१-७ वैशाख २०७६ | 14-20 April 2076

आत्मविश्वासको उडान

Share:
  

चुलाचौका, भातभान्सा, घरधन्दा, मेलापात, घाँसदाउरा, लिपपोत, स्याहारसुसार– हाम्रो भाषाभित्र असंख्य यस्ता शब्दावली छन्, जसको उच्चारण मात्रले पनि आम मनोविज्ञानभित्र सदियौंदेखि महिला छवि उत्पन्न गर्दै आएको छ । यही मनोविज्ञान हो, जसले महिलाबारे समाजमा कायम पृथक् दृष्टिकोणलाई संस्थागत गरेको छ । अर्थात् यो मनोविज्ञानले समाजका पाइला–पाइलामा महिलाका लागि सीमा तोक्यो, ‘पुरुषको तुलनामा’ भनेर महिलाको स्वतन्त्र अस्तित्वमाथि अनेकन् सीमारेखा कोर्‍यो र एउटै जीवन–यात्रामा दुई भिन्न बाटो बनाइदियो । परिणाम; एउटै समाजमा महिला र पुरुषका दुई पृथक् संसार बनाइँदा पुरुषको संसारमा शिक्षा, स्वास्थ्य, अधिकार, अवसर, रोजगारी, पहुँच जस्ता सबै विषय अटाए, महिलाका लागि भने त्यसमा ठूल्ठूला पर्खाल निर्माण भए ।

नेपाली महिलाको आजको पहिचानलाई अगाडि राखेर हेर्ने हो भने पुरुषसँगको ‘तुलना’ मा निर्माण गरिएका यी सोचले महिला अस्तित्वलाई साँच्चै निरीह देखाउँछन् । जबकि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि लेपन मार्फत समाजमा लगाइएका अनेकन् बारबन्देज तोडेर महिलाले गरेको प्रगतिको छलाङ अब समाजका लागि ‘साँच्चिकै भरपर्दो’ बन्न थालेको छ ।

हो, नेपाली महिलाको अग्रसरताको उडान क्रमशः उँचाइ लिने क्रममा छ । राजनीति, प्रशासन, अर्थतन्त्र, सामाजिक सेवा लगायत पुरुषको श्रीवृद्धिका भर्‍याङ बन्दै आएका पारम्परिक क्षेत्रमा मात्र नभई ‘पुरुषत्वसँग गाँसिएका’ सैन्य–सुरक्षा, खेलकुद, एड्भेञ्चर, बन्द–व्यापार जस्ता क्षेत्रमा समेत महिला उपस्थिति अब प्रतिनिधित्वमा मात्र सीमित छैन । कतिपय क्षेत्रमा नेतृत्वदायी भूमिका नै निर्माण भएको छ । समाजमा बढिरहेको महिलाको यो उपस्थिति कुनै पाटोमा चुपचाप त कतिपय अवस्थामा मुखर रूपमै भइरहेको छ । ‘लिवरल स्पेस’ निर्माणका लागि पटक–पटक भएका प्रजातान्त्रिक आन्दोलनहरूले सफलता पाए पनि समानताको सवालमा अझै पनि समाज र राज्यसंयन्त्रमा कायम कतिपय अनुदार र पारम्परिक सोच विरुद्ध समेत महिलाहरू मुखर बनिरहेका छन् ।

प्रजातान्त्रिक आन्दोलन मार्फत प्राप्त ‘लिबरल स्पेस’ भित्र सिर्जित थुप्रै अवसरलाई पुरुषकै हाराहारीमा पहिल्याउन सक्षम छन्, आजका महिला । शिक्षा, स्वास्थ्य, रोजगारी, बन्द–व्यापार लगायतका क्षेत्रमा महिलाको बढ्दो उपस्थिति त्यही चुपचाप क्रान्तिको प्रतिफल हो, जो हिजोको ‘पुरुषत्व’ निर्मित परिवार र समाजको पर्खाल नाघेर भइरहेको छ । आमाको नामबाट नागरिकता महिला जागरणको त्यो उत्कर्ष हो जसले लैंगिक समानताको मुद्दा मात्र बोकेको छैन, राज्य–सुरक्षाका नाममा कायम ‘पुरुषत्व’ लाई नै चुनौती दिएको छ । हाम्रो बुझाइमा शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीतिक प्रतिनिधित्व हुँदै राजनीतिक रूपमा कायम वंश व्यवस्था विरुद्ध उठेको ‘आमाको नामबाट नागरिकता’ को आवाज समाजलाई विवेकी पहिचान दिलाउने सत्प्रयास पनि हो ।

