बस्नेतलाई बधाई

Share:
  

हिमाल (२० फागुन) मा प्रकाशित 'चुपचाप कृषि क्रान्ति' शीर्षकको समाचार पढेपछि साँच्चै कृषि क्षेत्रमा केही हुन लागेको हो कि भन्ने आशा जगाएको छ। कृषिमा मात्र हैन शिक्षा र वातावरणको क्षेत्रमा पनि मुलुकलेवीरेन्द्रबहादुर बस्नेतहरूको परिवर्तनकारी सोच र क्रान्तिकारी योजना खोजेको छ।

'मै खाऊँ मै लाऊँ' प्रवृत्ति हावी हुँदै गएको नेपाली समाजमा वीरेन्द्रबहादुरहरूको योजना अनुसारको काम पक्कै पनि अनुकरणीय र प्रेरणादायी छ। सत्ताका लागि तँछाडमछाड गर्ने नेताहरूले देश र जनताका बारेमा अलिकति मात्रै पनि सोचेका छौ भने वीरेन्द्रबहादुरको कृषि क्रान्तिमा होस्टेमा हैंसे गर्न ढिलाइ नगर। यसैमा देशको भलो हुनेछ।

मधु राई, विराटनगर–१५

कृषिप्रधान मुलुकमा हरेकले आ―आफ्नो क्षेत्रमा यसैगरी काम गर्ने हो भने नेपालीको आर्थिक अवस्थामा सुधार आउन धेरै वर्ष कुर्नुपर्दैन। त्यसैले सरकारले कृषकलाई अनुदान दिई कृषि क्रान्ति अभियान अघि बढाउनुपर्दछ।

विशाल तिवारी, इमेलबाट

सरकारले कृषि क्षेत्रमा १० प्रतिशतसम्म अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुले कृषि क्षेत्रको विकासमा मद्दत पुग्नेछ। नेपालमा ६५.६ प्रतिशत जनता कृषि पेशामै आश्रित भएकाले खेतीयोग्य जमिनमा सिंचाइ सुविधा, उन्नत बीउबिजन, उन्नत खेती प्रविधि तथा ज्ञानमा कृषकको पहुँच, सहज कृषि कर्जा जस्ता कुरामा सरकारले ध्यान पुर्‍याउनुपर्दछ। कृषि क्षेत्रको विकासमा कोसेढुङ्गा सावित हुने यस्ता सामग्रीलाई हिमाल ले आउँदा दिनमा पनि स्थान देओस्।

यज्ञबहादुर कार्की, मन्थली, टेकनपुर रामेछाप

युद्धको धम्की नदेऊ

हिमाल (२० फागुन) मा 'प्रकाशित हिंसा ठीक रहेनछ' शीर्षकको समाचार मार्मिक लाग्यो। माओवादीको दशक लामो सशस्त्र युद्धमा होमिएका हजारौं नागरिक अकालमा मारिए, कैयौं अपाङ्ग भए, कैयौं घरबारविहीन। युद्धको उद्देश्य नबुझि युद्धरत पक्षको जबर्जस्ती र ललाइफकाइमा हजारौं नागरिकलाई जनसेनामा भर्ती गरियो। व्यक्तिगत स्वार्थका लागि जबर्जस्ती युद्धमा लगिएका उनीहरू अहिले घर न घाटको भएका छन्। जीवनका उर्वर समय युद्धमा खर्चिएकाहरू अहिले हिंसाप्रति नकारात्मक भएको कुरा समाचारबाट पनि प्रष्ट हुन्छ। अझै पनि युद्धको धम्की दिनेहरूले यो वास्तविकता किन भुलेका होलान्?

