२३-२९ फागुन २०७२ | 6-12 march 2016

विरासतको ध्वाँस

Share:
  

शेरबहादुर देउवाले 'मसँग विरासत छ' (१६–२२ फागुन) भनेको सुहाएन। राजनीतिमा केको विरासत? प्रधानमन्त्री हुँदा देश विकासका लागि उनले सिन्को भाँचेका छैनन्। विरासतका ठूला कुरा गरेर कार्यकर्ता भुलिंदैनन्।

चालिसे दामोदर, कान्ति थापा, अनलाइनबाट

हैन हामीले किन यो 'थर' लाई यतिविधि महत्व दिइरहेका छौं? अगाडिको मात्र नाम सुन्न र सुनाउन मजा आउँछ त्यति आनन्द पछाडिको थरले यो एक्काइसौं शताब्दीमा दिंदैन। थरलाई महत्व दिनु भनेको जातिवादलाई प्रश्रय दिनु होइन र? मलाई त किन किन थरलाई महत्व दिंदा जातिवादकै प्रचार भए जस्तो लाग्छ।

कमल सविन, अनलाइनबाट

अरू वेला त रामचन्द्र पौडल र शेरबहादुर देउवाको बोली पनि बुझन मुश्किल पर्थ्यो। तर, अन्तर्वार्तामा चाहिं उहाँहरू प्रष्ट बोल्नु हुँदोरहेछ। कुरा बुझे पनि चुरो चाहिं फेरि पनि ठम्याउन सकिएन। कोही विरासतको फुर्ती लाउँछन्, कोही गुटबन्दी अन्त्यको दाबी गर्छन्। के आधारमा पत्याउने?

मुना वाग्ले, अनलाइनबाट

यस्तो होस् कांग्रेस

'नीतिविनाको नेतृत्व' (१६–२२ फागुन) पढियो। 'लोभले लाभ, लाभले विलाप' नहोस्। नेपाली कांग्रेस देशको पहिलो पार्टी हो। यसलाई दुई–चार टोलीमा छिन्नभिन्न नगर्नुहोला। एउटै र उत्कृष्ट टोली बनाउनुहोस्। भनाइ नै छ– टोली भनेको सामूहिक रूपमा काम गर्ने मान्छेको जत्था मात्रै नभएर आपसमा विश्वास गर्ने जमात हो।

रकी जोशी, अनलाइनबाट

कांग्रेसको भावी सभापति कम्तीमा आफूले बोलेको अरूलाई बुझ्ाउन सक्ने होस्। कम्तीमा पार्टी नीतिबारे दुई–चार अक्षर लेख्न सक्ने होस्। बारम्बार अवसर पाउँदा पनि अक्षम नहोस्। विगत स्वच्छ भएको निष्ठावान् होस्। कांग्रेस होस्, कांग्रेस जस्तै नहोस्।

कमल पौडेल, अनलाइनबाट

प्रमले नमागेकै वेश

'प्रमको भारत भ्रमणः न मागे न दिए' (१६–२२ फागुन) रिपोर्ट चित्तबुझदो लाग्यो। पहिलोपटक नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थुप्रै सहयोगको फुर्ती लगाए। पछि तिनै मोदीले नाकाबन्दी लगाए। त्यस्ता प्रधानमन्त्रीसँग के सहयोग माग्नु? सके त उपहार नै दिनु हुन्थ्यो। तर, हाम्रा प्रधानमन्त्री पनि निरीह जनतासामु हँसिमजाक मात्रै गर्न जान्दछन्। बोल्नुपर्ने ठाउँमा चाहिं उनको स्वर सुक्छ।

गड्सेरी माइला र धन पुन, अनलाइनबाट

मागेर काम चलाउने बानी राम्रो होइन। प्रधानमन्त्रीले नमागेर ठीक गरे। तर, केही दिए कि भन्ने पो चिन्ता छ। हुन त नेपालभन्दा मगन्ते भारत नै हो। उसले हामीसँग पानी, बिजुली, खाद्यान्न, जडीबुटी सबैथोक माग्दै आएको छ। हामी त किनेरै खाइरहेका छौं।

मिलन सोताङ, अनलाइनबाट

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गरेर आवश्यक सन्धि सम्झौता गर्नुपर्छ। भारतको विश्वास र भरोसामा बस्नुहुँदैन।

शालिकराम भट्टराई, अनलाइनबाट

खुशीको खबर

गायिका आनी छोइङ डोल्माले संयुक्त राष्ट्रसंघको महासभामा गीत गाउने खबरले उत्साहित भएँ। नेपाली संगीतकर्मीका लागि यो ठूलो सम्मान हो। आनीको स्वरले महासभामा उपस्थित सबै प्रतिनिधिको मन छोओस्। र, बौद्ध भजन विश्वभर गुञ्जिरहोस्। सुखद् समाचारका लागि हिमाल लाई धन्यवाद।

अमर खड्का, अनलाइनबाट

comments powered by Disqus

रमझम