त्यही कारण हुनसक्छ, प्रतिनिधिसभामा पेश भएको नागरिकता ऐनको संशोधन विधेयकले महिलाको स्वतन्त्र अस्तित्व खोसेको भन्दै शुरू भएको विरोधले सिंगो समाजलाई तरंगित गरेको छ । परिणाम– विधेयकका विभेदपूर्ण प्रावधानको विरोधमा शुरू भएको अभियानले मूलभूत समस्या संविधानमै रहेको निचोड सहित सुधार संविधानमै खोजिनुपर्ने विमर्श समेत शुरू गराएको छ । खुला सिमानाका कारण समानताका कतिपय कुरा ‘कम्प्रोमाइज’ गर्नुपर्ने बताउँदै आएका राज्य–सञ्चालकहरूले समेत ‘महिलामाथिको यो विभेदलाई सम्बोधन गर्ने उपाय खोज्नैपर्ने’ बताउन थाल्नु आफैंमा एउटा महत्वपूर्ण उपलब्धि हो ।

खुला सीमा र बिहेवारी जस्ता सांस्कृतिक सम्बन्धका कारण आमाको नामबाट नागरिकता दिंदा दक्षिणतर्फको जनसंख्याको भार नेपालतर्फ सर्ने र कालान्तरमा यसबाट नेपाली राष्ट्रियतामै असर पर्ने तर्क सहित वंशजको नागरिकताका लागि बाबुको पहिचान अनिवार्य गरिएको छ । खुला सिमानालाई नागरिकताको प्रमाणपत्रबाट ‘चेक’ गर्ने यो मनोविज्ञान महिलाको सन्दर्भमा विभेदपूर्ण छ नै, बाबुको पहिचानबाट मात्र राष्ट्रियता जोगिने मूढाग्रहबाट अभिशप्त समेत छ । खुला सिमानाबाट लाभ उठाएर एउटै गैरनेपालीले नेपाली नागरिकता नपाओस् भन्नेमा सचेत हुनैपर्छ । तर, नागरिकताको प्रमाणपत्र नै राष्ट्रको रक्षाकवच हो भन्ने मान्यताको विकल्प खोज्न जरूरी भइसकेको छ । जन्मदर्तादेखि नागरिकता वितरणसम्मको प्रक्रियालाई व्यवस्थित डाटाबेस प्रणालीमा लैजाने हो भने कुनै पनि सोचले राष्ट्रियतामाथि आघात नपार्ने सुनिश्चितता हुनसक्छ । राष्ट्रियता जोगाउने प्रमाणपत्रले नभई नागरिकको आत्मबलले हो भन्ने तथ्य साढे तीन वर्षअघिको भारतीय नाकाबन्दीसँग भिडेको राजनीतिक नेतृत्व जति अरूले शायदै बुझेको होला । नेतृत्वले बुझनुपर्छ– आमाको नामबाट दिइने नागरिकताले नेपाली आमाको आत्मविश्वास बढाउँछ र आमाको आत्मविश्वास बढ्नु भनेको घर (देश) बलियो हुनु हो ।

सन्तानलाई आमाको नामबाट नागरिकता दिने उत्कट चाहना पूरा नहुँदै पनि नेपाली महिलामा स्वसिर्जित आत्मविश्वास कुन हदसम्म छ भन्ने हिमाल को यो अंकमा समेटिएका आजका महिलाका जुझारु पाइलाले देखाउँछन् । उमेरले युवा, सोचले नयाँ र समाज हाँक्ने सामथ्र्य राख्ने यी महिलाको हस्तक्षेपपूर्ण उपस्थितिलाई ‘पुरुष सोच’ ले नजरअन्दाज गर्न सक्दैन, मिल्दैन । तर, के आमाको नामको नागरिकता मात्रले समानता सुनिश्चित गर्छ त ? पक्कै पनि गर्दैन । यसले विभेदपूर्ण राज्य–व्यवस्थाको सुधार मात्र गर्नेछ । जुन दिन प्रकृतिप्रदत्त सन्तानोत्पादन बाहेकका काममा महिलाको छवि जोडिन छाड्छ, नेपाली समाज यथार्थमा त्यही दिन मात्र समतामूलक समाजमा दरिनेछ । नेपाली महिलाको आशलाग्दो उडानले त्यही दिनको संकेत गर्छ ।

नयाँ वर्ष २०७६ को शुभकामना ।

comments powered by Disqus

रमझम