२०-२६ मंसीर २०७२ | 6-12 December 2015

निद्रामा नेपाली

Share:
  

भुईंचालो र नाकाबन्दी अवसरका रूपमा परिणत गर्न सकिन्छ भन्ने कुरा धेरैका मुखबाट धेरै चोटि सुनियो। तर, जिम्मेवार र इमानदार शासक भइदिएनन् भने सबै अवसर एकएक गर्दै खेर जान्छ भन्ने कुराको प्रत्यक्षदर्शी स्वयं हामी नै हौं।

अवसरले ढोका ढक्ढक्याउँदा पनि नेता चूप छन्। त्यसैले देश अधोगतिउन्मुख छ। मधेशीको सानो समस्या सुल्झाउन नसक्ने समग्र देश विकास गर्न सक्छौं भनिरहँदा नसुहाउने रहेछ। त्यसैले 'बौरिने वेला' (१३–१९ मंसीर) आइसक्दा पनि नेपाली निद्रामै छन्।
कमल मास्के, इमेलबाट

गफाडी सरकार

खाना पकाउने ग्याँस नभएर बिजुलीको भर परेका वेला लोडसेडिङ थपिरहेको छ। यस्तोमा निर्माणको अन्तिम चरणमा पुगेका जलविद्युत् आयोजनालाई आवश्यक इन्धन उपलब्ध गराएर यथाशीघ्र काम फत्ते गर्नेतर्फ सरकार लाग्नुपर्छ। 'डिजलको मार' (१३–१९ मंसीर) मा प्रधानमन्त्रीले एक वर्षमै लोडसेडिङ हटाउने आश्वासन दिइरहँदा कतिपय आयोजनाहरू भने डिजल अभावमा ठप्प भएको सुनियो। सरकारले नै हावादारी गफ गर्न थालेपछि जनताले कसको विश्वास गर्ने?

आलस गैरे, इमेलबाट

कालाबजारियालाई कारबाही

'आन्दोलनमा मिलीभगत' (१३–१९ मंसीर) पढेपछि मनभित्र देश दुखिरह्यो। जताततै बेथिति, बद्मासी, अभाव, भ्रष्टाचार विद्यमान छ। यस्तो माहोलले भावी पुस्तालाई कस्तो बाटो देखाउला? कस्तो संस्कार सिकाउला?

मधेश आन्दोलन सम्बोधन गर्न नसक्दाको परिणाम हामी भोगिरहेका छौं। अब पनि आन्दोलन लम्बिएमा अराजकता यतिविघ्न मौलाउने छ कि सरकार निरीह बन्नेछ।

लभकुमार वाग्ले, इमेलबाट

मधेश आन्दोलनको वहानामा तस्करी र कालोबजारीमा संलग्न हुनेलाई कडा कारबाही गर्नुपर्छ। अधिकारका लागि आन्दोलन गर्नेहरू नै नाका ठप्प पारी कालोबजारीमा लागेका देखिए। यो सरासर स्वार्थको खेल हो। सोझ्ा जनता उकासेर आफू मालामाल बन्ने उनीहरू राष्ट्रद्रोही हुन्। उनीहरू क्षमालायक छैनन्।

कुमारी गुरुङ, इमेलबाट

अहिलेको परिस्थितिमा यसलाई तस्करी भनिनहालौं। उनीहरूले जसोतसो तेल ल्याइदिनाले नै हाम्रो खाँचो टरिरहेको छ।

गोपाल तामाङ, इमेलबाट

साइकल चढ्ने बानी

नाकाबन्दीले काठमाडौंलाई 'साइकल–शहर' (१३–१९ मंसीर) बनाइदिएको छ। तर, यसलाई क्षणिक बनाउनु हुन्न। मैले पनि रु.१५ हजार हालेर माउन्टेनबाइक किनेको छु। यसले काममा आऊ–जाऊ गर्न निकै सजिलो भइरहेको छ। धूवाँ नफाल्ने र स्वास्थ्यका लागि पनि लाभदायक साइकल चढ्ने बानी बसालौं।

रुचि अधिकारी, इमेलबाट

सबै भारतको!

