१२-१८ असार २०७३ | 26 June - 2 July 2016

दण्डहीनता रोकौं

Share:
  

देशको हालबारे समाचार पढ्दा निराश भइन्छ। सुधि्रएका भन्दा बिग्रिएका खबर धेरै छन्। 'विकासमा दण्डहीनता' (५–११ असार) ले विकासमा देखिएका राजनीतिक, सामाजिक र कर्मचारीतन्त्रको उदासीनता सामुन्ने ल्याएको छ। जनताको सेवामा लागेका कर्मचारीले नै 'यो काम गरेर मैले के पाउँछु?' भन्ने भावना राख्नु लज्जास्पद कुरा हो। दण्डहीनताको अभावले यो मनोमानी मौलाउने मौका दिइरहेको छ।

साङडोमा लामा, अनलाइनबाट

भनिन्छ जनता अनुसारकै नेता हुन्छन्। तर, हामीकहाँ यो भनाइ लागू हुँदैन। जनता पौरखी, कर्मशील, इमानदार र लगनशील छन्। त्यसैले विदेशमा नेपाली कामदारलाई स्वागत गरिन्छ। तर, नेतामा जनताको प्रतिबिम्ब झ्ल्किंदैन। उनीहरू गफाडी, अल्छी, परनिर्भर र सपनामै रमाउने खालका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र उनले चुनेका मन्त्रीहरू मात्र होइन, सपना देखाउने बाटोमा पहिलेका नेताहरू पनि कम थिएनन्। नेपाललाई सिंगापुर बनाउनेदेखि मेलम्चीको पानीले काठमाडौंलाई छताछुल्ल पार्ने सपना अघिल्ला अगुवाहरूले नै बाँडेका हुन्। कुरा मात्रै गर्ने, अफवाह फैलाउने, छल गर्ने नेता तथा मन्त्रीलाई कारबाही नगरेसम्म देश जहाँको त्यहीं रहिरहन्छ।

अनुपम कार्की, अनलाइनबाट

'ब्ल्याकहोलतिर विकास' शीर्षक कतिपयलाई अस्पष्ट लाग्ला। तसर्थ अंग्रेजी शीर्षक राख्दा त्यसको अर्थ कतै खुलाइदिए हुन्थ्यो। सबै पाठक अंग्रेजीमा निपुण छैनन्।

पुरुप्रसाद नेपाल, अनलाइनबाट

शिक्षामा बेथिति

संविधानकै अधीनमा रही कानून र नीतिनियम निर्माण गरिनुपर्ने हो। तर, जान्ने/बुझनेले नै कानून संशोधन गर्दा संविधानसँग बाझ्िने कानून बनाएका रहेछन्। शिक्षा ऐन संशोधनमा देखिएको यो बेथितिले शिक्षा क्षेत्रलाई कतातिर डोर्‍याउला, आकलन गर्न अप्ठ्यारो छैन। ऐन संशोधनको अन्तर्य खोजी गरी समाधान पहिल्याउनुपर्छ।

दीपा लामा, अनलाइनबाट

बेलैमा नियमन

वर्षौंदेखि सञ्चालित र सम्भावना भएका इ–कमर्स, बिजिनेस प्रोसेस आउटसोर्सिङ, डाइरेक्ट सेलिङ जस्ता व्यावसायिक क्षेत्रका लागि नीति–नियम नबनाइनु आश्चर्यजनक कुरा हो। विना कानून सञ्चालन गर्न दिएकै कारण कमोडिटिज डेरिभेटिभ मार्केट र डाइरेक्ट सेलिङको क्षेत्रमा भद्रगोल देखिएको छ। छाडापन मौलाएकै कारण नेटवर्क मार्केटिङ अवैध हुन पुग्यो।

वास्तवमा इ–कमर्स, बिजिनेस प्रोसेस आउटसोर्सिङ जस्ता कम्पनीले अहित गदर्ैैनन्। भविष्य भनेकै सूचनाप्रविधिकै हो। तसर्थ, आईटीमा आधारित व्यापार/व्यवसायको प्रवर्द्धन र नियमनका लागि कानून बनाउन ढिलो गर्नुहुँदैन। कानून नहुँदा वैधानिकताको मात्रै होइन, विश्वसनीयताको पनि प्रश्न उठ्छ।

तर, 'संभावना मार्ने प्रवृत्ति' (५–११ असार) जस्ता लेख नछापिएसम्म सम्बन्धित निकायको ध्यानाकर्षण होला जस्तो लाग्दैन।

जेवी अधिकारी, अनलाइनबाट

सरकारीको साख जोगाऔं

'सरकारीमै उपचार' (५–११ असार) शीर्षकको घतलाग्दो लेख पढियो। लेखकको विचार सोह्रै आना सही छ। नेता तथा मन्त्रीहरू सानोतिनो समस्या आउँदा ग्रान्डी वा सुमेरु अस्पतालतिर दौडिहाल्छन्, वीर वा टेकू अस्पतालको विश्वास नै गर्दैनन्। तर, यसको साटो सरकारी अस्पतालको उपचारस्तर सुधार्न उनीहरू किन लाग्दैनन्? सरकारी सेवामा रहेकाहरूले नैतिकताका लागि पनि यो जिम्मेवारीबाट पन्छिन मिल्दैन। सरकारी अस्पतालको साख जोगाउन सरकार र स्वास्थ्यकर्मी दुवै लागिपर्नुपर्छ।

