'नेक्सस' नियति

Share:
  

'यसरी ठगियो पेट्रोलमा' (हिमाल ७–१३ चैत) पढेपछि देशको बेहाल देखेर वैराग लाग्यो। आपूर्तिमन्त्री गणेशमान पुन र नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कासमेत विराट पेट्रोलियमको बदनियतमा सामेल रहेछन्। महत्वपूर्ण पदमा बसेकाहरू नै ठगी 'नेक्सस' मा सामेल भएपछि निरीह जनताले के आशा गर्ने, कसले कारबाही गर्ने?

हर क्षेत्रमा ठगी, भ्रष्टाचार, अन्यायको परिपाटी कहिले अन्त्य होला? देशमा बस्न चतुर, छूद्र र भ्रष्ट हुनैपर्छ भन्ने मान्यता स्थापित हुँदैछ। अराजकता मौलाउनुको कारण यही हो। यस्तो अवस्थामा पनि हामी मूकदर्शक बस्नु परेको छ।

झाविन्द्र, आमोस, अनलाइनबाट

सान्दर्भिक लेख

'नेपाल–चीन सम्बन्धमा अंग्रेज चासो' (७–१३ चैत) राम्रो लाग्यो। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेकै वेला लेख आउनुले सान्दर्भिकता पनि मिल्यो। नेपालले चीनमा प्रतिनिधिमण्डल पठाउँदाताकाको बेलायती चासोजस्तै अन्य राष्ट्रको चासो अहिले पनि कम भएको छैन। इतिहास विश्लेषण गरी निर्णय लिनसके धेरै लाभ लिन सकिन्छ।

आशा थापा, बुटवल, रूपन्देही

शौचालय समस्या

'न पानी न शौचालय' (७–१३ चैत) पढें। तर, समाचारले मात्र सम्बन्धित निकायको ध्यानाकर्षण होला जस्तो लाग्दैन। भूकम्पका कारण घरबारविहीन पीडितहरूले सरकार कुरेको एक वर्ष पुग्न आँटिसक्यो। घर नै नभएका वेला शौचालयको कुरा भन्ने तर्क पनि आउन सक्छ। सामाजिक दुरवस्था र स्थानीयको मर्काको समाचारका लागि धन्यवाद।

आशुतोष न्यौपाने, अनलाइनबाट

काठः खुर्पाको बिंड!

काष्ठविज्ञ लजमिना जोशीका कुरा घत पर्‍यो। उनले (७–१३ चैत) भने झैं वास्तवमा हामीले आफ्नै सम्पत्ति चिनेका छैनौं। हाम्रा जडीबुटी, वनस्पति सबै 'बुझनेलाई श्रीखण्ड, नबुझनेलाई खुर्पाको बिंड' उखान जस्तै अवस्थामा छन्। सम्पत्ति चिने हामी धेरै धनी भइसक्नेथियौं। भूकम्पले ढलाएका सांस्कृतिक धरोहर पुनःनिर्माणमा स्थानीय काठपात प्रयोग गरिएमा यसले मौलिकता बचाउन सघाउँछ। काठ सदुपयोगको दृष्टिले पनि यो राम्रो उपाय हुनसक्छ।

विराज क्षेत्री, अनलाइनबाट

काष्ठमण्डप पुनःनिर्माण

म वेला–वेला छोराछोरीलाई काष्ठमण्डप घुमाउन लैजान्थें। आफूले जानेका कुरा सुनाउँथें। एउटै सालको काठले बनेको सत्तल भनेको सुन्दा उनीहरू छक्क पर्थे। अहिले काष्ठमण्डप छैन, भुईंचालोले ढाल्यो। यत्तिका समय बित्दा पनि पुनःनिर्माण नभएको देख्दा नरमाइलो लाग्छ। यस्ता सांस्कृतिक र ऐतिहासिक धरोहर संरक्षण गर्न आवश्यक छ।

सुजित ढुंगाना, अनलाइनबाट

ल्हारक्याल र नेताहरू

झ्ट्ट हेर्दा धार्मिक जस्तो देखिने र पदले सांसद ल्हारक्याल लामा सम्बन्धी विवाद यसअघिका पत्रपत्रिकामा पनि आएका थिए। ल्हारक्याल यो हदसम्मको गतिविधिमा संलग्न हुन्छन् भन्ने कुरा उनलाई भेट्ने कसैलाई पनि विश्वास हुँदैन। (७–१३ चैत) मा छापिएको 'ल्हारक्याल राजनीति' राम्रो लाग्यो। तर शक्तिशाली नेताहरूले पूजा गरिरहेसम्म ल्हारक्यालहरू जन्मिरहन्छन्, समाजलाई निचोरिरहन्छन्।

कमला थापा, ललितपुर

जति पनि संगीन अपराध हुन्छ त्यसका आरोपी धरौटीमा छुट्दै आएका छन्। अपराधी छुट्छ फेरि अपराध गर्छ। किनकि अपराधी पैसाको प्रभावमा उम्किन्छ। प्रमाणले ठहर गरेका अपराधीलाई जेल हाल्नै पर्छ। अपराधीलाई खुला छाड्दा अपराध भइरहन्छ।

ऋतुराज क्षेत्री, अनलाइनबाट

मधेशसँग बेइमान

संविधान बनाउनु सराहनीय काम हो। तर, आदिवासी जनजाति, मुस्लिम, पिछडिएको वर्गलाई नसमेटी आन्दोलनबीच संविधान ल्याउनु बहादुरी होइन। भनिन्छ, 'जहाँ अन्याय त्यहाँ विद्रोह!' तर, मधेश आन्दोलनमा किन दमन गरियो? मधेशका जनतालाई मधेश दिन शासक किन डराउनु? यतिवेला राज्य बेइमान बनेको छ। सञ्चारमाध्यमले पनि कर्म भुल्नुहुँदैन।

अजय यादव 'वियोगी', बारा

comments powered by Disqus

रमझम