२० फागुन २०६९ | 3 March 2013

देश र जीवनप्रति सकारात्मक बनायो

Share:
  

मुलुकको विकराल अवस्थाबाट निराश भएका जनतालाई त्यस्तो होइन, केही भइरहेको छ भन्ने आशा देखाएर अरू दश वर्ष बाँच्ने हौसला दिएकोमा हिमाल खबरपत्रिका टीमलाई धन्यवाद। मुलुकको यथेष्ट सम्भाव्यतालाई उजागर गरेर हिमाल ले निराश जनतालाई फेरि एकपटक देश अनि जीवनप्रति सकारात्मक हुन सिकाएको छ। रिपोर्टमा भनिए झ्ैं, देशमा राजनीतिक स्थिरता हुने हो भने एकदशकमा देशको काँचुली फेरिनेमा कुनै शंका छैन। साप्ताहिक प्रकाशन शुरू भएकोमा हिमाल परिवारलाई बधाई।

भूमिराज राई, कतार

निकै सान्दर्भिक र सकारात्मक समाचारका लागि हिमाल लाई धन्यवाद। विगत केही वर्षयता बिहान उठेदेखि राति अबेरसम्म नकारात्मक समाचार सुन्ने बानी परेको अवस्थामा हिमाल ले पस्केको सकारात्मक समाचारले आम मानिसमा उत्साह थपेको छ। संक्रमणकालीन राजनीतिक परिस्थितिका बाबजूद सबैले राष्ट्रनिर्माणमा योगदान दिन तयार हुनुपर्दछ। विकास निर्माणका सवालमा राजनीतिक स्थिरता पर्खनु भन्दा राजनीतिलाई बिर्संदा राम्रो होला।

विजयप्रसाद केशरी, इमेलबाट

दश वर्षपछिको नेपालबारे हिमाल मा प्रकाशित खुराक पढ्न पाउँदा मनै फुरुङ्ग भयो। हामीले देख्न नपाए पनि कम्तीमा भोलिको पुस्ताले समृद्ध नेपाल देख्न पाउनेथिए कि!

राजेन्द्र आचार्य, इमेलबाट

हिमाल ले दश वर्षमा मुलुकमा केही हुने आशा देखाएको छ। तर केही गर्छु भन्ने उद्देश्यका साथ लागिपर्ने नेता, सकारात्मक काममा साथ दिने कार्यकर्ता अनि झ्ण्डा झ्ुक्न लागेकोे देख्दा चित्तदुखाउने जनता हुने हो भने शिक्षा, औद्योगिक क्षेत्र, कृषि, जलस्रोतको विकासका लागि पाँच वर्षमै आशाका किरण देखिन थाल्नेछन्।

कृष्णमुरारी, इमेलबाट

मोहन वैद्यहरूलाई अझै पनि युद्ध गरेर मान्छे मार्न र तोडफोड गर्न धीत मरे जस्तो लाग्दैन। यदि त्यस्तो हो भने नेपाल पुनः २० वर्ष पछाडि धकेलिन सक्छ। कठिनाइका बाबजूद मुलुकको भविष्यप्रति चिन्तित भई इमान्दारपूर्वक सबै नेपाली एकजुट भएमा प्रगतिपथमा अघि बढ्न धेरै समय पर्खनुपर्दैन।

देशभक्त, इमेलबाट

हिमाल मा प्रकाशित जस्तो द्रुतगतिमा विकास नभए पनि सबैले सकारात्मक सोचका साथ अघि बढ्दा मुलुकको विकास पक्कै हुन्छ। केही पनि हुँदैन भनेर निराश भएका जनतामाझ् हिमाल जस्तो लोकप्रिय पत्रिकाले यस्तै आशावादी समाचार पस्कँदै जाने हो भने सफलताको शिखरमा पुगेको त्यो दिन अवश्य आउनेछ। हिमाल साप्ताहिकका आगामी अंकमा यस्तै नयाँ र सकारात्मक कुरा पढ्न पाइयोस्।

दिनेश श्रेष्ठ, इमेलबाट

कार्यक्रमको ढाँचा बदलौं

हिमाल (६ फागुन) मा प्रकाशित 'ठग अवतार' शीर्षकको समाचारले गैरसरकारी संस्थाहरूले सामाजिक परिचालन कार्यक्रममा गरिरहेको ठगीलाई उदाङ्गो पारेको छ। हुन त कार्यक्रमको प्रभावकारिताबारे यसअघि पनि सन्देह नभएको होइन।

