२९ भदाै - ४ असाेज २०७६ | 15-21 Sep 2019

संविधान राजनीतिक अस्त्र होइन

Share:
  
- किरण नेपाल

नागरिकका दैनन्दिन आवश्यकता समेत सरकारले सम्बोधन गर्न नसक्दा चुलिएको असन्तुष्टिमा संविधान विरोधी शत्तिाmलाई बल मिलेको छ। संविधान विरुद्घ हिन्दूराष्ट्र पक्षधर, राजावादी, क्षेत्रीय तथा जातीय पक्षपोषण गर्ने शत्तिाmहरू सल्बलाउन थालेका छन्।
वर्तमान विगतको जगमा उभिएको हुन्छ । आज हामी जे जस्ता अधिकार उपभोग गरिरहेका छौं, त्यसको आधार चार वर्षअघि असहज अवस्थाका बीच ऐतिहासिक रूपमा संविधानसभाबाट जारी गरिएको संविधान हो । संविधान बन्न नदिन आन्तरिक र बाह्य चलखेल हुन थालेपछि तत्कालीन प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सकेसम्म प्रक्रिया छोट्याएर भए पनि निर्धारित समयमै संविधान जारी गर्न एकमत भएका थिए ।

पहिलो संविधानसभा विघटन भएको पीडामा रहेका दलहरूलाई १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले पनि देश र जनताको हितमा चाँडै निर्णयमा पुग्न हुटहुटी भरेको थियो । फलस्वरूप कैयन् संशयका बीच ३ असोजको अपराह्न तत्कालीन राष्ट्रपति रामवरण यादवले नयाँ संविधान जारी भएको घोषणा गरे ।

कल्पना गरौं, त्यस दिन संविधान जारी नभएको भए के हुन्थ्यो ? हाम्रो राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमान कुन विन्दुमा संकुचन हुन्थ्यो ? हामी आज भूराजनीतिको जुन उँचाइमा छौं, त्यो कति सम्भव हुन्थ्यो ? आन्तरिक राजनीतिमा ७ मंसीर २०६२ को १२ बुँदे सहमति सिर्जित संविधानसभाबाट नयाँ संविधान र त्यस मार्फत गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, संघीयता जस्ता अहम् मुद्दा संस्थागत हुन्थ्यो ? नयाँ संविधानले सुनिश्चित गरेका यिनै उपलब्धिको कारण हो, संविधानप्रति मधेशकेन्द्रित दलहरूको आन्दोलनको आडमा भारतले नेपालमाथि झ्ण्डै पाँच महीनासम्म लगाएको अघोषित नाकाबन्दीको सामना नेपालीले एकजुट भई गरे ।

संविधान प्राप्तिको सकस र संघर्ष बताउनुको अर्थ संविधानप्रति कुनै प्रश्नविना समर्पित हुनुपर्छ भन्ने होइन । संविधान अकाट्य र अपरिवर्तनीय होइन, गतिशील दस्तावेज हो । गतिशीलताले समयक्रममा प्रकट हुने प्रतिक्रिया र असन्तुष्टिलाई सम्बोधन गर्छ । यसअर्थमा, असहमतिका आवाजहरूलाई समेटेर संशोधनको निश्चित प्रक्रियाबाट संविधानमा लिपिबद्ध गर्ने बाटो सधैंका लागि खुला छ ।

संविधान जारी गरेलगत्तै सरकारको नेतृत्व गरेका केपी शर्मा ओली दोस्रो पटक सत्तासीन भएका छन् । सतहमा दुईतिहाइ बहुमतको बलियो सरकारले नयाँ संविधानले तय गरेकै दिशामा मुलुक अघि बढाइरहेको देखिन्छ । तर, सत्य के हो भने संविधान कार्यान्वयनको जिम्मेवारी समेत पाएको सरकार राजनीतिक स्थिरताको सदुपयोग गर्ने दुर्लभ अवसरबाट चुकिरहेको छ । संविधानले निर्देश गरेका संघ, प्रदेश र स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कानून निर्माण सरकारी प्राथमिकतामा छैन, बनेका कानून पनि कार्यान्वयनको टुङ्गो छैन । आम सर्वसाधारणलाई संविधानका प्रावधान र मर्म बुझउन जुट्नुपर्ने, संविधानलाई समाज रूपान्तरणको बलियो साधनका रूपमा उपयोग गर्नुपर्ने सरकार र राजनीतिक दलहरू आआफ्नै स्वार्थमा रमाएका छन् । संस्थागत भ्रष्टाचार बढ्दो छ । जनजीविकाका विषय उपेक्षामा छन् । सरकारप्रति नागरिकमा असन्तोष र निराशा बढ्दो छ ।

नागरिकका दैनन्दिन आवश्यकता समेत सरकारले सम्बोधन गर्न नसक्दा चुलिएको असन्तुष्टिमा विभिन्न पक्षले खेल्ने ठाउँ पाएका छन् । जसका कारण संविधान विरोधी शक्तिलाई बल मिलेको छ । भर्खर बाटो पहिल्याउन थालेको संविधान विरुद्ध हिन्दूराष्ट्र पक्षधर, राजावादी, क्षेत्रीय तथा जातीय पक्षपोषण गर्ने शक्तिहरू सल्बलाउन थालेका छन् । भारतमा हिन्दूवादी भाजपाका नरेन्द्र मोदीको पुनः सत्तारोहणले पनि नेपालका हिन्दू अतिवादीलाई ढाडस मिलेको बुझन गाह्रो छैन । सबैभन्दा पुरानो प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसभित्रै हिन्दूराष्ट्र स्थापनाको कुरा उठ्नु, संविधान संशोधनको कुरा उठाइनुलाई सामान्य मान्न सकिंदैन । संविधानसँग सम्बन्धित कुनै पनि विवाद समाधानको थलो संसद नै हो । जनादेश विना आन्दोलनबाट संविधान संशोधनको माग स्वीकार्य हुन सक्दैन । संविधान कसैको राजनीतिक स्वार्थ वा शक्ति पूर्ति गर्ने अस्त्र होइन र बन्नुहुँदैन ।

असन्तुष्ट दल वा समूहलाई संविधानप्रति अपनत्व महसूस गराउनु सरकारको पहिलो दायित्व हो । संविधान लागू गर्न सरकारले लोकतन्त्रका ‘हार्डवेयर’ (बहुदलीय प्रणाली, स्वतन्त्र र निष्पक्ष निर्वाचन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, निष्पक्ष न्यायालय, मौलिक अधिकार आदि) जत्तिकै ‘सफ्टवेयर’ (बहुलतामा आधारित सांस्कृतिक र संवेगात्मक स्वरुपहरूः धार्मिक आस्था, भाषा, भेषभूषा, रहनसहन स्वतन्त्रता आदि) मा पनि उत्तिकै ध्यान दिनुपर्छ । किनभने बदलिंदो आन्तरिक र बाह्य भूराजनीतिक परिदृश्यमा संविधानको सफलता सरकारको सफलतासँग गाँसिएको छ । संविधान असफल भए लोकतन्त्र, धर्मनिरपेक्षता, संघीयता मात्र होइन, मुलुकको स्वाधीनता पनि धरापमा पर्नेछ । त्यो स्थितिमा दोषको भागीदार वर्तमान सरकार नै हुनेछ । सबै नेपालीलाई संविधान दिवसको शुभकामना !

comments powered by Disqus

रमझम