२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

विनाशकाले विपरीत बुद्धि

Share:
  

देशको भौगोलिक विविधताको सकारात्मक प्रभाव पर्यटन व्यवसायमा परेको छ। भूकम्पले थुप्रै सांस्कृतिक धरोहर ढालिदिए पनि प्राकृतिक सौन्दर्य भने बाँकी नै छ, यस्तो वेला नेपाल बन्द गरिनु विडम्बना हो। 'आउन देऊ पर्यटकलाई' (२०–२६ भदौ) पढेपछि बन्दका कारण चाहेर पनि पर्यटक आउन नसकेको थाहा पाउँदा दुःख लाग्यो।

विकास पर्खिरहेको हाम्रोजस्तो देशले जसरी हुन्छ पर्यटक सकेसम्म बढी भित्र्याउनुपर्छ। उनीहरू यहाँ आए पो देशलाई फाइदा हुन्छ। तर, यहाँ त 'विनाशकाले विपरीत बुद्धि' भने झैं भइरहेको छ। राजनीतिक मुद्दा सल्ट्याउन सर्वसाधारण जनतालाई दुःख दिने काम बन्द गरिनुपर्छ। उद्योग, कल–कारखाना, यातायात र समग्र नेपाल बन्द गर्न नपाइने प्रावधान संविधानमा लेखियोस्।

नविना कोइराला, इमेलबाट

कुरा सुनौं, संविधान बनाऔं

१४ जेठ २०६९ मा संविधान नै नबनाई संविधानसभा विघटन गरियो। त्यो वेला चलखेल हुँदा कसैले ठूलो स्वर गरेन। अहिले चाहिं आफ्ना अनेक माग लिएर आन्दोलन गरिंदैछ। जनभावनाको कदर गर्छौं भन्दै आफ्नै स्वार्थ पूरा गर्ने दाउमा छन् सबै। मधेशी दलका माग जायज छन् भने त्यसतर्फ ध्यान दिनैपर्छ। अब मधेशी जनता पीडा सहेर बस्ने अवस्थामा छैनन्, विद्रोह गर्नेछन्। जनविद्रोह भयंकर र पेचिलो हुन्छ। त्यसैले अहिले आन्दोलनलाई बिर्सिएर सबै दल संविधान निर्माणमा सहभागी हुनुपर्छ।

बुधराज लिम्बू, विष्णु थापा, इमेलबाट

विरोधको स्वरुप बदल

'अन्तिम बनोस् अनशन' (२०–२६ भदौ) ले मन छोयो। यो कुनै अचूक उपाय लागेन, डा. गोविन्द केसी अनशन बस्दै जाने सरकार सम्झौता तोड्दै जाने। यो कति पटक दोहोरिने हो? अब विरोधको स्वरुप बदल्नु पर्‍यो। विकल्प खोज्नु पर्‍यो। कि डा. केसीले देशमा स्थिरता नआउँदासम्म यसलाई स्थगित नै राख्नुपर्‍यो। यो सरकारसँग सम्झौता र सहमतिको कुनै औचित्य देखिएन। किनभने यहाँको मेडिकल माफिया सरकारभन्दा धेरै बलियो देखियो।

पारु लिम्बू, इमेलबाट

ह्वीपको विपक्षमा

'ह्वीप नमाने दल त्याग' (२०–२६ भदौ) गराउनु निन्दनीय हो। कांग्रेस, एमाले, एमाओवादी जे भने पनि यिनीहरूको एउटै उद्देश्य छ– देशमा ब्राह्मणवाद हावी गराउने। यिनीहरूले ह्वीप जारी गरेर देशमा फेरि पनि अर्को निर्दलीय शासन लाद्न खोज्दैछन्। यसको विरोध गरौं। यस्ताले निर्देशन गरेको पार्टीमा बस्नुभन्दा पार्टी छोडी जनतामा आउनु बेस।

