१७-२३ असोज २०७२ | 4-10 October 2015

भारतकै बेइज्जती

Share:
  

भारतले नेपालमाथि 'स्याडो बक्सिङ' (१०–१६ असोज) शैली अपनाएर आफ्नै बेइज्जती गरेको छ। पिठ्यूँबाट छुरा रोप्ने प्रवृत्तिले उसलाई बहादुर होइन, काँतर बनाउनेछ, किनकि नाकाबन्दी नै हो भन्ने हिम्मत पनि भारतसँग छैन। मलाई त लाग्छ, केही दिनपछि मोदीले अर्को नाटकीय 'हृदयस्पर्शी' भाषण दिनेछन्। हामी पुनः फुरुङ्ग पर्नेछौं।

रेशम धिमदुङ लामा, इमेलबाट

तेस्रो मुलुकबाट आउने पेट्रोलियम पदार्थलाई भारतले कुन आधारमा नेपाल भित्रिन नदिएको हो? नेपाल 'आफ्नै मातहतको' सम्झ्ने भारत यतिवेला लक्ष्य पूरा नभएकोले नदीकिनारको माछा झै छटपटाइरहेको छ।

दिलीप कायस्थ, इमेलबाट

भारतकोेपछिल्लो कदम नेपालीका लागि वास्तवमै हितकारी छ। हामीले आत्मनिर्भर र स्वाभिमानी बनेर देखाउने अवसर हो, यो। इन्धनका लागि भारत वा चीनसँग गुहार नमाग्ने मनस्थिति बनाऔं। भारतले नाकाबन्दी गर्‍यो भनेर नेपालमा बस्ने भारतीयलाई अपमान गर्नुहुँदैन। राजनीतिक मुद्दाका कारण आम नागरिकले दुःख पाउनुहुँदैन। यो कुरा नेपाल र भारत दुवैले बुझनुपर्छ।

कोही चाहिं 'भारतले तेल दिएन, हामी बिजुली नदिऔं' भन्दै कुर्लिरहेका छन्। भारतीय टेलिभिजन च्यानल काट्नु यस्तै हास्यास्पद प्रतिक्रिया हो। कहाँनिर निशाना लगाउँदा फल र्झ्छ भन्ने बुझेर मात्रै तीर हानौं।

सनदकुमार कार्की, इमेलबाट

भारतले औकात देखायो। मोदीले 'मुखमा राम राम भन्दै बगलीमा छुरा' धसे। हामीमाथि घात भयो। यो व्यवहारले भारतको नीति छर्लङ्ग पारेको छ।

भारतीयहरू अहिले हाकाहाकी 'यसो गर र उसो गर' भनी आदेश दिइरहेका छन्। यस्तो 'विस्तारवादी चरित्र' देखि हामी सतर्क हुनुपर्छ।

आत्माराम ढुंगेल, इमेलबाट

मधेशीको अंगीकृत मोह

'अनुत्पादक हठ' (१०–१६ असोज) पढेपछि लक्ष्मणलाल कर्णका माग र तर्क सुनेर झोंक चल्यो। यिनकै जस्तो बुद्धिले हामीले दुःख झेलिरहेका छौं। भारतलाई बहानाबाजी गर्ने सजिलो वातावरण उनीहरूले नै बनाइदिएका हुन्। देशलाई संकट पर्दासमेत उनीहरू आन्दोलन त्याग्ने कुरा गरिरहेका छैनन्। देश र जनताको माया छ भने कलह अन्त्य गर्नतिर लाग। मधेशकेन्द्रित दलले कसका लागि आन्दोलन गर्दैछन् भन्ने बुझन सकिएन। मधेशीकै लागि हो भने त अंगीकृत नागरिकताबारे बहस गर्नै नपर्ने हो। रोटी– बेटीको सम्बन्ध छ भन्दै सर्वस्व विदेशीलाई सुम्पिन खोज्ने नेता मधेशवादी हुनै सक्दैनन्।

मुस्कान वान्तवा, इमेलबाट

धनीको स्तम्भ!

'पशु घर' (१०–१६ असोज) पढ्दा रमाइलो लाग्यो। तर, 'होम' स्तम्भमा प्रायः महलमा बस्नेका लागि मात्रै उपयोगी हुने खालका लेख छापिन्छन्। हामी जस्तो दुई वटा कोठा भाडामा लिएर बस्नेले कोठा व्यवस्थित गर्ने वा सजाउने तरीकाबारे जानकारी पाए हुन्थ्यो। साथै, घरधनीलाई पनि उपयोगी हुने खालको 'टिप्स' दिनुहोला।

सिरु श्रेष्ठ, इमेलबाट

समाचारले अस्पताल पुर्‍यायो

१०–१६ असोजको जाँदाजाँदै स्तम्भमा अल्जाइमर्स र मेरुदण्डको समस्याबारे राम्रो जानकारी पाइयो। प्रत्येक हप्ता विभिन्न रोगबारे यसरी नै छाप्नुहोला। ढाड दुख्ने समस्या भएकी मेरी बहिनीले पत्रिकाको लेखकै कारण अस्पताल जाने निर्णय गरेकी छ। रोग निदानमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

गोपी लामगाँडे, इमेलबाट

comments powered by Disqus

रमझम