१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

गज्जब दशैं अंक

Share:
  

'सद्भावको संस्कृति' (१–१४ कात्तिक) दशैं अंक गज्जब लाग्यो। साहित्यलाई प्रशस्त ठाउँ दिइएको रहेछ। दशैंको छुट्टीभरि कथा, कविता र संस्मरण पढ्दै बसियो। अरू वेला पनि यसरी नै साहित्यिक खुराक पस्किए राम्रो हुनेथियो। 'ठूलो कान्छी' कथा साह्रै मनपर्‍यो।

भूमि घिमिरे, इमेलबाट

उदाहरणीय संस्कृति

'सद्भावको संस्कृति' (१–१४ कात्तिक) पढेपछि नेपाली हुनुमा गर्व लागेर आयो। जारी मधेश आन्दोलनका कारण यातायात कष्टकर बनिरहेको छ। यही वेला मधेशवादी दल नाकाबन्दी आफैंले गरेको भन्दै कुर्लिरहेका छन्। यति हुँदा पनि पहाडी इलाकामा मधेशी विरुद्ध चुँइक्क गरेको सुनिएको छैन। यो चानचुने कुरा होइन। यसले हाम्रो सांस्कृतिक सद्भाव कति बलियो छ भन्ने स्पष्ट पार्छ। हाम्रो संस्कृति उदाहरणीय छ।

मिलन बराल, इमेलबाट

नेपालीको सद्भाव दह्रो छ भनेर ढुक्क भइहाल्ने अवस्था छैन। गृहकलहले छिमेकीहरूलाई नेपाली एकता फुटाउने अवसर दिंदै त छैन भन्ने शंका बढेको छ। नेपाली–नेपाली एक–अर्का विरुद्ध उर्लिने वातावरण नबल्ला भन्न सकिंदैन। त्यसैले पनि सतर्क हुन आवश्यक छ।

सदीक्षा नेपाल, इमेलबाट

'सद्भावको सम्बल' (१–१४ कात्तिक) आवरण टिप्पणी रोचक र घोचक लाग्यो। हामी साम्प्रदायिक छैनौं भन्नका लागि लेखकले प्रस्तुत गरेको उदाहरण सटिक छन्। लेखमा भारतका शिख साथीको भनाइ जसरी प्रस्तुत गरिएको छ, त्यसले सोच्न बाध्य बनाउँछ। साम्प्रदायिक जत्तिको भयानक दंगा शायदै अरू होला। यस अर्थमा हामी सहिष्णु र भलाद्मी छौं भन्नेमा दुईमत हुनै सक्दैन।

पदम खड्का, इमेलबाट

हामी सिरहामा बस्दा 'मधेशे भूत जंगलमे सुत्, पहाडिया देख–देखके डरले मुत्' भन्दै मधेशी साथीलाई जिस्क्याउने गथ्यरौ। उनीहरू पनि 'पहाडिया लोग, मधेशेको ढोग' भन्दै हामीलाई गिज्याउँथे। तर, यी कुराले आपसी सम्बन्धमा कहिल्यै दरार ल्याएन। स्याउला लिन जंगल जाँदा हामी अँगालो हालेर सुसेली हाल्दै जान्थ्यौं। अहिले पनि ती साथीहरूसँग फेसबुकमा कुरा भइरहन्छ। नेताहरूले जे सुकै भने पनि जनस्तरमा जातीय वा धार्मिक साम्प्रदायिकता हामीकहाँ पटक्कै छैन।

जगन्नाथ पौडेल, इमेलबाट

सगरमाथा आरोहणमा ओली

ओली दुःख गरेरै यहाँसम्म आइपुगेका रहेछन् भन्ने कुरा 'ओलीका चुनौती' (१–१४ कात्तिक) बाट बुझियो। अब उनले पुराना दुःख सम्झ्िएर अघि बढ्न जरूरी छ। संकटका वेला सुझ्बुझ्पूर्वक व्यक्तिगत स्वार्थ त्यागी काम थाल्नुपर्छ। यस्तो विषम परिस्थितिमा प्रधानमन्त्री बन्नु भनेको सगरमाथा आरोहण गर्नु जस्तै हो। तर, यो चुनौतीलाई अवसरमा बदल्ने साहस भइदिए उनी इतिहासमा सम्झिइरहनेछन्।

राजकुमार थापा, इमेलबाट

कामलाग्दा रेसिपी

'नयाँ परिकार, नयाँ स्वाद' मा दिइएका रेसिपी निकै काम आए। रक्तीको ससेज पकाएर खाइयो पनि। तर, कतिपय परिकार चाहिं बनाउन सकिएन। त्यहाँ भनिए अनुसारका कतिपय सामग्री नेपालीका भान्सामा उपलब्ध नहुने पनि देखियो। यी कुरामा सेफहरूले विचार पुर्‍याउनुपर्छ।

ज्ञानदीप थकाली, इमेलबाट

comments powered by Disqus

रमझम