'सिकिस्त बिरामीको किनबेच' (१२–१८ पुस) लेख, कार्टुन र रेकर्ड बोकेर सीधै अख्तियारमा जानुहोला। प्रमाणसहित पत्रकारिता गर्दा पनि सरकारले नालायकलाई कारबाही गरेन भने सरकारका विरुद्ध यस्तै कलम चलाउनुहोला। तपाईंहरूलाई सारा नेपालीको समर्थन रहनेछ।
आर. के गौरव रिमाल, इमेलबाट
अस्पतालले पैसा कमाउनपट्टि ध्यान दिनुभएन। बिरामीको अधिकारबारे पनि ख्याल गर्नुपर्यो। बिरामीलाई गाईबस्तु जस्तो किनबेच गर्नु मानवअधिकारको ठाडो उल्लंघन हो। तर, नेपालमा बिरामीको अधिकारबारे कसैलाई वास्ता छैन। निजी अस्पतालले बिरामी किनबेच जस्तो घृणित काम गरिरहेका छन् भने सरकारीमा पनि बिरामीले स्वास्थ्यकर्मीको दुर्व्यवहार सहनुपर्छ। यसबारे जतिपटक आवाज उठाए पनि कोही सुध्रेका छैनन्।
चन्द्र सुवेदी, सी.बी कार्की, इमेलबाट
बिरामी मात्रै होइन यो त मानवताकै किनबेच हो। खै नैतिकता र धर्म? लाग्छ, जहींतहीं प्रेतात्माको जगजगी छ। यसरी मानवता नै बेचेर कमाएको पैसाले के गर्छौ!
नेपालमा उपचारका नाममा कतिसम्म तल्लोस्तरको काम हुँदोरहेछ भन्ने देखियो। त्यसैले हामीले पाइला–पाइलामा सचेत हुन जरूरी छ। यस्ता अस्पताललाई घोक्रेठ्याक लगाइहाल्नुपर्छ।
दिलबहादुर, उत्तम, विपिन, इमेलबाट
निजी अस्पतालको ताल यस्तो छ। सरकारीमा जाऊँ, सिकारु डाक्टरले सिध्याउलान् भन्ने डर! सामान्य बिरामी भएर अस्पताल गएका मेरा दुई नातेदारले चिकित्सककै कारण ज्यान गुमाए। गरीब बिरामी कहाँ जाने? कसरी बाँच्ने? यी अपराधीलाई कानूनले सजाय देला भन्ने आश छैन। के भगवान भरोसामै बस्ने हो?
राजकुमार, इमेलबाट
कति सिपालु पुर्खा!
हाम्रा पुर्खाले काम त गतिलै गरेका रहेछन् नि, बेलायती कुकुरको बदलामा गैंडाका खाग र कस्तूरी उपहार पठाउने! वाह! क्या बुद्धि। 'लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ चार बल्ड्याङ' भन्ने उखान मज्जाले चरितार्थ गरेका रहेछन्। 'चालमले पीठो साटी' (१२–१८ पुस) पढेपछि रुनु न हाँस्नु भएँ।
निमुखा र सच्चा राष्ट्रभक्तलाई झयालखानामा हालेपछि कसरी प्रगति होस्। विकासपथमा सँगै हिंडेका जापान, दक्षिण कोरिया जस्ता देश अहिले सफलताको चुचुरोमा पुगिसके। हामी चाहिं मतिभ्रष्ट र गुलिया कुरा गरेर जनता दंग पार्ने नेताको जालमा परेर कुवाको भ्यागुतो बनिरहेका छौं। अगुवा नै निम्छरो भएपछि पछुवाले के नाप्थे र?
देवबहादुर रोकाया, इमेलबाट
सुब्बा कृष्णलालको सम्झना
भर्खरै 'मकैको अर्कै खेती' नाटक हेरें। लगत्तै हिमाल मा नाटकबारेको रिपोर्ट 'बेथितिप्रति व्यंग्य' मा सुब्बा कृष्णलाल अधिकारीबारे पढ्न पाइयो। नाटकमा देखाए झैं अधिकारीलाई पनि ज्यूँदै मृत्युको मुखमा पुर्याइएको रहेछ। उनी झयालखानामै दिवंगत भए पनि नेपाली साहित्य र राजनीतिमा अमर रहनेछन्। राता र काला कीराले उनी जस्ता राष्ट्रभक्तलाई नामेट पार्न सक्दैनन्।
पुष्प खतिवडा, इमेलबाट
कसका नेता?
जनताको गाँस खोसेर देशको विकास हुँदैन। जनताको नेता भन्ने अनि जनतालाई नै मार्ने? त्यस्ता नेता के नेता? कसका नेता? केका नेता? आन्दोलन रोकौं नेताज्यू!
ऋषिराज भण्डारी, इमेलबाट