१९-२५ वैशाख २०७३ | 1-7 May 2016

भूकम्पपीडितमाथि अक्षम्य गल्ती

Share:
  

आवरण रिपोर्ट 'पीडित बिर्सेर पुनःनिर्माण' (१२–१८ वैशाख) मार्मिक लाग्यो। महाभूकम्पको इपिसेन्टर, गोरखाको बारपाकका कमलबहादुर गुरुङको कथाले मन भक्कानियो। देशमा विपत् आइलाग्दा बाँकी काम छाडेर भए पनि राहत र पुनःनिर्माणमा लाग्नुपर्ने सरकार एक वर्षपछि पनि पुरानै कुरा दोहोर्‍याइरहेको छ। भूकम्पपीडितप्रति सरकारी बेवास्ता अक्षम्य र लाजमर्दो छ।

मोहन घिमिरे, अनलाइनबाट

नेतालाई देशविदेश घुम्दैमा ठिक्क छ, आलिशान जीवन बाँचिरहेकै छन्। यस्तो वेला भूकम्पपीडितको के चिन्ता? प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै मात्र सम्पूर्ण भूकम्पपीडितलाई छानामुनि बस्ने प्रबन्ध मिलाउने प्रण गरेका छन्। तर, यो घरको छानो हो वा आश्वासनको? हेर्न बाँकी छ।

राजबाबु मगराती, अनलाइनबाट

बुद्धभूमिको बहस

गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो र लुम्बिनी नेपालमा पर्छ। यस विषयमा थप अनुसन्धान गरिरहनु आवश्यक छैन। पहिल्यै प्रमाणित तथ्य किन बारम्बार प्रमाणित गरिरहनु पर्‍यो? लेखकले 'प्राचीन कपिलवस्तुः सक्कलीको नक्कली तर्क' (१२–१८ वैशाख) मा भनेका कुरा मनासिब हुन्। तर, यो विषय पटक–पटक कोट्याइरहँदा भ्रम मात्र फैलन सक्छ। प्राचीन कपिलवस्तुको भूगोल केलाइरहनुको कुनै अर्थ छैन।

भूपेन्द्र/अराज पौडेल, अनलाइनबाट

कपिलवस्तुबारेको लेख पठनीय लाग्यो। वर्तमानलाई दिशानिर्देश गर्न इतिहासको अभिलेख आवश्यक हुन्छ। इतिहासबारे सही जानकारी नहुँदा समाजमा कोलाहल मच्चिन सक्छ। पिप्रहवा र तिलौराकोटलाई आधार बनाएर नेपाल र भारतले प्राचीन कपिलवस्तु आफ्नो भूमिमा पर्ने तर्क गरिरहेको छ। दुवै ठाउँमा प्राचीन अवशेष पाइएकाले गलत त होइन रहेछ। कपिलवस्तुबारे स्वयं हामीलाई नै तथ्यगत जानकारी नभएकाले विवाद मच्चिएको रहेछ। यस्ता जानकारीमूलक विषय निरन्तर पढ्न पाइयोस्।

सुदामा अधिकारी, अनलाइनबाट

देवकीलाई बधाई!

सुदूरपूर्ववासीलाई सुदूरपश्चिमका कला, संस्कृति र प्रथाहरूबारे जानकारी पाउँदा अचम्म लाग्छ। कानूनी रूपमा उन्मूलन भइसकेको देउकी प्रथा अझ्ै लुकिछिपी कायम रहेको कुरा वृत्तचित्रमार्फत देखाएर देवकी बिष्टले राम्रो काम गरेकी छन्। यस्तो अमानवीय प्रथा अन्त्यका लागि सरकारले कडा कदम चाल्नुपर्छ।

रविचन्द्र, दिलीप, अनलाइनबाट

कसको सरकार?

बाजुरावासी वर्षौंदेखि भोकमरी सहिरहेका छन्, तर सरकार नदेखे झैं गरिरहेको रहेछ। यस्तो सरकारले भूकम्पपीडितको समस्या देखेन भनेर गुनासो गर्नु बेकार रहेछ। आखिर सरकार के गर्छ? के सुन्छ? कसका लागि काम गर्छ? 'बाजुराः सधैंको भोकमरी' (१२–१८ वैशाख) ले अनेकौं प्रश्न सिर्जना गरिदिएको छ।

सरकारकै कारण देश बर्बाद बन्दै गएको छ। जनताले आफ्नो बन्दोबस्त आफैं गर्नुपर्ने रहेछ। तर, जमीन र उब्जनी नै नभएका जनताले चाहेर पनि के गरुन् र?

पुष्कर बानियाँ, अनलाइनबाट

लघुवित्तको योगदान

हिमाल खबरपत्रिकाको ५–११ वैशाख २०७३ को अंकमा गरीबी न्यूनीकरणको उद्देश्यले स्थापित लघुवित्त संस्थाहरूबारे विशेष रिपोर्ट पढ्ने मौका मिल्यो। तर, उक्त सामग्री सीमित अध्ययनका भरमा गरेको देखियो, जसमा केही तथ्य र विषयवस्तुसमेत फरक परेको छ।

रिपोर्टमा नेपाल ग्रामीण विकास ब्यांकका अध्यक्ष खेमराज पाठक भनिएको छ, तर यस ब्यांकका अध्यक्ष माणिकरत्न शाक्य हुन्। त्यस्तै, लघुवित्त संस्थाहरूले ८ प्रतिशत ब्याजमा रकम ल्याएर २७ प्रतिशतसम्म ब्याज लिने भन्ने भनाइ पनि शाक्यको नभएको व्यहोरा प्रष्ट पार्न चाहन्छौं।

लघुवित्त संस्थाहरूको आकर्षण विपन्न वर्गलाई विना धितो घरदैलोमै ऋण प्रदान गरिने आर्थिक अभियान मात्र होइन, सामाजिक पनि हो। वित्तीय साक्षरता, लघुबचत, विप्रेषण, शिक्षा, स्वास्थ्य र सामाजिक चेतना बढाउन लघुवित्तले ठूलो योगदान गरेको छ। विनाधितो घरदैलोमा स–सानो ऋण लगानी गर्दा लघुवित्त संस्थाहरूको संचालन खर्च बढ्छ। तर, विभिन्न देशहरूमा संचालित लघुवित्त संस्थाको ब्याजदर भन्दा नेपालमा लिइने ब्याजदर कम छ।

रिपोर्टले एकाध लघुवित्तका सञ्चालन प्रक्रियामा भएका असफलता र त्रुटिलाई जोडेर समग्र लघुवित्त अभियानमै नकारात्मक भाव उत्पन्न गराउन सक्ने जोखिम छ। तर, जित्नै पर्ने गरीबीको युद्धमा लागेको लघुवित्त अभियानलाई सबल र सेवामुखी बनाउन रचनात्मक सहयोग गर्नु नै हिमाल को दायित्व हो भन्ने हामीलाई लाग्छ।

धर्मराज पाण्डे

अध्यक्ष, नेपाल लघुवित्त ब्यांकर्स संघ

प्रमुख कार्यकारी अधिकृत, नेपाल ग्रामीण विकास ब्यांक लि.

comments powered by Disqus

रमझम