९ -१५ साउन २०७३ | 24-30 July 2016

किन चाहिन्छन् डा. केसी?

Share:
  

चीनमा ८०–८५ लाख र भारतमा करीब २४ लाख जनसंख्या बराबर एउटा मेडिकल कलेज छ। तर नेपालमा चाहिं किन यत्तिका मेडिकल कलेज खोलिएका? लूटको व्यापारका लागि नेता, सांसद् र मन्त्रीहरूको आँखा किन मेडिकल कलेजतर्फ सोझिएको होला?

भैरवराज रेग्मी मार्से, अनलाइनबाट

डा. गोविन्द केसीको एउटा बाहेक सबै मागमा समर्थन छ। अख्तियार प्रमुखलाई महाभियोग लगाउने माग चाहिं नमिले जस्तो लाग्यो। सरकारले उनको यो माग पूरा गरे गलत परम्परा बस्छ। भोलि कुनै इन्जिनियरले फलानालाई महाभियोग लगाउनु पर्‍यो भनी अनशन बस्ला, कसैले डा. केसीलाई नै हटाउनु पर्‍यो भन्ला। यस्तो बेलामा सरकारले के गर्ने?

प्रवेश ढकाल, अनलाइनबाट

कतिपयले डा. केसीको अनशनको गलत व्याख्या गरेका छन्। उनले 'मलाई पेन्सन बढाउनु पर्‍यो, मलाई घर बनाइदेऊ' भनेर अनशन बसेका होइनन्। स्वास्थ्य क्षेत्र र समग्र देशको हितका लागि अनशन बसेका हुन्। अनशन डा. केसी जस्तो सरल र सादगीपूर्ण व्यक्ति मात्रै बस्न सक्छ। माफियाहरू अनशनको धम्की त पटक पटक दिनसक्छन् तर एक पटक पनि बस्न सक्दैनन्। यही हो सत्य र असत्यबीचको भिन्नता।

पुरु सेन्चुरी, अनलाइनबाट

स्वास्थ्य क्षेत्रको विकृति र विसंगतिविरुद्ध जीवनकै राजीनामा लेख्न तयार डा. केसीका मागका विषयमा केही व्यक्तिमा भ्रम देखिन्छ। 'अरू माग त ठीकै हो तर लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने माग नराख्नुपर्ने' वा 'यो काम त संसद्को हो' भन्नेहरू पनि नभएका होइनन्। यी धारणा पूरै गलत छन्। दुनियाँलाई थाहा छ भ्रष्टाचारको जड कार्की नै हुन्। महाभियोग लगाउने काम संसद्को हो भनेर केसीले माग नराख्ने भन्ने हुँदैन। आफूले चुनेर पठाएका जनप्रतिनिधिसँग माग नराखेर कोसँग राख्ने?

अरुण शेरचन, अनलाइनबाट

सडकका पेटीदेखि महलसम्म,

गाविस कार्यालयको कोठादेखि

यत्र तत्र सर्वत्र छन् लोकमान

सिंहदरबारको भव्य कक्षसम्म!

जबसम्म ऐना हेर्दा तिमीले

गोविन्द केसीलाई देख्दैनौ

तबसम्म लोकमानहरू भेटिन्छन्

यत्र तत्र सर्वत्र र आफूभित्र।

योगिश कृष्ण, अनलाइनबाट

गाह्रो भाषा

हिमाल मा कुनै मनोवैज्ञानिकले लेख्छ जस्तो लाग्छ। केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्दैछन् भनेर हिमाल ले विश्लेषण गरेको थियो, बने पनि। तर ओलीको मनपरीमा खासै आलोचना गरेन। जुनसुकै विषयमा विशेषज्ञ विश्लेषण गर्ने हिमाल को भाषा भने आम पाठकलाई बुझनै गाह्रो हुन्छ।

लोकमान लोकतान्त्रिक मुलुक र राष्ट्रिय स्वाभिमानमा देखिएका काला दाग हुन्, उनलाई चिकित्सा क्षेत्रसँग मात्र हैन लोकतन्त्र र राष्ट्रियताको भविष्यसँगै जोडेर हेर्नुपर्छ। खिलराज रेग्मीको चुनावी सरकारले नियुक्त गरेका लोकमान आफैंमा 'कामचलाउ' मात्र हुन्।

सुरज दाहाल, अनलाइनबाट

नेताहरू बाहिर एउटा भन्छन् भित्र अर्कै गर्छन्। कांग्रेस, एमाले, माओवादी सबैले आफ्नो स्वार्थ पूरा गर्ने हुन्। यी नेताहरू वर्तमान मात्रै हेर्छन्, भूतकाल बिर्सन्छन्।

रामप्रसाद न्यौपाने, तानसेन, पाल्पा

महिलाबाटै हिंसा!

यदि हिमाल (२–९ साउन) मा प्रकाशित 'मुगुका पिउलीहरू' अनुभूतिका कुरा सत्य हुन् भने यति धेरै सन्तान जन्माउने जिल्ला र समष्टिमा कर्णाली अञ्चलको जनसंख्या नेपालमा सबैभन्दा कम किन छ भन्नेतर्फ खोजी गर्नुपर्छ।

डा. सुरज श्रेष्ठ, अनलाइनबाट

छोरी जन्मन्छे, छोरी भएकै कारण दुःख पाउँछे। फेरि त्यही छोरी आमा बन्छिन्, त्यही छोरीले आफ्नै आमाबाट पनि भेदभाव सहनुपर्छ। समाजमा जति पुरुष छन् महिला पनि त्यति नै छन्। त्यसैले महिलामाथिको हिंसामा महिला पनि दोषी छन्।

देवकुमार स्काई, अनलाइनबाट

'बडा दिलका तिल' लाई सलाम!

हिमाल (२–९ साउन) मा प्रकाशित 'बडा दिलका तिल' का तिलबहादुर कार्कीलाई सलाम। समाजमा उनी जस्ता परोपकारी कमै हुन्छन्। जति हुन्छन् तिनलाई सहयोग गर्ने झ्नै कम हुन्छन्। समाजले थाहा पाउने गरी समाचार बनाएकोमा हिमाल लाई धन्यवाद।

सूर्यकुमार सारु मगर, अनलाइनबाट

तिलबहादुर कार्कीको काम सराहनीय छ। सरकारले उनलाई सहयोग गर्नुपर्दछ।

विष्णुकुमार सिंजाली, अनलाइनबाट

comments powered by Disqus

रमझम