१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

बेतुकको बोली

Share:
  

मेरा आँखा 'भनेको सुनेको' स्तम्भमा पुगे। जहाँ शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवैले आफू सभापतिमा बसेर अर्कालाई प्रधानमन्त्री बनाउन चाहेको बताएका रहेछन्। राजनीतिमा यस्ता समझ्दारी र आपसी हितका कुरा भइदिए त नेपाल वास्तवमै सुन्दर, शान्त भइहाल्थ्यो। तर, 'मुखले राम, राम बगलीमा छुरा' का पक्षपाती नेताहरूको यस्तो बोली जनताले विश्वास गर्दैनन् भन्ने उनीहरूलाई थाहा रहेनछ।

विपिनकुमार, अनलाइनबाट

यो कांग्रेसको नियति

'त्यो कांग्रेस, यो कांग्रेस' (९–१५ फागुन) पढेपछि सोच्न बाध्य भएँ। त्यो कांग्रेस, यो कांग्रेस बन्ने कारण के होला? के समाज नै स्वार्थी र भ्रष्ट भएकाले यसको प्रतिबिम्ब राजनीतिमा देखिएको त होइन? राम्रा मान्छे, राम्रो संगठन, राम्रो विचारलाई हामीले नै प्रदूषित गरिरहेका त छैनौं? तसर्थ, हामीले वेलैमा इमानदार हुन सिक्नुपर्छ।

जगत बिडारी, अनलाइनबाट

२००६ सालमा स्थापना भएको नेपाली कांग्रेसले देशको आरोह–अवरोह प्रष्ट देखे–भोगेको छ। त्यसैले यस संगठनका प्रत्येक सदस्यले पार्टीको प्रतिष्ठा र जनताको भलाइका लागि कान्छा पार्टीको तुलनामा बढी गम्भीर हुन आवश्यक छ। पार्टी सभापति नै नहुँदाको यो घडीमा त झ्नै समझ्दारीपूर्ण ढंगले काम गर्नुपर्छ।

हर्कमान तामाङ, अनलाइनबाट

प्रदूषणको परकम्प

मेरो टोलमा पन्ध्र दिनमा मुश्किलले एक चोटि पानी आउँछ। त्यो पनि आधा घण्टा। त्यसैले ट्यांकरको पानी नकिनी सुखै छैन। निर्धक्क ट्यांकरकै पानी खाइरहेका वेला 'भूकम्पपछि खानेपानीः खानै नहुने गरी प्रदूषित' (९–१५ फागुन) पढेपछि भूकम्पले जोडले हल्लाए झैं तर्सिएँ। प्रदूषित पानी ट्यांकरमा हालेर बेच्न नदिनुपर्ने हो। विधि पुर्‍याएर वा प्रदूषण हटाएर मात्रै बेच्न पाइने नियम लगाइदिए उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड हुने थिएन। शुद्धीकरण विधि पत्ता लगाइसकेपछि पनि जीवाणु मिश्रित पानी प्रयोग गर्न बाध्य पारिनु हाम्रो बिडम्बना हो।

चम्पा पौडेल, अनलाइनबाट

खै खुशी?

यस्तो भइदिए उसो हुन्थ्यो भन्नुमा कुनै तूक छैन। सब–स्टेसनको क्षमता भइदिए १२०० मेगावाट बिजुली ल्याएर तत्काल लोडसेडिङ अन्त्य गर्न सकिन्थ्यो भनेर थकथक बनाएको मन परेन। '८० मेवाको खुशी' (९–१५ फागुन) मा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्रविधिलाई दोष देखाएर आफू जोगिन खोजेका छन्। सबस्टेसन बनाउने काम प्राधिकरणकै होइन र?

राजु महर्जन, इमेलबाट

तिललाई पहाड नबनाऔं

झ्न्डै ४० लाख जनसंख्या देशबाहिर छ। तीमध्ये ३ जनाको मृत्यु अस्वाभाविक होइन। स्वदेशमै बस्नेहरू चाहिं दुर्घटना र भवितव्यमा मरेका छैनन्? विदेशमा मरे भन्दैमा तिललाई पहाड बनाउने काम नगरियोस्। स्वदेशमै मारिएकाहरूको पक्षमा बोलिदिने को? 'कफिनमा फिर्ती' (९–१५ फागुन) पढेपछि दुःख लाग्यो तर आफ्नै भूमिमा मारिएकाबारे चासो दिनुहोला।

अतुल साह, वैभव गिरी, अनलाइनबाट

जितको हर्ष

खेलाडीहरूलाई 'जित जोगाउने जिम्मेवारी' (९–१५ फागुन) बोध गराएकोमा खुशी लाग्यो। तर, नेपालले भारतलाई हराउँदाको क्षण नै मेरा लागि सबभन्दा ठूलो उपलब्धि हो। जसका लागि नेपाली फूटबल टीमलाई जति बधाई दिए पनि कम हुन्छ। नेपालको इज्जत राखेकोमा धन्यवादका साथै थप सफलताको कामना।

रमेश मगर, अनलाइनबाट

comments powered by Disqus

रमझम