१०-१६ असोज २०७२ | 27 Sep - 3 Oct 2015

प्रगतिशील संविधान

Share:
  

नेपालको संविधान २०७२ ले राजनीतिकसँगै सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको समेत प्रत्याभूत गरेको 'जनताको संविधान' (३–९ असोज) मा पढ्न पाइयो। यसै कारण नयाँ संविधानलाई प्रगतिशील मान्नुपर्छ। जनता स्वयंले बनाएको संविधान भएकाले यसको सम्मान र रक्षा गर्नु सम्पूर्ण नेपालीको दायित्व हो।

कस्तो कानून बनाउने, कति प्रदेश बनाउने भन्ने कुरा हामी नेपालीले नै तय गर्ने हो। छिमेकी मुलुकले यस विषयमा टाउको वा चित्त दुखाइरहनु पर्दैन। स्वाभिमानी नेपाली जनता छिमेकीसामु कहिल्यै झुक्ने छैनौं। के हाम्रा नेतामा पनि यो आँट छ?

मोहन के श्रेष्ठ, इमेलबाट

पीपलले शीतल देओस्

यति धेरै प्रतीक्षा गरेर, यस्तो कठोर परिस्थितिमा प्राप्त संविधान साँच्चै 'ढुंगा फोरेर उमि्रएको पीपल' (३–९ असोज) जत्तिकै शक्तिशाली छ। यसमा भएका कमी–कमजोरीलाई सुधार गर्ने ठाउँ हुँदाहुँदै मधेश केन्द्रित दलले आन्दोलन नछोडेको देख्दा अचम्म लागेको छ।

संविधान निर्माणमा यत्रो समय खर्च गरियो। त्यसैले अहिलेका लागि यही उपलब्धिलाई पनि ठूलो मान्नुपर्ने वेला आएको छ। यस्तो समयमा संविधान बहिष्कार किन? मधेश, जनजाति, थारू आन्दोलनको नाममा कतै विदेशी चलखेल त भइरहेको

छैन? राजतन्त्र फर्काउने षड्यन्त्र त भइरहेको छैन? एकपछि अर्को बहानामा मुलुकलाई असफलतातिर धकेल्न पाइँदैन। राजनराज र सुमन केसी, इमेलबाट

यो संविधान सम्हालिएर बसेका सोझा–साझा जनतामाथि आपसी लडाइँ गराएर सामन्तले उब्जाएको धान हो। यसले पहिलेदेखि नै पिल्सिएका जनताको उठिबास गराउँछ।

महेन्द्र केसी, इमेलबाट

वर्तमान अवस्थाको गतिलो विश्लेषण। तराईका गलत तत्वका अनावश्यक र बेकारका तर्क सुनेर भारतले नेपालमा रहेको राजनीतिक पूँजी नै गुमाएको छ। यी यस्ता मुट्ठीभरका नेता हुन्, जसलाई गत निर्वाचनमा मधेशी जनताले नै आफ्नो ठानेनन्। भारतीय चासो समग्र नेपालकै लागि हुनुपर्छ। कुनै सानो तत्व वा भागका
लागि हुनुहुँदैन, जो जनताद्वारा अस्वीकृत भइसकेको छ।

बिहारीकृष्ण श्रेष्ठ, काठमाडौं

दुःख र अपेक्षा

'रोजाइ व्यावहारिक विषय' (३–९ असोज) मा विषयगत हिसाबले चौरासी व्यञ्जनकै स्वाद पाइयो। विद्यार्थीको रुचि, कलेजका विशेषताबारे लेखिएको रहेछ। होटल म्यानेजमेन्ट पढाउने कलेज र शिक्षकको भनाइसमेत पढ्न पाउँदा रमाइलो लाग्यो। तर, राजधानीका पत्रपत्रिकाले बाहिरको दुनियाँ बेवास्ता गरेको देख्दा दुःख लाग्छ। हिमाल ले अबका दिनमा उपत्यका बाहिरका कलेज र विद्यार्थीका कुरा पनि सुनोस्, लेखोस्।

अशोक पालिखे, अध्यक्ष, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट

जुहारी नखेलौं

सारा नेपाली एकजूट हुनुको विकल्प छैन। हामीबीच थोरै मात्र मनमुटाव हुनासाथ छिमेकीहरू दाउ छोप्न तम्सिहाल्दा रहेछन्। अहिलेकै अवस्था पनि यस्तै छ। मधेशीहरू रिसाएको मौकामा भारतले हाम्रो संविधानमै हस्तक्षेप गर्न खोज्यो। तर, उसले के बिर्सियो भने जतिसुकै ठूलो आन्तरिक वैमनस्यता भए पनि राष्ट्रियताको मामिलामा नेपाली एकजूट भइहाल्छन्।

'सहयात्राको आकांक्षा' पढेपछि हरेक नेपाली मनमा सहयात्राको भाव जागृत भएको र आशाको मुना पलाएको हुनुपर्छ। लेखकले भने झैं चुकुल नलागेको संवादको ढोका यथाशक्य चाँडो खोलेर भाइ–भाइको विवाद साम्य पार्नतिर लाग्नुपर्छ। जनताको लाश गन्दै भारतको विस्तारवादी नीतिसँग जुहारी खेल्नुको कुनै औचित्य छैन। 'काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ' भने झैं अब हाम्रा नेताले खुरुखुरु काम गर्दै नयाँ संविधान लागू भएको आभास दिने वातावरण बनाउनतिर लाग्नुपर्छ।

कृति आचार्य, इमेलबाट

सास्ती उस्तै

राजधानीका केही सडक फराकिलो बनाएपछि विना अवरोध सवारी गुड्न पाएका छन्। यस्तो हुनुमा धेरैले स्वयंलाई श्रेय दिंदै आएका छन्। केशव स्थापित भन्छन्, “मैले शुरू गरेकाले आज यस्तो भयो।” बाबुराम भट्टराई भन्छन्, “काम त मैले सकाएको हुँ।”

भत्काउने र बनाउने मात्रैले नहुने रहेछ। चिल्ला सडकमा ट्राफिक जामको समस्या ज्यूँका त्यूँ छ। साँझ्–बिहान बसपार्कबाट छुट्ने गाडीका कारण गोंगबु, बालाजु, स्वयम्भू, कलंकीतिर ठूलो जाम हुन्छ भने महाराजगञ्ज, गौशाला, कोटेश्वर, ग्वार्को र सम्पूर्ण रिङरोड नै सवारीको ताँतीले भरिभराउ हुन्छ। आरएनएसी, भृकुटीमण्डप, पुरानो बसपार्क वा गाडी छुट्ने कुनै पनि स्टेसनमा साँझ्–बिहान यात्रीको ठूलो भीड हुन्छ। हामी धक्कामुक्की सहँदै यात्रा गर्न बाध्य छौं। यस्तोमा अलिकति सडक सुधारें भन्नेहरूले सोचिदिए हुन्थ्यो।

राजेश राई, ग्वार्को, ललितपुर

comments powered by Disqus

रमझम