९ -१५ जेठ २०७३ | 22-28 May 2016

अन्यायी बूँदा

Share:
  

'अन्यायी ९ बुँदे' (२–८ जेठ) रिपोर्टमा भनिए झैं द्वन्द्वकालीन मुद्दा गुपचुप बनाउने नियतले सत्ता टिकाउन गरिएका सम्झौता कुनै पनि हालतमा मान्य छैनन्। यसले पीडितलाई राहतको सट्टा आहत दिएको छ। संक्रमणकालीन न्याय प्रक्रिया झ्नै जटिल बनाएको छ।

यस्तै, बेपत्ता छानबीन आयोगलाई काम गर्न कतिपय कानूनको अभाव छ। आयोगलाई सहयोगी कानून बनाउने र परिमार्जन गर्ने काममा सरकारले ध्यान दिनुपर्छ। पीडितलाई न्याय र दोषीलाई कारबाही गर्ने काममा सरकारले खुट्टा कमाउनुहुँदैन। त्यसैले एमाले–एमाओवादीको पछिल्लो सम्झौता तत्काल फिर्ता लिएर द्वन्द्वपीडितको घाउमा मल्हम लगाउने काम गर्नुपर्छ।

दुर्गा अधिकारी, अनलाइनबाट

सही र सटिक टिप्पणी

'फस्टाएको ओली राष्ट्रवाद' (२–८ जेठ) चित्त बुझयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमतिमा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने प्रयास असफल भएपछि भारतविरोधी बजार चर्चा कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियता झ्नै बढ्यो। यसले सरकारको आयु पनि लम्ब्यायो। तर, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय फिर्ता बोलाउनु र राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित गर्नु चाहिं ओली सरकारको ठूलो कूटनीतिक गल्ती हो। एकोहोरो राष्ट्रवादमा बहकिनु ओलीका लागि उचित छैन। कुरा मात्रै गरिरहे उनको सरकार कसै गरे पनि टिक्दैन।

कृष्ण तिवारी, अनलाइनबाट

रस्नीलाई शुभकामना!

'रस्नी फेसन' (२–८ जेठ) मा रस्नी श्रेष्ठको प्रतिभाबारे पढ्न पाइयो। भारतमा भएको 'एशियन डिजाइन विक' मा सहभागी उनले नेपाली मौलिक ढाकाका पहिरनलाई पश्चिमामाझ् प्रचार गरिन्। ढाकालाई पाश्चात्य शैलीमा प्रस्तुत गरेकी उनले अब अन्य मुलुकमा पनि यस्तो अभियान चलाउनुपर्छ। यो अभियान यात्रामा उनलाई सफलता मिलोस्, शुभकामना।

दिवाकर अधिकारी, अनलाइनबाट

दिनै नहुने उन्मुक्ति

'बदमासीलाई कूटनीतिक उन्मुक्ति' (२–८ जेठ) मा नेपालमा स्वास्थ्य शिविरका नाममा कोरियाली समूहले म्याद सकिएका औषधि बाँडेको थाहा पाएपछि साह्रै नराम्रो लाग्यो। गरीब, निमुखा जनतालाई सहयोगको नाममा सम्बन्धित निकायको अनुमति विना नै औषधि बाँड्ने काम सह्य हुनै सक्दैन। तर, त्यस्तो बदमासी कामलाई सजाय दिनुको साटो कूटनीतिक उन्मुक्ति दिने सरकार गैरजिम्मेवार देखिएको छ। सम्झौं त, यदि कुनै नेपालीले विदेशमा गएर यस्तै अपराध गरेको भए के हुन्थ्यो? नेपाली पक्कै जेल पर्थे। तर, यहाँ ठीक उल्टो छ।

अरुण श्रेष्ठ, अनलाइनबाट

अन्धराष्ट्रवाद होइन

'ड्रागन डान्स!' (२–८ जेठ) लेखमा लेखकको आशय भारतलाई खुशी पारेर मात्र नेपाल सुखी हुन्छ भन्ने जस्तो बुझियो। भारत खुशी होला भनी नेपालले कहिलेसम्म कुर्ने? भारतको दयाका भरमा बस्नु नै नेपालीको दुर्भाग्य हो। लेखक प्रधानमन्त्रीले सत्ता जोगाउने नाममा अन्धराष्ट्रवादको कूटनीतिक चाल चलेको भन्छन्। तर, के आफ्नोबारे सोच्दैमा अन्धराष्ट्रवाद हुने हो? हरेकले आफ्नो देशको हित सोच्नुपर्छ।
नेपाल मामिलामा दक्षिणी छिमेकी भारतको नियतमा खोट भएकाले उसले हामीलाई कहिल्यै असल मित्रको रूपमा हेरेन। त्यसैले हामीले पनि भारतसँग गुहार माग्नु हुन्न।

दिपेश पन्त, अनलाइनबाट

त्यो नारायण चौर होइन

पार्कको पुनर्जीवन (२–८ जेठ) मा भनिए झ्ैं काठमाडौंको नक्सालस्थित नन्दिकेश्वर बगैंचा 'नारायण चौर' होइन। एउटा परिवारले नन्दिकेश्वर बगैंचामा तरकारी खेती गर्दथे। नन्दिकेश्वर बगैंचाको उत्तरपट्टि हालको तबेला रेस्टुराँको पछाडि साइबाबाको मन्दिर बनाएको ठूलो चौर चाहिं नारायण चौर हो। चौरको उत्तरपट्टि ढिस्कोमा नारायणको मूर्ति थियो। सानो छँदा हामी पनि खेल्थ्यौं। भूकम्पका बेला वरिपरिका सबैजना अटाउने ठाउँ थियो नारायण चौर। पत्रकारले धर्मका नाममा खुला ठाउँहरू कसरी हड्पिंदैछ र काठमाडौंलाई कसरी कुरुप र अव्यवस्थित बनाइँदैछ भन्नेतिर खोज्नुपर्छ।

सुशन आचार्य,

[email protected]

comments powered by Disqus

रमझम