भूमिराज राई, खोटाङ, हालः कतार

साधुवाद हिमाल

हिमाल (१३ फागुन) मा प्रकाशित 'ठग अवतार' शीर्षकको समाचार पढ्दा मन खिन्न भएर आयो। गाउँ―गाउँसम्म फैलिएका गैरसरकारी संस्थाहरूले जनताको जीवनस्तर उकास्नको लागि विभिन्न कार्यक्रम गर्न छाडेर उल्टै फर्जी प्रतिवेदन बनाएको समाचार पढ्दा सोझा जनताको क्षेत्रमा काम गर्ने संस्थाको खडेरी नै परे जस्तो लाग्यो। समाजको वास्तविकता बाहिर ल्याएकोमा हिमाल लाईधन्यवाद।

सन्तोष थाप, इमेलबाट

सर्वत्र विभेद

हिमाल (१३ फागुन) मा प्रकाशित 'शक्ति हुन् नारी' शीर्षकको टिप्पणी पढ्दा खुशी लाग्यो। टिप्पणीमा उल्लेख गरिएजस्तै सुदूर र मध्यपश्चिम क्षेत्रमा मात्र होइन, राजधानी काठमाडौंलगायतका शहरका महिलाले पनि यस किसिमका विभेद भोग्दै आएका छन्। सुन्दा―देख्दा सामान्य लाग्ने यस्ता कुसंस्कारले महिलालाई मात्र होइन हाम्रो समाजलाई नै पछाडि धकेलिरहेको छ।

सरस्वती माली, इमेलबाट

दबाब नदेऊ

हिमाल (१३ फागुन) मा प्रकाशित 'तिप्लिङमा येशु' पढेपछि केही लेख्न मन लाग्यो। असल सभ्यतालाई पहिरेर परिवर्तनको बाटोमा हिंड्दा मान्छे वा कविलामा बसेर आफ्नो चालचलनमा अराजक बनेका विकृतपूर्ण मान्छे जो भए पनि आलोचित बन्छ। आफ्नो विचार र विश्वासबाट अर्काको विचार र विश्वासलाई तौलन बन्द गरौं। तिमी यस्तो होइन यस्तो बन्नुपर्छ, तिम्ले यस्तो गर्नुपर्छ, तिम्ले यस्तो मान्नुपर्छ भन्ने दबाब किन? जीवन कसरी बाँच्ने भन्ने छनोट प्रत्येक मान्छेमा निहित हुन्छ।

राजेश नातम्स, इमेलबाट

आशावादी समाचार

हिमाल (१३ फागुन) मा प्रकाशित 'दश वर्षपछिको नेपाल' पढ्दा देशमा पनि केही गर्न सकिन्छ भन्ने आशा जागेको छ। अरू कसैले केही गरिदेला भन्दा पनि आफ्नो क्षेत्रबाट सक्दो काम गर्न सके देशमा प्रगति हुन्छ।

कृष्ण खत्री, इमेलबाट

खसान र जडान

हिमाल (१―१५ माघ) मा प्रकाशित 'भेटिएन खसान जडान' शीर्षकको खोजपूर्ण लेख पढ्न पाइयो। पूर्वमा लद्दाख र पश्चिममा गढवाल तथा उत्तरमा पश्चिमी तिब्बत, दक्षिणमा ठूलो मैदानी भूभागमा विजय गरी जुम्ला सिंजामा राजधानी बनाई शासन गर्ने जुम्ली सिंजा साम्राज्यका खस च मल्ल बौद्ध राजाहरूको राज्य इटाली देशभन्दा ठूलो थियो भनी सन् १९२५ तिर त्यस क्षेत्रमा भ्रमण गरी राजा पृथ्वी मल्लले वि.सं. १४१४ मा स्थापित गरेको दुल्लुस्थित प्रस्तर कीर्तिस्तम्भ जसमा संस्कृति श्लोकहरूमा पाल राजवंशको १८ पुस्ताको र नमाराज वंशको १५ पुस्ताको वर्णन गरिएको छ। यस स्तम्भको खोजकर्ता समेत रहनुभएका इटालियन अन्वेषक जिसेफ टुचीले आफ्नो भ्रमण वृत्तान्तमा लेखेको इतिहास छ।

