अति भो हस्तक्षेप

Share:
  

हिमाल (१६–२९ पुस) मा प्रकाशित 'सामाजिक अनुसन्धान'सम्बन्धी रिपोर्टले प्रगतितर्फ आँखा चिम्लिएको नेपाली समाजलाई दिशानिर्देश गर्न प्रेरित गरेको छ।   
अन्यत्र जस्तै प्राज्ञिक क्षेत्रमा बढ्दो हस्तक्षेपले सिंगो शैक्षिक क्षेत्र कार्यकर्ता भर्ती केन्द्र बनाउनु मुलुककै लागि दुर्भाग्य हो। नेताहरूलाई एउटै आग्रह छ कम्तीमा अध्ययन/अनुसन्धानको क्षेत्रलाई राजनीतिबाट मुक्त राखिदेऊ। हिजोआज हुने गरेका सतही गफ र तथ्यहीन तर्कबाट मुलुकलाई जोगाउन पनि गहन अध्ययनको खाँचो छ। जसका लागि प्राज्ञिक क्षेत्रलाई हस्तक्षेपमुक्त बनाउनै पर्छ।  
विवेककुमार मरासिनी
मालेपाटन, पोखरा   

 
प्रधानमन्त्रीको अंकमाल  
हिमाल (१६–२९ पुस) मा प्रकाशित 'हिंस्रक राज्य' पढेपछि कुन चाहिं स्वाभिमानी नेपालीको  मन नरोला? रोजगारीको सिलसिलामा वर्षौं विदेशी भूमिमा बस्दा नभोगेको पीडा मातृभूमिमा पाइला टेक्नासाथ सरकारी अधिकारीबाट सीता राईले भोग्नु परेको समाचार पढ्दा लाग्छ मुलुक सरकारविहीन अवस्थामा छ। अझै डरलाग्दो पक्ष त पर्शुराम बस्नेत र सोमनाथ खनाल जस्ता खलनायकलाई भट्टराई सरकारले कानूनी दायरामा ल्याउनुको साटो अंकमाल गरेको छ।  
दोषीमाथि सजाय नहुने हो भने अपराधीको मनोबल बढ्ने छ। उनीहरूमाथि कडा कानूनी कारबाहीका लागि दबाब सिर्जना गर्नै पर्छ।    
विकास क्षेत्री  
रामपुर, चितवन  

 
चपसेलाई पनि कारबाही!  
हिमाल (१६–२९ पुस) मा मदिरा सेवन गरेर सवारी चलाउनेको संख्या घटेको ट्राफिक प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालको भनाइ पढ्दा खुशी लाग्यो। तर मापसे चेकका नाममा चकलेट र रेडबुल खाएकालाई पनि कारबाही गर्नु चाहिं राम्रो होइन। अल्कोहल भएकै चकलेट खाएको रहेछ भने पनि त्यस्तालाई सजाय गर्न मिल्दैन। अल्कोहल सेवन हो कि अन्य खाद्य पदार्थ छुट्याउने काम ट्राफिक प्रहरीको हो, चालकको होइन।
सुन्दर गिरी
नयाँबजार, काठमाडौं  

 
मन खिन्न भो  
हिमाल (१६–२९ पुस) मा प्रकाशित 'कानून मात्र नदेऊ' सान्दर्भिक लाग्यो। आमाको नामबाट नागरिकता पाउने कानूनी व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन नहुनु दुःखपूर्ण हो। आमाको नाममा नागरिकता दिने विषयलाई गम्भीरतापूर्वक लिनु पर्दछ। कानून बनाउने अनि कार्यान्वयन नगर्नु घातक प्रवृत्ति हो। आमाको नाममा नागरिकता दिलाउने विषयलाई महिला अधिकारकर्मीको मुद्दामा सीमित नराखौं।   
तारा रोका
थवाङ, रोल्पा  

 
सबैका कवि
हिमाल (१६–२९ पुस) मा प्रकाशित मिथिलाञ्चलका पहाडी कविले एकता र सद्भावको सन्देश दिएको छ। स्वार्थी नेताहरूले पहाडी र मधेशी भनेर विभाजित गर्न खोजेको समाजलाई चन्द्रशेखर उपाध्यायहरूले जोडेका छन्। नेपाली, संस्कृत, मैथिली र हिन्दी भाषामा उनले आफ्ना भावना मात्रै पोखेका छैनन् बरु ती सबै भाषीलाई एकताको सूत्रमा बाँधेका छन्।  
 कौशल साह
विराटनगर 

सीता राईले वर्षौं विदेशी भूमिमा बस्दा नभोगेको पीडा मातृभूमिमा पाइला टेक्नासाथ सरकारी अधिकारीबाट भोग्नु पर्‍यो।  
– विकास क्षेत्री, चितवन

थप केही कुरा
 
हिमाल (१–१६ पुस) मा प्रकाशित तामाङ भूमि छैन भन्नु युक्तिसंगत हुँदैन भन्ने मेरो प्रतिक्रियामा 'ता' भनेको भोटेली भाषामा 'बाघ' र तामाङ भाषामा 'च्येन' वा 'गोठ' मा बसेर भन्नुपर्दा च्येन नभनेर 'म्हाङ' भन्ने गरिन्छ हुनुपर्नेमा अन्यथा भएकोमा स्पष्ट पार्न चाहन्छु। घोडालाई भोटेली र तामाङ भाषा दुवैमा तग् वा तबुः भनिन्छ। तामाङहरु श्यार (पूर्व), नुप (पश्चिम), ज्याङ (उत्तर) र ल्हो (दक्षिण) तथा हिमाल, पहाड र तराईमा बसोबास गरे पनि सामाजिक रूपमा सबैले समान जातीय हैसियत राख्दछन्। तामाङमा पानी नचल्ने भन्ने हुँदैन। विजातिसँग विवाह गर्‍यो भने केटालाई भए गाउँ निकाला गरिन्थ्यो र दाजुभाइसँग उसको मुख (जुठो) चल्दैन। केटीले विवाह गरेर अन्य जातसँग गएमा उसका दाजुभाइले गाउँकै केटी विवाह गर्न कठिन हुन्छ। जात त पतीत हुँदैन तर समाजमा एकै ठाउँमा बसेर दाजुभाइ वा साथीसँग चाँदीको कचौरा (म्वीश्यो/ङुल्श्यो) मा रक्सी वा थालमा अन्य खानेकुरा खान पाउँदैन। यसलाई सुङ वा च्यिबु चलअतिबा (मुख/जुठो) चल्दैन भनिन्छ। 

डा. ढुंगेलले लेखेजस्तै तमाङ लेख्नु वा उच्चारण गर्नु शुद्ध हो। बौद्धिक तर जातीय भाषाको अल्पज्ञानी बहुसंख्यकले तामाङ लेखेर सोही अनुसार बोल्न थालेकाले ताम्सालिङ शुद्ध नभएको हो। ताम्सा शब्दले कुनै अर्थ दिंदैन। लिङ भन्नाले बजार, शहर, गुचुमुचु वा टोलैटोल भन्ने जनाउँछ। ताम्सा र लिङ जोडेर ताम्सालिङ भएको हो।  
फुर्पा तमाङ, अधिवक्ता  
ठूलोभार्खु, रसुवा

comments powered by Disqus

रमझम