२६ पुस - २ माघ २०७२ | 10-16 Janauary 2016

भारतको भूल

Share:
  

भारतीय नाकाबन्दीमाथिको टिप्पणी 'मधेशलाई हानि, रुग्ण राष्ट्रवादलाई टेको' (१९–२५ पुस) जबर्जस्त लाग्यो। लेखमा नेपाल–भारत सम्बन्धको मिहिनता केलाइएको छ। नेपाललाई हत्केलामा नचाउन खोज्ने भारतले आफूलाई चतुर मानेर भूल गरिरहेको छ। नयाँ पुस्ताका नेपालीको भावना अनुसार भारत नचले सम्बन्ध कहिल्यै सुमधुर हुँदैन।

स्वप्निल प्रकाश, इमेलबाट

राष्ट्रवाद अगाडि 'रुग्ण' विशेषण ठीक भएन। राष्ट्रवाद कि हुन्छ कि हुँदैन। राष्ट्रवादमा रुग्ण, खोक्रो जस्ता शब्दको अस्तित्व हुन्न। यी त फगत पराधीन वा आत्मविश्वासहीन दिमागका उपज हुन्।

दीपक नेपाल, इमेलबाट

टोपी 'राष्ट्रिय' हुन्न

जसरी नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रिय भाषा हुँदैनन्, त्यसैगरी एउटा समुदायले मात्र लगाउने टोपी राष्ट्रिय हुन सक्दैन। सबै समुदायको टोपीलाई समान सम्मान दिनुपर्छ। त्यसैले टोपी दिवस मनाउँदा ढाका र भादगाउँले मात्र होइन, अन्य जातजातिका टोपीलाई पनि ठाउँ दिऔं। 'यो मेरो टोपी हो' (१९–२५ पुस) मा भनिए झैं टोपीलाई धोतीसँग नदाँजौं।

आङ तेञ्जिङ शेर्पा, इमेलबाट

ढाका टोपी नेपाली टोपी होइन। यो त मुस्लिम समुदायकै टोपी हो, जसमा थोरै मात्र डिजाइन परिवर्तन गरिएको हो। हिमाल मा टोपीको इतिहास सपाट छ। पर्याप्त अनुसन्धान नभएकाले हामीमा अन्योल रहँदै आएको छ। तर, लेखकले भेटेसम्म खोजेकै रहेछन्। धोती र टोपी सौन्दर्यका बस्त्र मात्रै हुन्। त्यसैले यी बस्त्रलाई यतिविघ्न प्रोत्साहन गरिरहनुपर्छ भन्ने छैन।

रविन घिसिङ, राम राना, इमेलबाट

प्रधानमन्त्री चीन जाऊ!

भारतको विकल्प चीन हुन सक्दैन। तर, त्रिदेशीय सन्तुलन मिलाउन र यहाँको अस्थिरता हटाउन 'प्रधानमन्त्री चीन जाऊ' (१९–२५ पुस) मा भनिए झ्ैं ओलीको चीन भ्रमण अनिवार्य छ। तीन पटक नाकाबन्दी लगाइसकेको भारतले अहिले नाका खोलिदिए पनि भविष्यमा नाकाबन्दी नगर्ला भन्न सकिन्न। सम्पादकीयमा देशको विद्यमान राजनीतिक र कूटनीतिक परिस्थितिमाथि सही विश्लेषण गरिएकोले मन रमायो।

दिवाकर विष्ट, इमेलबाट

हामी भारतका दास होइनौं भन्ने प्रमाणित गर्न पनि प्रधानमन्त्री चीन जानैपर्छ। जे–जस्तो भए पनि अन्ततः भारतकै अगाडि लम्पसार पर्नुपर्छ भन्ने कतिपय नेताहरूको सोच जनविश्वासमाथिको अपमान हो।

विवश, आकाश, इमेलबाट

विगतका कुनै पनि शासकले चीनसँग घनिष्ठता बढाउन सकेनन्। प्रधानमन्त्री केपी ओलीले हिम्मत गरेर चीनसँगको सम्बन्धमा 'बे्रक थ्रू' गरे भने उनी बहादुर नेताका रूपमा इतिहासमा दर्ज हुनेछन्। तर, दुःखको कुरा चीनसँगको नयाँ आयामको सम्बन्ध तुहाउन केही कम्मर कसेर लागिपरेका छन्।

शमशेर थापा, इमेलबाट

सन् २०२० सम्ममा तिब्बतको रेलमार्ग नेपाल आइपुग्ने हो भने भारतले नाकाबन्दी गर्नुअघि तीनपल्ट सोच्नुपर्नेछ। त्यसका लागि चीनसँग रेलमार्ग, सडक विस्तार, तेलको पाइप लाइन, विद्युत् र प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गरिहाल्नुपर्छ। नाकाबन्दीले हामीलाई चेत र अवसर दुवै दिएको छ।

दिवाकर अधिकारी, इमेलबाट

ओली, तिमी जंगबहादुरको हिम्मत लिएर चीन जाऊ। व्यापार तथा पारवहन सन्धि गरेर आऊ। नेपालीले शिर ठाडो पारेर बाँच्ने वातावरण मिलाइदेऊ। सच्चा राजनेता बनिदेऊ।

भारतको विकल्प चीन होइन, चीनको विकल्प भारत होइन। नेपालका जनता भारतबाट चौथो नाकाबन्दीको कल्पनासम्म गर्न सक्दैनन्।

श्रेष्ठ वैकुण्ठ, इमेलबाट

हिम्मत जुटाउने वेला

नेपालले भारत भयबाट मुक्त भई चीनसँग सहकार्य गर्नु बुद्धिमानी हुनेछ। 'फेरिंदो नक्शा' (१९–२५ पुस) मा अहिलेको अवस्थालाई 'टेस्टिङ टाइम' का रूपमा व्याख्या गर्दै छिमेकी दुई देशसँग बराबर व्यापारिक सम्बन्ध राख्नुपर्छ भनिएको छ। अहिलेको यो सानो कदम नेपालमा भारतको एकाधिकार तोड्दै प्रतिस्पर्धी बजार निर्माणका लागि कोसेढुंगा बन्न सक्छ। तसर्थ, नेपालले 'हार्ड च्वाइस' नै रोजेर दीर्घकालीन हितका लागि हिम्मत जुटाउनुपर्छ।

यक्षपुरु दाहाल, इमेलबाट

comments powered by Disqus

रमझम