पलायन रोकौं

Share:
  

हिमाल (२७ फागुन) मा प्रकाशित 'भयावह प्रवृत्ति' शीर्षकको समाचार पढ्दा मनमा सन्नाटा छायो। दक्ष जनशक्ति विदेश पलायनको भयावह स्थिति सम्बन्धी रिपोर्टले वर्तमान अवस्था छर्लङ्ग हुन्छ। बेरोजगार युवायुवती कामको खोजीमा विदेशिएको खबर नौलो होइन। तर, सम्बन्धित क्षेत्रका दक्षहरू समेत अवसरको खोजीमा विदेश पलायन हुनु चाहिं समाज र राष्ट्रकै लागि घातक हो। यसबाट सम्बन्धित क्षेत्रमा दक्ष जनशक्तिको अभावसँगै समाज र देशको बौद्धिक तथा आर्थिक विकासमा असर पर्नेछ। देशको विकराल परिस्थिति, राजनीतिक अस्थिरता तथा अराजक कार्यशैली नै दक्ष जनशक्ति पलायनका मुख्य कारण हुन्। यसलाई रोक्न सरकारले ठोस नीति ल्याउनुपर्दछ।

भूमिराज राई, खोटाङ, हालः कतार

हिमाल (२७ फागुन) मा प्रकाशित 'मिडियासँग जनगुनासो' टिप्पणी सान्दर्भिक लाग्यो। विभिन्न समयका अनुसन्धानले पनि मिडियामा राजनीतिक विषयवस्तु हावी भएको देखाएका छन्। राजनीतिक समाचार, नेताका भाषण अनि आशा र निराशा जगाउने सामग्रीको बाहुल्यले आम पाठक दिक्क छन्। स्पष्ट रूपमा देख्न र मापन गर्न सकिने, राजनीतिक कित्ताकाट छर्लङ्ग हुने गरी प्रस्तुत गरिने विषयवस्तुले स्वतन्त्र मिडियामाथि औंला ठड्याउनेलाई बल पुगेको छ। त्यसमाथि मिडियामा हुने लगानीको राजनीतिक स्वार्थ झ्नै डरलाग्दो छ, जसलाई न देख्न सकिन्छ न त मापन गर्न। जसका कारण मिडियाले उठाएका विषयवस्तुप्रति आम नागरिक आँखा चिम्लेर विश्वास गर्दैनन्। अन्तमा, साप्ताहिक रूपमा प्रकाशित भएकोमा हिमाल लाई बधाई र शुभकामना।

विनय गुरागाईं, इमेलबाट

अन्याय भयो

हिमाल (२७ फागुन) मा प्रकाशित 'निर्दोष फन्दामा' शीर्षकको समाचार पढ्दा दुःख लाग्यो। भारतमा श्रम गर्ने नेपालीहरू आफ्नै भूमिमा आएर समस्यामा पर्नु हाम्रै लागि पनि लाजमर्दो कुरा हो। नेपालमा भारु ५०० र १००० का नोट चल्दैन र यो अवैध हो भन्ने कुरा धेरैलाई थाहा छैन। निर्दोषहरू नफसुन् भन्नेतर्फ सबैको ध्यान जानुपर्दछ। अन्यथा काम गरेर स्वदेश फर्कने नेपाली यसरी नै हरेक दिन समस्यामा पर्नेछन्।

सुमन पोखरेल, इमेलबाट

जमुनाको रहर

हिमाल (२० फागुन) मा प्रकाशित 'मलाई शिक्षक बन्नु छ' शीर्षकको जमुना चेपाङको समाचार पढेर खुशी लाग्यो। धनी, उच्चवर्ग र चिरपरिचित व्यक्तिमा केन्द्रित पत्रपत्रिकाका सामग्रीहरूले पाठकहरूलाई दिक्क बनाइरहेका बेला यस्ता सामग्रीले नयाँ स्वादको अनुभूति भएको छ। चेपाङ समुदायकी जमुनाहरूको रहर प्रकाशित गरेकोमा हिमाल लाई धेरै धन्यवाद। साथै, साप्ताहिक हिमाल लाई शुभकामना।