सरकार आफैं सामाजिक परिचालन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न चाहँदैन भन्ने कुरा विनियोजित बजेट र परिचालित कर्मचारी तथा छनोट गरिएका गैससको नामबाटै प्रष्ट हुन्छ। मासिक रु.७ हजारमा राम्रो काम गर्ने कर्मचारी पाउनै सकिन्न। वार्षिक रु.१ लाख ५० हजार प्रति गाविस (परिचालक तलबसमेत) ले राम्रो काम खोज्नु मूर्खता हो।

कार्यक्रमबारे आवश्यक जानकारी दिन र सहकार्य गर्न जिविस/गैससहरू सकेसम्म चाहँदैनन्। गाउँ परिषद्का बेला बाहेक वडा नागरिक मञ्चको नाम सुनिंदैन। अरू त अरू कतिपय गाविस सचिवलाई समेत यसबारे थाहा छैन। प्रभावकारी कार्यक्रम सञ्चालन गर्नका लागि यसको ढाँचा नै बदल्नुपर्दछ।

आरडी कुलुङ, संखुवासभा, हालः बुङ, सोलुखुम्बु

गाउँको वास्तविकता

हिमाल (६ फागुन) मा प्रकाशित सुझाव र सन्देशले भरिएको 'तिप्लिङमा येशु' शीर्षकको सामग्री पढ्न पाउँदा निकै खुशी लाग्यो। गाउँवस्तीका वास्तविकतालाई पाठकसामु ल्याउने लेखकको प्रयास आफैंमा उदाहरणीय छ। लेखकलाई धन्यवाद।

कर्म तामाङ्ग, जर्मनी

नैतिकता र मानवीयता मानव विकास क्रमबाट क्रमशः आउने कुरा हो। केही दशक पहिले अनैतिक, असामाजिक, निषेधित लाग्ने विषय अहिले सामान्य हुन थालेका छन्। के गर्नुहुन्छ र के गर्नुहुँदैन भन्नका लागि कुनै धर्मविशेषको सहारा लिइरहनुपर्दैन।

टोपबहादुर रिलोडेड्, इमेलबाट

यस्तो विषयमा हामीले गहिरोसँग अध्ययन गर्नुपर्ने बेला आएको छ। धर्म परिवर्तन गरेर क्रिश्चियन बन्नुमा विदेशी पैसाको लोभसँगै अन्य कारणहरू पनि छन् जस्तो लाग्छ।

कृष्णकान्त अधिकारी, इमेलबाट

उर्वरता जोगाऊँ

हिमाल (६ फागुन) मा प्रकाशित 'कतारोको कालो दही' सान्दर्भिक छ। भावी सन्ततिका लागि काठमाडौंको उर्वरता बचाइराख्नु वर्तमानको आवश्यकता हो। यसका लागि प्रभावकारी नीति बनाएर कार्यान्वयन गर्नुपर्दछ। हुतराम वैद्य जस्ता वागमती बचाउ अभियानमा लागेकाहरूको कुरा समेत राखेको भए लेख अझै रोचक बन्नेथियो।

किरण तिवारी, इमेलबाट

हिमाल अब साप्ताहिक

विगत १४ वर्षदेखि पाक्षिक रूपमा प्रकाशित हुँदै आएको हिमाल खबरपत्रिका ६ फागुन २०६९ देखि साप्ताहिक भएको छ। हरेक आइतबार प्रकाशित हुने हिमाल मिडिया प्रालिको प्रकाशन साप्ताहिक खबरपत्रिका हिमाल को पहिलो अंक ६ फागुनमा काठमाडौंमा आयोजित कार्यक्रममा गायिका आनी छोइङ डोल्माले सार्वजनिक गरिन्। कार्यक्रममा प्रकाशक कनकमणि दीक्षितले समृद्ध नेपाल बनाउने अभियान र हिंसारहित लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा हिमाल निरन्तर लागिरहने प्रतिबद्धता जनाए।

पत्रिकाका सम्पादक किरण नेपालले हिमाल ले काठमाडौं उपत्यकाको चारभञ्ज्याङ बाहिरको नेपाललाई प्राथमिकतामा राख्ने बताए। राजनीति, अर्थ र सामाजिक विषयमा विश्लेषणात्मक समाचार पस्कँदै आएको हिमाल आगामी दिनमा पाठकप्रति अझै बढी जिम्मेवार भएर प्रस्तुत हुने सम्पादक नेपालले उल्लेख गरे। हिमाल मिडियाले साप्ताहिक खबरपत्रिका हिमाल र नेपाली टाइम्स अंग्रेजी साप्ताहिक को प्रकाशन तथा दुई न्यूज पोर्टल हिमालखबर डटकम र नेपालीटाइम्स डटकम संचालन गरिरहेको छ।

comments powered by Disqus

रमझम