माया लामिछाने गुरुङ, अनलाइनबाट

आँखा खुल्यो

कुकुरलाई मासुभन्दा सागसब्जी खुवाउनुपर्छ भन्नेबारे थाहै थिएन। 'कुकुर पाल्ने काइदा' (५–११ असार) पढेपछि हाम्रो 'लाइकी' लाई कसरी हेरचाह गर्ने भन्ने राम्ररी बुझें। यसअघि हामीले जापानिज स्पिट्ज पालेका थियौं। तर, त्यो तीन वर्षमै मर्‍यो। रिपोर्ट पढेपछि किन त्यस्तो भएछ भन्ने थाहा पाएँ। आँखा खुल्यो।

आशिका श्रेष्ठ, अनलाइनबाट

औजीको संघर्षलाई सलाम!

'दुर्घटना गायक' (५–११ असार) ले जीवनका 'टर्निङ पोइन्ट' बुझ्ाएको छ। सुदूरपश्चिमका देउडा गायक महेशकुमार औजीको कथा पढेपछि यो अझ् प्रष्ट हुन्छ। सैनिक जवान उनी सरकार–माओवादी भिडन्तमा घाइते भएपछि गायक बनेछन्। औजी स्वरका धनी छन्। उनको 'ए मैना', 'साथ छुट्यो पिरती छुट्यो', 'घुम्टो खोल मैना' जस्ता गीत साह्रै सुरिला छन्।

धनकुमार भट्ट, अनलाइनबाट

अमृता आगमन

बाँसुरीवादन सजिलो काम होइन। चौरसियाकी चेली (५–११ असार) अमृता उप्रेतीको बाँसुरीप्रतिको निरन्तरको लगावले उनीप्रति गौरवान्वित बनायो। अमृताले अब आफ्नै देशमा बाँसुरीवादन क्षेत्रको विकास गर्नुपर्छ। महिला बाँसुरीवादक उत्पादनमा भूमिका खेल्नुपर्छ।

अविरल थापा, अनलाइनबाट

'ब्ल्याक स्पट' मा निगरानी

सडक दुर्घटनाः देशभर ब्ल्याक स्पट (५–११ असार २०७३) पढेपछि लाग्यो हाम्रा देशैभरका सडक धराप रहेछन्। यस्ता अत्यधिक जोखिम रहेका क्षेत्रमा सवारी कुदाउँदा समेत ध्यान नदिंदा वर्षेनि दुर्घटना बढिरहेका देखिन्छन्।

दुर्घटना हुनसक्ने सम्भावित ठाउँहरूमा चालकको जानकारीका लागि होर्डिङ बोर्डहरू राखिएको पनि पाइन्छ, तर चरम लापरवाहीले गर्दा कसैको नजरमा त्यो पर्दैन। एक जना व्यक्तिको लापरवाहीले दर्जनौं व्यक्तिको जीवन जोखिममा परेको हुन्छ।

ट्राफिक प्रहरीले यस्ता 'ब्ल्याक स्पट' पहिचान गरेर त्यहाँ सार्वजनिक जानकारीका लागि सूचनाहरू लेख्ने त गरेको छ, तर यस्ता ठाउँमा हुने दुर्घटना घटाउन प्रहरीको थप सक्रियता आवश्यक देखिन्छ। ती क्षेत्रमा गति सीमित गर्नुपर्ने लगायतका ट्राफिक नियम अनिवार्य रूपमा पालना गर्न लगाउनुपर्छ। पछिल्लो समय काठमाडौंका सडकमा लेन अनुशासन पालनामा कडा गरेको प्रहरीले देशभरमध्ये झ्ण्डै आधा 'ब्ल्याक स्पट' रहेको उपत्यकाका यस्ता क्षेत्रमा निगरानी थालेर अभियान देशैभर पुर्‍याउनुपर्छ।

कुमार तामाङ, काठमाडौं

अक्सफोर्ड स्ट्रीटमा दुई संयोग

एउटा संयोग, हिजो (५ असार) आइतबारको हिमाल खबरपत्रिकामा मेरो 'पुस्तक सम्पदा' स्तम्भमा 'यूरोप यात्रा' को लण्डन काण्डको 'अक्सफोर्ड स्ट्रीट' छापियो र आज (६ असार) म त्यही अक्सफोर्ड स्ट्रीटमा पुगेर 'सेल्फी' खिच्न लागेको छु। अर्को संयोग, सन् १९०० या १९०१ को जून महीनामा महाराज चन्द्रशमशेर यही अक्सफोर्ड स्ट्रीटमा घुम्न, हेर्न र मालसामान किन्न आएका रहेछन्। त्यसको ११५ वर्ष जति पछि म त्यसै कार्यका लागि यस ठाउँमा आइपुगेको छु।

संयोग र एकरूपता यहींनिर सकिन्छ। 'यूरोप यात्रा' मा वर्णन गरिएको अक्सफोर्ड स्ट्रीट र आजको यस ठाउँमा केही कुरा पनि उस्तै छैनन्– आकाश र पाताल जस्तै फरक फरक छन्। चन्द्रशमशेर घोडाको बग्गीमा आएका थिए म ट्यूव, बस र ट्याक्सीमा आएँ। पसल र दुकानहरूका हुलिया पनि बदलिएका छन्। खरीदकर्ता र बिक्रेताका रूपरंग पनि!

कदी

comments powered by Disqus

रमझम