१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

पहिले देश

Share:
  

हिमाल आवरण 'भोटब्याङ्क संविधान' (६–१२ भदौ) रोचक लाग्यो। यसले कसको र कस्तो स्वार्थ अन्तर्गत संविधान आउँदैछ भन्ने कुरा प्रष्ट्याएको छ। संघीयताको खाका प्रस्तुत गरेका कांग्रेस, एमाले र एमाओवादीलाई मात्र होइन विरोधी मधेशी मोर्चालाई पनि संविधान चाहिएको छ। फरक यति हो कि उनीहरू आ–आफ्ना भोटब्याङ्क सुरक्षित हुने खालको संविधान चाहन्छन्। राजनीति गरिरहेका नेताहरूले भविष्यमा चुनाव जित्ने चाहना राख्नु नराम्रो होइन। तर, संविधानमा मतको लालसा राख्नु उचित होइन किनभने देश राजनीति र नेताभन्दा माथि हुन्छ।

भोलिको चुनावमा आफ्नो स्वार्थ प्रकट हुने गरी प्रदेश संख्या र सीमांकन तोकिनु गलत हो। प्रमुख दलका नेताहरूको समर्थन रहेको भनिएको अखण्ड सुदूरपश्चिम, झ्ापा, मोरङ र सुनसरी जिल्लाको बहसमा भोटको राजनीति जोडिएकोमा दुईमत हुन सक्दैन। त्यति मात्रै होइन मधेश प्रदेशको मागदेखि अञ्चल, जिल्ला वा क्षेत्र टुक्र्याउनु नहुने तर्क पनि चुनाव जित्ने चाहनासँग जोडिएको छ। संविधान बन्दा नेता होइन देशको हित हेरियोस्।

कल्याण खड्का, गजुरी, धादिङ

छिटो देऊ संविधान

'सम्पादकीय' (६–१२ भदौ) मा भनिए झैं संविधान जारी गर्न ढिला गरिनुहुँदैन। ८ वर्षदेखि सबैको ध्यान संविधानमै केन्द्रित छ। संक्रमणकाल लम्बिएकै कारण हिंसाका घटना भइरहेका छन्। जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न समेत संविधान अपरिहार्य छ। संविधानले नै स्थायी शान्ति र स्थायित्व दिन सक्छ। सकेसम्म सबैको आवाज समेट्ने गरी संविधान ल्याउन ढिला गर्नुहुन्न।

उत्तर थापा, मालेपाटन, पोखरा

अटिजम्मा सीपको महत्व

'सीपबाट आत्मनिर्भर' (६–१२ भदौ) ले मन छोयो। मस्तिष्कको नसा र तन्तु विकासमा देखिने जन्मजात खराबीबाट अटिजम् हुन्छ भन्ने नै थाहा थिएन। यसलाई डाक्टरी भाषामा के भनिन्छ भन्ने कुराभन्दा पनि रोगबाट सताइएकाहरूलाई पुनर्स्थापनाको उपाय दिनु मह140वपूर्ण पक्ष हो। सीप, तालीम सबैका लागि चाहिने कुरा हो। तर अटिजम्का बिरामीले यसबाट विशेष फाइदा लिन सक्ने रहेछन्। विशेष कक्षा, परामर्श र तालीमलाई व्यापक बनाउन सके रोगले सताए पनि जीवनलाई अगाडि बढाउन उनीहरूलाई हौसला मिल्नेथियो।

अरुण कार्की, भरतपुर, चितवन

दुःख बिर्साउने तस्वीर

'नयाँ युग, नयाँ मान्छे' (६–१२ भदौ) पढ्दा र फोटो हेर्दा १२ वैशाखको महाभूकम्पको याद आयो। हजारौंको ज्यान लिएको र लाखौं बेघर बनाएको विपत्को घाउ अझै पुरिएको छैन। यसका लागि एकापसमा सहयोगी बन्नुको विकल्प छैन। भूकम्पको पीडामा नपरेकाले परेकाहरूप्रति सहयोग र सहानुभूति देखाउनुपर्छ।

नयाँ मान्छे मुस्कुराइरहेको फोटो हेर्दा निराशाको बादल फाट्यो। महाभूकम्पले दिएको दर्द कम भएजस्तो लाग्यो।

गीता शर्मा, इमेलबाट

रोचक सर्वेक्षण

हिमाल सर्वेक्षणको नतीजा र विश्लेषण नियालें। सबै पढिसकेपछि जनता अहिले के सोचिरहेका छन् भन्ने बुझियो। ६–१२ भदौमा प्रकाशित 'तत्कालको असन्तुष्टि' पढ्दा बढ्दो महँगी, बेरोजगार र भ्रष्टाचार नै मुलुकका मुख्य समस्या रहेको देखियो। भोकाएकालाई खाना नै पहिलो प्राथमिकतामा परे झैं देशमै रोजगार पाउनु अहिलेको प्रमुख आवश्यकता हो।

सर्वेक्षणमा एउटा रमाइलो तथ्य पनि देखियो। पहाड र तराई दुवैमा संविधान निर्माणप्रतिको चासो उत्तिकै रहेछ। ३६ प्रतिशत पहाडवासी र ३५ प्रतिशत मधेशी समुदायले संविधान नबन्नु नै प्रमुख समस्याको रूपमा लिएका रहेछन्।

रुमबहादुर सोती, इमेलबाट

comments powered by Disqus

रमझम