबै नेपाली हौं। धर्म र जातको राजनीति छोडौं।
झिल्के नेपाली, इमेलबाट
नागरिकताको व्यवस्था ठीक
संविधानको मस्यौदामा नागरिकताबारे अहिलेकै व्यवस्था ठीक छ। 'र' को ठाउँमा 'वा' गर्दा विदेशीहरू नागरिकता मात्रको लागि नेपाली चेलीसँग विवाह गर्दछन्, जसले एक दिन देश नै सखाप पार्छ। विदेशीसँग बिहे गरेका केही नेताहरूको इशारामा देश बर्बाद नहोस्।
मनोज साह, इमेलबाट
प्रधानमन्त्रीको हस्तक्षेप चाहियो
भूकम्पपीडितका लागि आएको त्रिपालमा समेत भ्रष्टाचार भएको समाचार 'भूकम्पमा पनि भ्रष्टाचार (२७ असार–२ साउन)' पढेपछि शहरी विकास मन्त्रालयको हविगत थाहा भयो। यसमा प्रधानमन्त्री सुशील कोइरालाले नै हस्तक्षेप गर्नुपर्छ र त्रिपाल प्रकरणमा भएको तथ्य सार्वजनिक गर्नुपर्छ। लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सक्रिय भए दोषी उम्कन सक्दैनन्।
रोमराज शर्मा, इमेलबाट
रोकौं ५०० करोड
'प्रतिस्पर्धी निषेधमा ५०० करोड' (३–९ साउन) राम्रो लाग्यो। सभासद्लाई करोडौं बजेट दिएमा जिल्ला–जिल्लामा बेथिति बढ्नेछ। भ्रष्टाचार संस्कृति बन्नेछ। त्यसैले यसलाई वेलैमा रोक्न जरूरी छ।
नोदनाथ त्रिताल, इमेलबाट
यसकारण हार्यो नेपाल
आईसीसी टी–२० छनोट प्रतियोगितामा नेपालको लज्जास्पद हारमा यी कारण हुनसक्ने मेरो बुझाइ छ।
– ब्याट्सम्यानहरू क्रिजमा टिक्न नसक्नु।
– ब्याटिङमा आत्मविश्वास नहुनु।
– एक, दुई विकेट खसेपछि टीम नै दबाबमा आउनु।
– ब्याटिङ कोच नहुनु।
– अभ्यासका लागि रंगशाला नहुनु।
– क्यानमा राजनीतिक खिचातानी हुनु।
– प्रशिक्षकको लापरवाही।
माबूले कान्छा, इमेलबाट