२७ मंसीर - ४ पुस २०७२ | 13- 19 December 2072

निरीह युवा नेता

Share:
  

युवा नेताप्रति ठूलो आशा र भरोसा रहँदै आएको हो। तर, वेला–वेला उनीहरू साह्रै चित्त नबुझदो मन्तव्य दिन्छन्। 'समृद्धिका लागि चीनबाट आयात' (२०–२६ मंसीर) मा रवीन्द्र अधिकारी भन्छन्, 'हिजो हामी मस्त निदाएकाले चीन जोड्ने सडक बनाएनछौं।' देश चलाउँछु भन्ने उनी जस्ता युवा नेताले यस्तो गैरजिम्मेवार कुरा गर्न मिल्छ?
नाकाबन्दीको विपत् आउनुअघि नै देशका खास समस्या पत्ता लगाई समाधानार्थ चिन्तन गर्नुपर्नेमा 'हामी त सुतेछौं' भन्ने उनको जवाफ लाजमर्दो छ। पुराना पुस्ताका नेताले जस्तो व्यवहार र विचार व्यक्त गरे पनि युवा नेता गम्भीर हुनुपर्छ। आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्नका लागि पनि उनीहरूले जुझारु भूमिका खेल्नुपर्छ। लाचार, निरीह, हावादारी र लोकरिझयाइँका कुरा गर्नुहुन्न।

कविर चौधरी, इमेलबाट

अनुत्तरित प्रश्न

आफूले गरेको नाकाबन्दी खोल्न भारत स्वयंलाई सकस परेको छ भन्ने मलाई लाग्दैन। आफ्ना माग पूरा हुने छाँट पाएपछि मात्र उसले नाका अवरोध सहज पार्नेछ। 'नाकाबन्दी खोल्ने सकस' (२०–२६ मंसीर) मा नाकाबन्दी भारतलाई नै घाँडो बनेको बताइएको छ। तर, उसलाई नै घाँडो भइदिएको भए केही न केही बहानामा नाका पहिल्यै खुल्नेथियो। तर, भारत जसरी पनि आफ्नो स्वार्थ पूरा गराउनमै तल्लीन देखिन्छ। यस्तोमा हाम्रा नेताले 'सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने' अचूक उपाय खोज्न सक्नुपर्छ।

प्रदीप, इमेलबाट

देश साँच्चै नै अप्ठ्यारोमा परेको हो भने सरकारले जनसहयोग लिनुपर्छ। जनता र सरकारबाट मात्र देश बलियो बन्छ। तर, सरकार जनतासँगै कुरा लुकाइरहेको छ। नाकाबन्दी भारतले गरेको हो वा मोर्चाले? भारत र मोर्चा के के चाहन्छन्? सरकारका प्रतिनिधि किन बारम्बार भारत पुगिरहेका छन्? यस्ता धेरै प्रश्नको जवाफ जनताले पाएका छैनन्। जनविश्वासमाथि घात भइरहेको छ।

अञ्जना तुम्रोक, इमेलबाट

नाकाबन्दी खोल्नुभन्दा पनि नाकाबन्दीको विकल्प खोज्नु राष्ट्रको लागि उपयुक्त हुन्छ।

पदम बाजुराली, इमेलबाट

'क्याच–२२' सरकार

सरकार निर्भीक र निडर नहुँदा 'क्याच–२२' (२०–२६ मंसीर) को अवस्था आएको हो। ऊ यति काँतर छ कि न कुनै अठोट गर्न सक्छ न बोलेको कुरा पुर्‍याउने सामर्थ्य नै राख्छ। देश अँध्यारोतिर धकेलिंदा पनि सरकार टुलुटुलु हेरिरहेको छ। यतिविघ्न लाचार र अक्षम सरकार नेपालले कहिल्यै पाएको थिएन।

सरस्वती न्यौपाने, इमेलबाट

सुस्त सरकार

देशमा भ्रष्टाचारबाहेक कुनै पनि काम फटाफट हुँदैन। महाभूकम्प गएको ८ महीना बितिसक्यो, तर पीडितले राहत पाएका छैनन्। सम्पदा पुनःनिर्माण र मर्मत गरिएका छैनन्। सडक लथालिङ्ग छन्। 'सरकार कुर्दै सडक' (२०–२६ मंसीर) पढेपछि सरकार के गरेर बस्दो रहेछ भनेर थाहा पाउन मन लाग्यो। हिमाल ले प्रत्येक अंकमा मन्त्रालयहरूको एक दिनको दैनिकी छापिदिए हुन्थ्यो। यसो गरे सरकार सुस्त छ कि द्रुत पत्ता लाग्दथ्यो।

मोहन बराल, इमेलबाट

यस्ता पनि डाक्टर

डाक्टर नै नक्कली भएपछि नेपालीले कहाँबाट सक्कली उपचार पाउनु! 'डाक्टरको नयाँ धन्दा' (२०–२६ मंसीर) ले नराम्ररी झ्स्कायो।

दिलु तमु, इमेलबाट

अवतरण खोजौं

पूर्वी नेपालको झापा, काँकडभिट्टासँग जोडिएका नाकामा मधेशी मोर्चाको प्रभाव छैन। मोरङ र सुनसरी तराई भए पनि पहाडी भेगका मानिसको बसोबास उल्लेख्य छ। त्यहाँ मधेशीले बन्द, हड्ताल गरेका छैनन्। नाका अवरोध पनि छैन। तर पनि किन भारतबाट आउने मालवाहक सवारीसाधन निर्वाध नेपाल भित्रिन सकेका छैनन्? यो भारतीय नाकाबन्दी नभएर के हो त? 'अवतरणका उपाय' (२०–२६ मंसीर) खोज्नुपर्‍यो।

शिवराज, इमेलबाट

पुरानै गल्तीको परिणाम

भारतीय नाकाबन्दीका कारण नेपालीको आर्थिकस्तर दिनानुदिन खस्कँदो छ। खाना पकाउने ग्याँस, मट्टीतेल, डिजल र पेट्रोल अभाव मात्र होइन, निम्न वर्गका लागि छाक टार्ने चिन्ता पनि थपिएको छ।

जीविका नराम्रोसँग प्रभावित हुनुमा नयाँ संविधान त एउटा वहाना मात्र हो। यो त नेताहरूले गरेको पुरानै गल्तीको परिणाम हो। पुराना सम्झौताहरू 'क्रोनिक' भई पीडा दिइरहेका छन्। अझ् कति पिरोल्ने हो!

शान्ता नराल, सुकेधारा, काठमाडौं

comments powered by Disqus

रमझम