७-१३ चैत २०७२ | 20-26 March 2016

समृद्धिको साँचो अस्त्र

Share:
  

राष्ट्रिय परिचयपत्रको छपाइ नेपालमै हुनुपर्छ, गोपनीयता कायम गरिनुपर्छ। टेलिफोन दर्ता पनि यसकै आधारमा भइदिए राम्रो हुन्छ। कार्डभित्रको डाटा सीम (चिप) मा धेरै विवरण अट्न सक्छन्। यस्ता प्रविधिले प्रशासनिक कामकाजमा निकै सहजता ल्याउँछन्। तसर्थ, राष्ट्रिय परिचयपत्रको अवधारणा वास्तवमै 'समृद्धिको अस्त्र' (३० फागुन–६ चैत) हो। हिमाल ले कार्डको नमूनामा चिपको छेउमा राष्ट्रिय झ्ण्डा राख्नु चाहिं ठीक लागेन। कार्ड प्रयोग गर्दै जाँदा झ्ण्डा स्क्र्याच हुनसक्छ।

दिवाकर, युनिमा, तिलक, अनलाइनबाट

पूर्वाग्रही 'धर्मको धन्दा'

इसाईप्रति पूर्वाग्रहले ओतप्रोत 'धर्मको धन्दा' (३० फागुन–६ चैत) रिपोर्टलाई स्थान दिएर हिमाल ले ओज घटाएको छ। यस्तो लाग्छ, रिपोर्टरले मनमा लागेका कुरा पुष्टि गर्न 'फेद न टुप्पा' को प्रमाण पेश गरी इसाईलाई बदनाम गर्न चाहिरहेका छन्।

हिन्दूले आश्रम, बौद्धमार्गीले गुम्बा र इस्लाम समुदायले मदरसामा धार्मिक शिक्षा दिनुहुन्छ भने इसाईले चाहिं किन नहुने? इसाई शिक्षामा के त्यस्तो तत्व छ जुन बालबालिकाका लागि हानिकारक छ? के बालबालिकालाई बाइबल पढाउनु अपराध हो? नेपाली बालबालिकाले दशैं–तिहार मनाउनै पर्छ भन्ने कहाँ लेखिएको छ? समाचारमा पास्टर तथा सञ्चालकको नाम उल्लेख गर्न सक्नेले उनीहरूको भनाइ चाहिं किन राख्न सकेनन्?

बालगृहले विदेशबाट करोडौं आर्थिक सहयोग लिएको बताइए पनि त्यसलाई पुष्टि गर्नुको सट्टा 'तथ्यांक कतै भेटिंदैन' भनिएको छ। तथ्यांक विना जथाभावी आरोप लगाउन पाइन्छ? युनिसेफको अध्ययनलाई आधार बनाई दुर्गमबाट ३०० बालबालिका ओसार–पसार भएको आरोप लगाइएको छ। प्रशासनमा के, कति उजुरी परे भन्नेसम्म लेखिएको छैन। त्यसमा बालगृहको संलग्नताको के ग्यारेन्टी छ?

जोयस, अनलाइनबाट

कर्णाली र अन्य दुर्गम जिल्लाको विकासमा शासकले कहिल्यै केही गरेनन्। त्यहाँका जनता कष्टकर जीवन जिउन बाध्य छन्। गरीब जनताको भोट पाएर पदमा पुगेकाहरू तिनै जनताका लागि सिन्को समेत भाँच्दैनन्। हामी चाहिं पश्चिमाले यस्तो–उस्तो गरे भन्दै कोकोहोलो मच्चाउँछौं। नेपालमा इसाई धर्मको प्रचार बढोस् भन्न खोजेको हैन, तर; यसको जड पत्ता लगाएर जनताको जीवनस्तर उकास्ने काममा लागेको खै?

कल्पित शर्मा घिमिरे, अनलाइनबाट

विकासको आवरणमा कैयौं अवाञ्छित क्रियाकलाप भइरहेका छन्। कानून मिचेर भइरहेका यस्ता गतिविधिमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ। देश कमजोर भएका वेला बाह्य पक्षले आफ्नो स्वार्थअनुकूल काम गर्छन्। धर्मनिरपेक्षता भनेको सबैलाई आ–आफ्नो आस्थाको आधारमा धर्म मान्ने वा नमान्ने छूट हुनु हो। तर, परिस्थितिजन्य अवस्थाको फाइदा उठाएर वा प्रभावमा पारेर धर्म परिवर्तनका लागि गरिने काम अपराध नै हुन्।

पुष्कर कँडेल, अनलाइनबाट

केटाकेटीलाई हीरा नै दिए पनि उनीहरूले एकछिन मात्र खेलाउने हुन्; हराएपछि वास्ता हुँदैन। त्यसैले हिन्दूको सन्तानलाई बाइबल दिंदैमा ऊ क्रिश्चियन भइहाल्दैन।

आर्यन काफ्ले, इमेलबाट

सेनामा राजनीतिको गन्ध

भारतले नेपालको सीमा मिच्दा नबोल्ने सेना राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि आफूहरू परिचालित हुनसक्ने बताइरहेको छ। सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले यसलाई 'परिस्थितिजन्य सतर्कता' (३० फागुन–६ चैत) भने पनि यो राजनीतिक स्वार्थ मिसिएको अभिव्यक्ति हो।

मिङसोमाको पापा, अनलाइनबाट

गैरजिम्मेवार सभामुख

२०४६ सालयता सबै राजनीतिक पार्टीले संविधानलाई आफू अनुकूल व्याख्या गर्दै आएका छन्। सभामुख ओनसरी घर्ती मगरले पनि सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति प्रकरणमा त्यही परिपाटीलाई निरन्तरता दिइन्। 'संविधानको सम्मान गर' (३० फागुन–६ चैत) मा भनिए झ्ैं यो उनको गैर–जिम्मेवारपूर्ण 'एक्सन' हो।

सञ्जयनाथ जोशी, अनलाइनबाट

नेपालीको आशा

केपी ओली सरकारले चीनसँग इन्धन व्यापार सम्झौता; चीन–नेपाल जोड्ने अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणका लागि पहल गर्नुपर्छ। कम्तीमा ५ ठाउँमा नाका खोलिनुपर्छ। पक्की सडक, तिब्बत–काठमाडौं मेट्रो रेल र तिब्बत–काठमाडौं ग्याँस पाइपलाइन निर्माण गरे उनी साँच्चै 'बाडुली लाउने प्रधानमन्त्री' बन्नेछन्। तसर्थ, उनले 'बेइजिङको आशा' (३० फागुन–६ चैत) मात्रै पूरा नगरी आफ्नो देशको हित अनुकूल कार्य गर्नुपर्छ।

चेतनाथ निरौला, अनलाइनबाट

comments powered by Disqus

रमझम