पेट्रोल पम्प नेपाली, तेल भारतको। मन्दिर नेपाली, पुजारी भारतका। दर्शक नेपाली, चलचित्र भारतका। आन्दोलन नेपाली, चासो भारतको। नेता नेपाली, बोली भारतको। अनि कसरी बन्छ देश? नाकाबन्दी र बन्दका कारण जनताको ज्यान नै जाँदा पनि सरकार लाचार देखिन्छ। आन्दोलन 'बिरामी मार्ने बन्द' (१३–१९ मंसीर) भएको छ।

अनिल राना, इमेलबाट

वनवारीलाललाई श्रद्धासुमन

'विदा भए वनवारीलाल' (१३–१९ मंसीर) मा वनवारीलाल मित्तललाई सम्झेकोमा खुशी लाग्यो। मारवाडी समुदायका लागि उहाँ अभिभावक हुनुहुन्थ्यो। उहाँको आत्माले शान्ति पाओस्।

विकास अग्रवाल, इमेलबाट

प्रेरणादायी पात्र

शारीरिक रूपमा सबल हुँदैमा मान्छे सबलाङ्ग नहुने रहेछ। आफूलाई कमजोर र हीन महसूस गर्ने मान्छे शारीरिक रूपमा बलियो भए पनि अपाङ्ग ठहर्छ। तर, मनोबल दह्रो भएका संघर्षशील व्यक्तिलाई शारीरिक रूपमा कमजोर भए पनि अपाङ्ग भन्न मिल्दैन। मीना पौडेल, सुशीला ढकाल, कमला बुढाथोकी, विमला खड्का आदिको अनुभव सुनेपछि अपाङ्गता भनेको मानसिकता मात्रै हो भन्ने लाग्यो। 'मनोबलले सशक्त' (१३–१९ मंसीर) पढेपछि ममा पनि फुर्ती बढेको छ।

आरपी अधिकारी, इमेलबाट

कुरा यस्तो हो

हिमाल को पछिल्लो (१३–१९ मंसीर) अंकमा मधेश आन्दोलनको केन्द्रबिन्दु वीरगन्जकेन्द्रित आवरण रिपोर्ट 'आन्दोलनमा मिलीभगत' पढे। मेरो नाममा दर्ता रहेको ट्रक काठमाडौं ओहोरदोहोर गरिरहने र आन्दोलनमा सेवा दिएबापत रु.१ लाखदेखि सवा लाखसम्म असुल्ने गरेको आरोपमा सत्यता छैन।

चावोसती राइस मीलबाट सामान ओसारेको लेखिए पनि मीलका संचालकसँग सत्य बुझने काम गरिएको छैन। वीरगन्जबाट काठमाडौंतर्फ जाने सवारीको अभिलेख पथलैयास्थित राजस्व अनुसन्धान विभागको कार्यालय र तराई यातायात व्यवसायी संघमा राखिन्छ। त्यहाँको कुरा पनि बुझिएको छैन। त्यसकारण मेरो बारेका आरोप पुष्टि हुँदैनन्।

'स्थानीय नेताहरू मधेशी जनताको हकअधिकारभन्दा आफ्नै स्वार्थका निम्ति दशगजामा धर्ना दिएर देशको लाइफलाइन बन्द गरिरहेका छन्' जस्तो गलत आरोप लगाइएको छ। यसले व्यापक जनसहभागिता र बलिदानीपूर्ण मधेश आन्दोलनलाई दुष्प्रचार गर्ने प्रयास गरेको छ।

रिपोर्टभित्रैको 'आन्दोलनको १०० दिन' उप–शीर्षकमा उल्लिखित 'सुक्खा बन्दरगाहबाट आन्दोलनकारीकै सहमतिमा प्रहरीले स्कर्टिङ गरेर लगिरहेका थिए' भन्ने कुरा प्रमाणित हुँदैन। कुनै विरोधीले लगाएको आरोपकै भरमा मजस्तो राजनीतिक व्यक्तिको चरित्रहत्या गर्न खोजिएको छ।

प्रदीप यादव (अध्यक्ष), संघीय समाजवादी फोरम नेपाल, पर्सा

comments powered by Disqus

रमझम