३-९ माघ २०७२ | 17-23 January 2016

पहिले चीन

Share:
  

नाकाबन्दीका वेला चीनको सहयोग बिर्सेर फेरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछि लाग्ने हो भने प्रधानमन्त्री केपी ओली पनि गद्दार कहलिने सम्भावना छ। त्यसैले 'पहिला चीन जाऊ' (२६ पुस–२ माघ) मा भनिए झैं ओलीले पहिले चीन गएर राष्ट्रहितका सम्झौता गरिहाल्नुपर्छ। औपचारिक वा अनौपचारिक जे भए पनि पहिलो भ्रमण चीन नै हुनुपर्छ।

विमल बीसी, इमेलबाट

देशलाई निकास दिने हो भने प्रधानमन्त्री ओली पहिले चीन नै जानुपर्छ। नेपालीलाई भारतसामु शिर ठाडो पार्ने आधार दिन पनि उनले यसो गर्नैपर्छ। तर, भारतसँग फेरि पनि झुके अन्य नेता झैं ओली पनि पतन हुनेछन्।

दिलबहादुर तमु, इमेलबाट

भारत नै पहिले गए पनि अहिलेका लागि चिनियाँ अवसर गुमाउने भूल गर्नुहुन्न। दुई बलिया छिमेकीबीचको सन्तुलन नै नेपालको विकास, शान्ति तथा स्थिरताको दीर्घकालीन सूत्र हो। अहिलेको अवस्था दुई ढुंगाबीचको तरुल होइन, दुई द्रुत–विकासशील देशबीचको समृद्ध पुल बन्ने सुनौलो अवसर हो। प्रमज्यू, खिसीटिउरी गर्ने नेता होइन, राजनेता बन्नुहोस्। साना नै सही, परिवर्तनकारी काम गर्नुहोस्। गफ त्यसपछि गर्नुहोला।

देव दंगाल, इमेलबाट

पृथ्वीनारायणप्रति आभार!

पृथ्वीनारायण शाहले नेपालको भूगोल एकीकरण गरे पनि जातीय र धार्मिक भावना समेट्न सकेनन्। उनको इतिहास नै काटमार र जालझेलपूर्ण छ। आफ्नै मीतबुबा भक्तपुरका तत्कालीन राजा रणजीत मल्ललाई पृथ्वीनारायणले घात गरे। ससुराली मकवानपुरमाथि पनि आँखा गाडे। यस्ता स्वार्थी र जाली उनीबाट हामीले के सिक्ने? उनी 'स्वाधीन राष्ट्रनिर्माता' (२६ पुस–२ माघ) कदापि थिएनन्। त्यसैले उनलाई भगवान बनाउन जरूरी छैन।

बुधराज लिम्बू, नयन सिंह, इमेलबाट

युगको माग बमोजिम भूगोल एकीकरण गरिनु या हुनु स्वाभाविक हो। अहिले आएर विरोधमा अनेक तर्क अघि सार्नुभन्दा इतिहासको उचित सम्मान गर्नु राम्रो हो। नेपालको इतिहासमा पृथ्वीनारायण शाह सदा अमर रहने छन्।

चन्द्र लिम्बू, इमेलबाट

'कृतघ्न नहोऔं' (२६ पुस–२ माघ) मा भनिए झैं पृथ्वीनारायण शाहप्रति 'वायस' हुन आवश्यक छैन। उनले देशलाई एउटा मालामा नगाँसेको भए आज हामीले नेपाली पहिचान पाउने थिएनौं। गल्ती गर्नेको आलोचना गर्नुपर्छ। तर, देश एकीकृत गर्नेको आलोचना सही होइन। उनको सम्झ्नामा सरकारी विदा वास्तवमै आवश्यक हो। तर, अनौठो लाग्छ, हामीकहाँ त इतिहासकै निमोनिशान मेटाउने काम भइरहेको छ।

जीएम तमु, इमेलबाट

जित्नेहरूको मात्रै इतिहास लेखिन्छ। जित्नलाई गरेका कुकृत्यहरू लुकाइन्छ। नेपालको इतिहास लेखनीमा बेइमानी भएको छ। हाम्रा इतिहासकारहरूले पृथ्वीनारायण शाहको जित मात्रै देखाइदिएका छन्। उनले जित्नका लागि गरेका अत्याचार गुमनाम छन्। तर, उनले हामीलाई शिर ठाडो पारेर हिंड्न सक्ने विशाल नेपाल छाडिदिएकोमा चाहिं आभारी हुनैपर्छ।

तितोमीठो, इमेलबाट

राम्रो कार्टून

'माओवादी भनेकै दाहाल!' (२६ पुस–२ माघ) मा उनको प्रशंसा भए पनि चित्रमा चाहिं उनको टाउको सानो बनाएर अरूको कुरामा लाग्ने भाव व्यक्त गरिएको छ। लेख र कार्टून दुवै मन पर्‍यो।

प्रकाशचन्द्र गिरी, इमेलबाट

हिमाल को दृष्टिदोष

हिमाल लाई अचेल के भइरहेको छ? 'चिसो दिनको न्यानो निर्णय' (२६ पुस–२ माघ) पढ्दा यथार्थपरक लागेन। देश लथालिङ्ग भइरहेका वेला पत्रिकाले सरकारको खुलेर तारीफ गरेको छ। हाम्रा नेता र सांसद्ले जनताको हित हुने खालको न्यानो निर्णय गर्लान् भन्ने आशा मरिसक्यो। पुस/माघको ठण्डीमा घाम ताप्दै, बदाम र सुन्तला खाँदै बैठक गरिटोपल्नेले बारपाकमा हिउँको सिरानीमा रात काट्नेको वेदना के बुझथे! हिमाल ले नेता होइन, जनताको पक्षबाट समाचार बनाउनुपर्‍यो।

तिलक, गोविन्द, इमेलबाट

comments powered by Disqus

रमझम