बुद्धि चामलिङ राई, उदयपुर, गाईघाट

उज्यालो भविष्य

हिमाल (२० फागुन) मा प्रकाशित रिपोर्ट 'असली क्रान्तिकारी' पढेपछि आम्दानीका लागि अरूको मुख ताक्नु पर्दो रहेनछ भन्ने कुरा प्रष्ट भएको छ।

झ्ण्डै ८० प्रतिशत जनता कृषिमा आश्रित भए पनि आफैंले गरेको कामप्रति हाम्रो सम्मान छैन। 'राम्रोसँग पढ, हैन भने हलो जोत्नु पर्ला' भन्ने उखान अनुसार युवा पींढी हलो जोत्नुपर्ने डरले खोक्रो किताबी ज्ञानबाट थिचिएको छ। युवाहरू विदेशिनुका धेरै नराम्रा पक्ष होलान् तर केही राम्रा पक्ष पनि छन्। सबैभन्दा ठूलो कुरा उनीहरूले श्रमको महत्व बुझेका छन्। विदेशबाट फर्किएका यिनै पढालेखा युवाहरूले कृषिमा उदाहरणीय काम गरेका छन्। काम पनि नहुने र फुर्सद पनि नहुने परम्परागत प्रणालीको सट्टा कृषिलाई यान्त्रिकीकरणमार्फत आधुनिकतातर्फ डोर्‍याएर उच्च प्रतिफल दिने पेशा बनाउन सके कृषिलाई सम्मानजनक उद्यम बनाउन सकिन्छ।

पछिल्लो समय आफ्नो पेशामा स्थापित व्यक्तिको कृषि मोहका कारण धेरैको ध्यान यसमा केन्द्रित भएको छ। नीतिगत तहमै योजना बनाई अहिले देशभर चलेको उन्नत एवं आधुनिक कृषिको लहरलाई एउटा दिशा दिन सके उज्यालो भविष्यका लागि धेरै पर्खनु पर्दैन।

रामचन्द्र राजवंशी, झाँगाझोली रातामाटा―१, सिन्धुली

दुर्घटनाबाट जोगाऊँ

हिमाल (१३ फागुन) मा प्रकाशित 'राजमार्ग नबनुन् मृत्युमार्ग' शीर्षकको समाचार पढ्दा आङ नै सिरिङ्ग भयो। हुन त दुर्घटना जानाजान हुँदैन। तर, धेरैजसो दुर्घटना चालककै कारण भएका छन्। व्यवसायीहरूको अस्वस्थ प्रतिस्पर्धा दुर्घटनाको अर्काे कारण हो। अस्वस्थ प्रतिस्पर्धा हटाउन गाडी छुटेको र गन्तव्यमा पुगेको समयको रेकर्ड राख्ने व्यवस्था भएमा गति नियन्त्रणमा मद्दत पुग्नेछ। जसबाट दुर्घटनामा कमी ल्याउन सकिन्छ। अन्तमा, साप्ताहिक यात्राका लागि हिमाल लाई बधाईसहित शुभकामना।

राजेन्द्रप्रसाद पन्त, कीर्तिपुर काठमाडौं

सकारात्मक समाचार

हिमाल (२७ फागुन) मा प्रकाशित 'प्रत्यारोपणमा प्रगति' शीर्षकको समाचार पढ्दा खुशी लाग्यो। सानै उमेरमा दुवै मिर्गौला फेल भएका नेपालीहरू भएभरको सम्पत्ति मिर्गौला डायलासिसमा खर्च गरेर घर न घाटको हुने समस्या बढिरहेको बेला स्वदेशमै सस्तोमा प्रत्यारोपण सुविधा पाउँदा धेरैलाई सहज हुन्छ। चिकित्सा विज्ञानमा भएको प्रगतिले उपचारका लागि विदेशिने पैसा समेत जोगिएको छ। सकारात्मक समाचारका लागि हिमाल लाई धन्यवाद।

ज्ञानु अधिकारी, इमेलबाट

comments powered by Disqus

रमझम