यसैगरी नागराज चल्ल मल्ल वंशका राजा क्राचल्ल देव (सन् १९०५–२३३) ले कुमाउ विजय गरेको कुरा कुमाउ बालेश्वर मन्दिरमा रहेको ताम्रपत्रले पुष्टि गर्दछ र उनकै सुपुत्र राजा अशोक चल्लले गढवाल समेतमा विजय गरी गढवाल गोपेश्वर मन्दिरमा ठूलो त्रिशूल लेख अर्पण गरेको इतिहास छ।

यस लेखकले यसै कमीको अनुभव गरी खोज्न अनुसन्धानको क्रममा भेटिएका तथ्यहरू 'इतिहासको घेरामा अशोक चल्ल' शीर्षकको लेख ३ भदौ २०६८ को गोरखापत्र मा र दिल्लीमा सुलम्व मुहम्मद विन तुगसफ (सन् १३२५–५१ ई.) को रक्षा भारत वर्ष विजय गरी विश्वविजय गर्ने रहेको सिलसिलामा तत्कालीन विस्तृत र बलियो राज्य सिंजा साम्राज्यमाथि विजय प्राप्त गर्न सुल्तान मुहम्मद विन लुगलकले दश हजार घोडसवार सेना जुम्ली राजधानी सिंजातर्फ पठाएकोमा सो सेना जुम्ली सैन्य शक्तिद्वारा नष्ट गरिएको र यस सेनाबाट बचेकामध्ये तत्कालीन कुनै मुस्लिम इतिहासकारहरूले दश जना र कुनैले तीन जना बाँचेर दिल्ली पुग्न सकेका थिए भनी इतिहासमा उल्लेख गरिएको छ। यो समेतको लेख २ पुस २०५८ को गोरखापत्र मा प्रकाशित भएको छ।

आत्माराम ओझा, महेन्द्रनगर, कञ्चनपुर


स्याउ खेती कहाँ गर्ने, कहाँ नगर्ने?

**मदन राई **

स्याउ र पछिल्लो पंक्तिको नेपाली समाज मेरो विषय भएकाले हिमाल साप्ताहिक (१३ फागुन) मा प्रकाशित 'चेपाङ गाउँमा स्याउ सपना' शीर्षक लेखले ध्यानाकर्षण गर्‍यो। चितवनको चेपाङ गाउँ कान्दामा स्याउ खेती उपलब्धिमूलक हुँदैन भन्दा दुःख लाग्दालाग्दै पनि केही अनुभव/सुझाव राख्न चाहन्छु।

१९०० मिटरभन्दा माथिका चिसो लेक वा हिउँ पर्ने ठाउँमा स्याउ हुन्छ भनेर नेपाल सरकारले २०२० सालदेखि सोलुको सल्लेरी, सिन्धुपाल्चोकको हेलम्बु, रसुवाको धुन्चे, मकवानपुरको दामन, मुस्ताङको मार्फा, डोल्पाको जुफाल, जुम्लाको राजीकोट, हुम्लाको दार्मा र बैतडीको सतबाँझ्मा फार्महरू खोल्यो। ती बाहेकका लेकाली भेगका किसानलाई समेत स्याउका बिरुवा बाँडियो। सबैले उत्साहका साथ स्याउ लगाए। बोट हलहल बढ्दै गए। केही ठाउँमा त राम्रै फल्यो पनि, तर समय बित्दै जाँदा मुस्ताङ र कर्णाली अञ्चल बाहेक अन्य ठाउँमा धेरै समस्या देखिए। अन्ततः ४० वर्ष नपुग्दै सबैजसो ठाउँका स्याउ सकिए।

सरकारी कामको जिम्मेवारी र निजी चाखले गर्दा म नेपालका स्याउ लगाइएका सबै ठाउँमा हिंडेरै पुगेको छु। केही ठाउँमा आफैंले पनि लगाएर गल्ती गरें। किसान र सरकारको धेरै लगानी नोक्सान भयो। सबैलाई आग्रह छ– अब त्यो गल्ती नदोहोर्‍याऔं।