बालकुमार राई, इमेलबाट

प्रेरणादायक

समृद्धि र सम्भावना अन्तर्गत यसपालि बडो प्रेरणादायक लेख पढ्न पाइयो। 'फालाफाल स्रोत' (२०–२६ भदौ) ले नेपालमा केही पनि छैन, केही पनि हुँदैन भन्नेहरूलाई झ्स्का दिन्छ। रिट्ठोदेखि श्रीखण्डसमेत उत्पादन गर्न सकिने वातावरण हुँदाहुँदै पनि हामीले आफूमा भएको सुगन्ध चिन्न सकिरहेका छैनौं।

सरकारले 'एक जिल्ला एक उत्पादन' को नीतिलाई फुर्तीसाथ लागू गर्नुपर्छ। प्रत्येक जिल्ला केही न केही उत्पादनका लागि उत्तम छन्। जुम्लाको घुमचौर जिउलोमा अन्यत्र नपाइने जुम्ली मार्सी धान फल्छ भने लसुनका लागि सल्यान प्रख्यात छ। देशका ७० जिल्लामा च्याउ खेती भइरहेको छ। पशुपालनबाट पनि मनग्य कमाउन सक्छौं। मौरी, माछा, गाई, बाख्रा पालेर वर्षको लाखौं कमाइ गरिरहेका किसान हाम्रै गाउँ–समाजमा छन्। उनीहरूबाट हामीले पाठ सिक्ने वेला आएको छ।

धनराज खड्गी, इमेलबाट

धर्म होइन कर्म

धर्मका विषयमा अनेक तर्कबाजी भइरहेका वेला 'धर्मनिरपेक्षताको तय बाटो' (२०–२६ भदौ) पढ््न पाइयो। गाउँ, शहर वा राष्ट्रको निश्चित धर्म हुँदैन। नेपालमा अधिकांश हिन्दू धर्मावलम्बी भए पनि पहिचानका लागि हिन्दू राष्ट्र कायम गर्ने माग सुन्दा आश्चर्य लाग्छ। पहिचान त कर्मले बनाउनुपर्छ।
सबै जात, धर्मलाई समान व्यवहार गर्ने हो भने देशलाई धर्मनिरपेक्ष नै कायम राख्नुपर्छ। साथै, प्रदेशको नामांकनमा पनि जातीय गन्ध मिसाउनुहुँदैन। हिजोका दिनमा जे गल्ती गरियो त्यसलाई दोहोर्‍याउने कुचेष्टा नगरौं।

आलोक शाह, इमेलबाट

'धर्मनिरपेक्षताको तय बाटो' (२०–२६ भदौ)पढें। जनताको मतको कदर नहुने अर्थात् बढी नम्बर ल्याउनेले पहिलो स्थान नपाउने यो कस्तो किसिमको लोकतन्त्र अनि गणतन्त्र हो त? हाम्रो बन्ने नयाँ संविधानले रमी (तास) को नियमलाई पालना गर्दै बनाए जस्तो लाग्यो। किनभने रमीमा पनि कम नम्बर हुनेले पैसा पाउँछ।

तास खेलको कुनै नियम हुँदैन भन्छन्। खेलाडीले जे नियम बनाएर खेल्यो त्यही नै मान्य हुन्छ। चार जनाले रमी खेल्दाखेल्दै गच्छदार गेममा धाँधली भयो भनेर, गेम नै नसिध्याइ उठेर हिंडे। गच्छदारले तीन जना मिलेर मलाई रित्याउने खेल खेले भन्ने आरोप समेत लगाए। गेम हारेको पीडामा हिजो गोहीका आँसु पनि झ्ारे। यहाँ भन्ने एक गर्ने अनेक। अरू जे जस्तोसुकै भए पनि रमी खेल्नेहरुले यो संविधानलाई मान्यता दिनै पर्छ र खेल्न जाने वेलामा त्यसलाई छोएर गएपछि खेलमा आफूले जित्ने प्रबल सम्भावना रहन्छ।

केशव पौडेल, इमेलबाट

comments powered by Disqus

रमझम