२१-२७ चैत २०७२ | 3-9 April 2016

साँच्चैको 'युगसन्धि'

Share:
  

भारतको पटक–पटकको नाकाबन्दीबाट उत्पन्न व्यापक जनदबाबकै कारण चीनसँग पारवहन सम्झौता र रेल्वे मार्ग सम्बन्धी समझ्दारी भएको हो। यसका लागि सरकारको प्रशंसा गर्नैपर्छ। सम्पादकीय 'युगसन्धि' (१४–२० चैत) सराहनीय छ।

कतिपय भने चीनसँगको सम्झौताकै कारण सरकार ढल्छ वा ढलाइन्छ भन्दै संशय प्रकट गरिरहेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई अहिले फाले पनि आगामी निर्वाचनमा उनले राम्रो मत ल्याउने आधार बनाइसकेका छन्। २०१७ सालकै घटना हेरौं, त्यो वेला भारतले आफूले नरुचाएका बीपी कोइरालालाई हटाएर राजा महेन्द्रलाई सत्तारोहण गरायो। तर, परिस्थितिले महेन्द्रलाई बीपीभन्दा जब्बर भारतविरोधी बनाइदियो। अहिले ओलीलाई हटाउनु भनेको अर्को महेन्द्र बनाउनु हो।

गड्सेरी माइला

अनलाइनबाट

दलको दुर्गन्ध

हिमाल (१४–२० चैत) व्यङ्ग्य 'कांग्रेसजन कुरा बुझ्ून्' मा दलगत दुर्गन्ध महसूस भयो। कांग्रेसले मात्रै होइन, सबै दलले कुरा बुझन जरूरी छ। यहाँ कोही पनि 'एक्लो बृहस्पति' छैनन्। कांगे्रसभित्रका खुमबहादुर खड्का अन्य दलमा पनि प्रशस्तै छन्। तसर्थ, समाचार वा टिप्पणी पूर्वाग्रही हुनु भएन।

हरि–सुमन

अनलाइनबाट

कांगे्रसको काइदा

रामचन्द्र पौडेल र शेरबहादुर देउवा भारतको इशारामा नचल्ने हो भने नेपाली कांग्रेसको शक्ति अतुलनीय हुनेथियो। संघर्षशील र गौरवमय इतिहास बोकेको पार्टीले जनतालाई अवश्य लोभ्याउने थियो। बीपी कोइरालाको छायाँले आडभरोसा दिएकै छ। यस्तोमा अहिलेका पार्टी पदाधिकारीले सत्ताका लागि गुलामी गर्न पटक्कै सुहाउँदैन। काइदा बदल्नुपर्‍यो। कांग्रेस बिग्रिएको हेर्नु नपरोस्।

युवराज क्षेत्री

अनलाइनबाट

कांग्रेसमा रामचन्द्र पौडेलको दिन सकियो। तर, उनको प्रयास भने जारी रहला। 'कसरी अघि बढ्ला?' (१४–२० चैत) मा भनिएको कुरा सही हो भने, गुटबन्दीले बिग्रिएको कांग्रेस सुधार्न नसक्ने हो भने पार्टी परित्याग गरेकै हेर्न बेस!

बैरागी माइलो, ज्योति केसी

अनलाइनबाट

तान्त्रिक मूर्ति!

हिमाल मा छापिएका मूर्तिकार विजय महर्जनका कुरा सुनेर छक्क परें। 'विश्वरूपा विनिर्माण' (१४–२० चैत) मा उनले तान्त्रिक शक्तिलाई मूर्तिमा मिसाउन खोजिरहेको बताएका छन्। के मूर्तिमै तान्त्रिक शक्ति हुन्छ? विश्वमा यस्तो अभ्यास कतै भएको छ? मूर्तिकलामा रुचि भएकाले मलाई पनि उनका कुरामा चाख लाग्यो।

कमलेश यादव

अनलाइनबाट

उमेरहदको स्वार्थ

'निजामती सेवाः ६० मा अवकाश!' (१४–२० चैत) को पहिलो हरफले नै सरकारसँग रीस उठायो। केही सचिव र सहसचिव उमेर हदका कारण अवकाशको सँघारमा पुगेकाले पो अध्यादेशमार्फत निजामती कर्मचारी सेवा ऐन संशोधन गरी अवकाशको उमेर हद बढाउन लागिएको रहेछ। यस्तै कारण नै हो, मुलुक परिवर्तन नभएको। अवकाशको उमेर हद तोक्दा वैज्ञानिक पद्धति अपनाइनुपर्छ। समाजशास्त्री डा. गणेश गुरुङले भनेझैं औसत आयु बढेको र देशलाई आर्थिक भार कम हुने हो भने उमेर हद बढाएकै राम्रो। तर, कसैको उद्धारका लागि यसो गरिए त्यो कर्तुत मात्र हुनेछ।

शिला गुरुङ, अनलाइनबाट

comments powered by Disqus

रमझम