१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

पीडितको पक्षमा

Share:
  

महाभूकम्पले थिलथिलो बनाएको नेपाललाई छिमेकी भारतको व्यवहारले झ्नै आहत तुल्याएको छ। देशको यस्तो बेहाल समेटिएको आवरण रिपोर्ट 'मानवीय संकट उन्मुख' (५–११ पुस) पढेपछि हिमाल लाई धन्यवाद दिन मन लाग्यो। मधेश आन्दोलनका कारण स्थानीय र टहरामा बस्ने भूकम्पपीडितको कन्तविजोगबारे लेखिनु पीडित पक्षधर पत्रकारिता हो।

प्रेम अधिकारी, इमेलबाट

काठमाडौंका सडकमा ट्राफिक जाम हुने गरी सवारी साधन चलाएर 'भारतीय नाकाबन्दीले मानवीय संकट निम्त्यायो' भन्नु बेकारको कुर्ल्याइँ हो। राजधानीका सडकमा गाडी कुद्नु नै भारतले अन्तर्राष्ट्रिय जगतसामु 'पानीमाथिको ओभानो' बन्ने आधार पाउनु हो। यस्तोमा हामीले कालोबजारमा तेल किनेर सडक जाम गर्न छोड्ने कि? संकटका वेला हामीले स्वार्थ त्याग्न किन नसक्ने?

दीपेन्द्र रुम्बा, इमेलबाट

आत्तिएको मन

'स्ट्यागफ्लेसन' भन्ने नयाँ शब्द सुनियो। उच्चारणमा रमाइलै लाग्ने भए पनि अर्थ खतरनाक हुँदोरहेछ। मूल्यवृद्धिको तीव्रतासँगै बेरोजगारी बढ्ने र व्यापार खस्किने यो अवस्था यतिवेला हामीसामु आइपुगेको छ। हुन त पीरमा पनि हाँस्ने बानी नै परिसक्यो। तैपनि मन आत्तिन्छ।

जुना महत, इमेलबाट

ढोंगी ओली

प्रधानमन्त्री केपी ओली र उनको सरकारका कार्यकर्ताहरू दिनभरि भारतविरोधी चर्को भाषण गर्दै हिंड्छन्। तर, पद जोगाउन लुकीछिपी भारतकै पाउ मोल्छन्। सरकारको यस्तो ढोंगी व्यवहार नै अर्को छिमेकी चीनसँगको सम्झौतामा बाधक बनिरहेको छ। 'चिनियाँ नाका नखुल्ने खतरा' (५–११ पुस) पढेपछि हाम्रा नेताको कुबुद्धि देखेर दया लाग्यो।

भारतीय विधायकले नेपाल–भारत सम्बन्ध सुधार्नुपर्छ भनेर राज्यसभामा दिएको भाषणलाई हामीले आफूअनुकूल अर्थ्याएका रहेछौं। सोच्यौं, 'भारतीयले अन्यायविरुद्ध बोलिदिए।' तर, उनीहरूले त आफ्नै हितका लागि आवाज उठाएका थिए। हाम्राले भने उनीहरूका राम्रा कुरा किन सिक्न सक्दैनन्?

रामप्रसाद खनाल, जितु गजमेर,इमेलबाट

आफैंबाट शुरू गर्नुहोस्!

देशलाई चिसो लागेको छ। रुघाखोकी र ज्वरो पनि आएको छ। नाकाबन्दीका कारण देशले त न्यानो पाउन सकेको छैन भने सर्वसाधारणको के कुरा। आफ्नो जोहो आफैं गर्नुहोस्। भूकम्पपीडितलाई आफैंले कम्बल बाँड्नुहोस्। झुपडीमा दाल–चामल लगिदिनुहोस्। शुरुआत आफैंबाट गर्नुहोस्।

बोधनाथ, रबी, इमेलबाट

डाक्टरद्वयलाई सलाम!

'कृषिका काला हीरा' (५–११ पुस) लाई सलाम ठोक्न मन लाग्यो। बारीमा लगाएको सिर्जना जातका गोलभेंडा विकास गर्ने 'धुस्रेफुस्रे बूढा' डा. केदार बुढाथोकीको कामबाट म निकै प्रभावित भएँ। लेख चार/पाँच चोटि पढें। सबथोक छोडेर गाउँको बारी खन्न जाऊँ जस्तो लाग्यो। डा. बुढाथोकी र डा. गिरिराज त्रिपाठीलाई सलाम!

कमल चुडाल, इमेलबाट

मानव सभ्यताकै अपमान

'जानकी भूमिमा नारी अपमान' (५–११ पुस) ले मन छोयो। राम–जानकी विवाह पर्वमा भाग लिन जनकपुरधाम गएकी राष्ट्रपतिमाथिको दुर्व्यवहार नारी जातिकै अपमान हो। राष्ट्रपतिमाथि त यस्तो घिनलाग्दो व्यवहार हुन्छ भने साधारण महिलामाथि त्यहाँ कस्तो व्यवहार भइरहेको होला? यो पुरातनवादी मानसिकताको हद हो। धर्मका नाममा महिलामाथि गरिने भेदभाव अन्त्य हुनुपर्छ। यस्तो अपसंस्कृति विकासको बाधक हो।

गंगा डंगोल, इमेलबाट

चिन्ता नगर्नु मधेश!

देशमा सास्ती खेप्ने भनेकै गरिखानेले हो। 'जो होचो उसकै मुखमा घोचो' उखान त्यसै बनेको होइन। ठग, फटाहा र भ्रष्ट कहिल्यै दुःखी देखिंदैनन्। त्यसैले 'गरिखानेलाई झ्नै सास्ती' (५–११ पुस) पढेर अनौठो लागेन। तर, मधेशी दिदीबहिनी, दाजुभाइले पहाडमा काम गर्ने आफन्तलाई केही होला भन्ने चिन्ता नगरे हुन्छ। समाज त्यतिविघ्न क्रूर बनिसकेको छैन।

रिनसन कार्की, इमेल

comments powered by Disqus

रमझम