नेपालका धेरै ठाउँमा स्याउ नहुनुको पहिलो कारण असिना हो। फुल्ने–फल्ने बेलामा असिनाले चुटेर फलको रूप नै बिगारिदिन्छ। त्यस्तो स्याउ बजारयोग्य हुँदैन। दोस्रो कारण कुहिरो र घनघोर वर्षा हो। फलमा रङ चढ्ने बेलामा कुहिरो र झ्रीले चम्किलो हुनै दिंदैन। त्यस्तो स्याउ खान योग्य भए पनि बजार पाउँदैन। तेस्रो समस्या ढुसी रोग र कत्ले कीरा हुन्। बढी ओस (हाई ह्यूमिडिटी) का कारण बोक्रा पाप्रिने रोग (पेपरी बार्क), ध्वाँसे ढुसी (सुटी मोल्ड), जरा कुहिने (रुट रट) आदि ढुसी रोग र स्यान होजे स्केल कीरा लगायतका रोग लाग्छन्। जसका कारण १५ वर्षभित्र अधिकांश बोट मरिसक्छन्। जबकि, किसानलाई फाइदा दिन स्याउको बोटले सरदरमा ४० वर्ष फल दिनुपर्छ।

सापेक्षिक आर्द्रता (रिलेटिभ ह्युमिडिटी) को वृद्धिसँगै रोगकीराको प्रकोप बढ्दै जान्छ। मुस्ताङको टुकुचे गाविस (२६०० मिटर) भन्दा माथिका स्याउमा मात्र रोग कीरा घातक रूपमा फैलिन सकेको छैन। मुस्ताङकै २५०० मिटरभन्दा तलका कोबाङमा स्यानहोजे स्केलले धेरै नोक्सान गरेको छ। लेते, घास गाउँहरूमा त बढी वर्षाका कारण माथि उल्लिखित रोगकीराबाट स्याउका बोटहरू मासिई नै सक्यो भन्दा पनि हुन्छ। नेपालको ७०० मिलिमिटर भन्दा बढी पानी पर्ने ठाउँमा चैत, वैशाख र जेठमा असिना पर्छ, कुहिरो बढी लाग्छ। त्यस्ता ठाउँमा कुनै पनि जातको स्याउ सप्रँदैन। संसारभरि नै असिना नपर्ने, ५०० मिलिमिटर भन्दा कम वर्षा हुने, फलमा रङ आउने बेलामा घाम लाग्ने, पर्याप्त सिंचाइ हुने ठाउँहरूमा स्याउ खेती गरिन्छ।

२५० मिलिमिटर भन्दा कम पानी पर्ने हुनाले टुकुचे माथिको ठाउँ स्याउ खेतीका लागि नेपालको सबैभन्दा उत्तम ठाउँ हो। वर्षमा ७०० मिलिमिटर भन्दा कम पानी पर्ने कर्णालीमा पनि स्याउ खेती सफल भएको छ, जसको विस्तार आवश्यक छ। चितवनको छिमेकी जिल्ला मकवानपुरको दामन लगायत अन्य ठाउँमा स्याउ खेती असफल भइसकेकाले चेपाङहरूको आर्थिक वृद्धिका लागि अन्य रूखबाली रोजौं। त्यसका लागि दामन वागबानी केन्द्रमा सम्पर्क राखे राम्रो होला। मेरो अनुभवमा नासपाती, हलुवावेद, किवी, ओखर, कटुस, एभोकाडो, मेकाडेमिया नट, पिकन नट आदि फल र जडीबुटी विकल्प हुन सक्छन्। सडक पुगेको छैन भने फलफूल लगाएर मात्र पुग्दैन। यसमा पनि ध्यान जाओस्।

अन्तमा, बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेत र कृषिमा यान्त्रीकरण गर्न उनलाई साथ दिने किसानहरूलाई धन्यवाद। नेपाली कृषिको भविष्य यान्त्रीकरणबाट मात्र सम्भव छ।

सुनाकोठी, ललितपुर

comments powered by Disqus

रमझम