३-९ असोज २०७२ | 20-26 September 2015

संविधानपछि समृद्धि

Share:
  

'प्रक्रियामाथि प्रकोप' (२७ भदौ–२ असोज) पढ्दा संविधान बन्न नदिन आन्तरिक र बाह्य शक्तिको चलखेल छर्लङ्ग हुन्छ। हिंसात्मक आन्दोलन र बाह्य शक्तिको दबाबले संविधान प्रक्रिया नै अवरुद्ध पार्नेसम्मको स्थिति देखियो। तर, यावत् अवरोध विफल पार्दै संविधानसभाको भारी मतले नयाँ संविधान पारित गरेको छ, यो नेपालीका लागि खुशीको विषय हो।

मुलुकले नयाँ संविधान त पाएको छ तर एउटा पक्ष बाहिरै राखेर बनाइएको संविधानले सफलता नपाउने कुरा पनि सुनिंदैछ। त्यसैले संविधान निर्माण प्रक्रियामा सामेल नभएका पक्षको माग पनि सम्बोधन गर्नुपर्ने देखिन्छ। संविधान संशोधन गरेरै भए पनि जायज माग पूरा गर्नेतर्फ दलहरू लाग्नुपर्छ। यसो गर्न सके संविधानले मुलुकलाई जनचाहना अनुरूप समृद्धितर्फ डोर्‍याउन सक्नेछ।

केशव गौतम, इमेलबाट

परिवर्तनकारी संविधान 'बोक्छ परिवर्तन' (२७ भदौ–२ असोज) ले नयाँ संविधानले मुलुकमा परिवर्तन ल्याउन सक्ने आधार प्रस्तुत गरेको छ। संविधानले सबै समुदायको शतप्रतिशत माग समेट्न नसके पनि २०६२/६३ को जनआन्दोलनका अधिकांश मुद्दा सम्बोधन गरेको छ। सबैका शतप्रतिशत माग कहीं/कहिल्यै पनि पूरा हुन सक्तैनन्। सबैको सबै कुरा सुन्न खोज्दा अघिल्लो संविधानसभा विघटन भएको यथार्थ पनि हामीले भुल्नुहुँदैन।

मधेशी, दलित, थारू, आदिवासी जनजाति, महिला लगायतले आफ्ना माग पूरा नभएको भन्दै विरोध जनाए पनि दुईतिहाइ बहुमतबाट पारित यो संविधानले जनआन्दोलनका धेरै मुद्दा संस्थागत गर्नेछ। नयाँ संविधानलाई सबैले स्वागत गरौं।

प्रमोद कायस्थ, इमेलबाट

निःशर्त नेपाली मधेशी

'स्वपीडा' (२७ भदौ–२ असोज) पढेपछि लाग्यो, मधेशको राजनीतिक घटनाक्रम त्यही अनुसार भइरहेको छ। आन्दोलनका क्रममा मधेशमा भएका अधिकांश हिंसाका घटना प्रायोजित छन् भन्नेमा शंका छैन। मधेशीहरू दक्षिणी सीमापारबाट आएका भाडाका गुण्डाहरूबाट वर्षौंदेखि पीडित छन्। मधेशको स्थानीय राजनीतिमा या त जमिनदारको हालीमुहाली छ या पारिबाट आएका पाहुनाको।

वास्तविकता के हो भने सीमाका बाँधले घरखेत डुबाउँदा पीडामा पर्ने मधेशी नै हुन्। भारतीयको हेपाइ सहेर पनि उनीहरू भावनामा 'नेपाली' हुन पाएका छैनन्। हृदयभित्र अथाह राष्ट्रप्रेम बोकेका यी नेपाली छिमेकी पाहुना र राज्यसंयन्त्र दुवैबाट हेपिएका छन्। यति कुरा बुझेका मधेशी जनता वेलैमा सचेत हुनु जरूरी छ।

डिल्ली, इमेलबाट

लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गरिनुपर्छ। तर, मुलुकमा शान्तिपूर्ण आन्दोलनका नाममै हिंसा भइरहेको छ। मर्ने–मार्ने खेलले नेपालीलाई गहिरो पीडा दिएको छ। पश्चिममा प्रहरी, पूर्वमा सर्वसाधारण मारिए पनि दुख्ने त नेपालीलाई नै हो। बुद्ध जन्मिएको देशमा हिंसा हुनु बिडम्बना हो। त्यसैले आन्दोलनकारी र प्रहरी दुवै संयम बनौं, कल्याण यसैमा छ।

पुण्य, इमेलबाट

वाह्! सोमपाल

'गुल्मी एक्सप्रेस' (२७ भदौ–२ असोज) मार्फत पेस बलर सोमपाल कामीबारे यथेष्ट जानकारीका लागि साधुवाद! आशालाग्दा सोमपालको बलिङ क्षमता त टी–ट्वान्टी इन्टरन्यासनलमा उनी संसारकै बलरमध्ये ८२औं स्थान रहेबाटै प्रमाणित हुन्छ।

राष्ट्रिय टोलीका सबैभन्दा तीव्र गतिका बलरको पहिचान बनाएका सोमपाल नेपाली क्रिकेटसँग जोडिएको दुई वर्ष मात्रै भएको रहेछ। छोटो अवधिमा उनको प्रदर्शन गर्वलायक छ। बलिङका साथै ब्याटिङमा पनि उनले क्षमता देखाएका छन्। सोमपाल जस्ता खेलाडीलाई हौसला प्रदान गर्नु क्रिकेटप्रेमी र सरकारको दायित्व हो। खेलाडीको संरक्षण गरौं, राष्ट्रको गौरव बढाऔं।

प्रवेश थापा, काठमाडौं

सद्भाव सूत्र

'सद्भाव भन्ने चिज बाघको दूध होइन' (२७ भदौ–२ असोज) ले एउटा कवि हृदयले बुझेको सद्भाव सूत्रको सरलता दर्शाउँछ। सद्भाव आफैंले कायम गर्ने हो, गाह्रो काम होइन। अझ् भनौं, यो बाघको दूध होइन। सद्भावका लागि केवल शासकीय मन शुद्ध भए पुग्छ। यसो भएमा सद्भाव आफैं मौलाउँछ। शासक सांस्कृतिक सम्मिलन पनि बढ्छ। एउटाको आत्माले अर्कोको आत्मामा तादाम्य हुने वातावरण पाउँछ। कविको सल्लाह मानेर राज्यले मुलुकका करोडौं आत्मा एक बनाउनेतर्फ कदम चालोस्।

निरञ्जन प्रसाईं, इमेलबाट

comments powered by Disqus

रमझम