२४–३० कात्तिक २०७६ | 10-16 Nov 2019

सीमा विवाद सधैंका लागि सल्टाऊ

Share:
  
- किरण नेपाल

नेपाल सरकारबाट आधिकारिक रूपमा कालापानी नेपालको भएको प्रष्ट अभिव्यक्ति प्रकट भइसकेको अवस्थामा भारतलाई ‘कोर्स करेक्सन’ गर्दै नेपालमा आफ्नो छवि सुधार गर्ने अभूतपूर्व अवसर पनि हो, यो।
फेरि एकपटक नेपाली भूमिमा छिमेकी भारत विरोधी नारा गुञ्जिएको छ । सामाजिक सञ्जाल, चियागफ हुँदै विरोधले सडक तात्न थालेको छ । ट्वीटरमा ‘ब्याक अफ इण्डिया’ को ट्रेन्डिङ पुनर्जीवित भएको छ । यसले ठ्याक्कै चार वर्षअघिको भारतीय नाकाबन्दीको झ्ल्को दिलाएको छ । संविधानसभाबाट जारी संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएपछि नेपाली यसैगरी भारत विरुद्ध उत्रिएका थिए ।

यस पटकको असन्तुष्टि सिमानासँग जोडिएको छ । १६ कात्तिकमा भारत सरकारले जारी गरेको नयाँ नक्शामा दार्चुलाको नेपाली भूमि कालापानी क्षेत्रलाई आफ्नो भनेको छ । त्यसपछि नेपालभित्र उत्पन्न चौतर्फी विरोधबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्शाले ‘भारतको सार्वभौम भूभागलाई सही ढङ्गले चित्रण गरेको’ दाबी समेत गरेका छन् । तर, प्राप्त सबैखाले प्रमाण, सन्धि र तथ्य भन्छ– इतिहासमा कहिल्यै पनि कालापानी भारतीय भूमि थिएन ।

तथ्य के हो भने, नेपाल र ब्रिटिश भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिमै नेपालको पश्चिम सिमाना कालीनदी कायम गरिएको थियो । सन् १८५० र १८५६ मा गरिएको सर्भे अफ इण्डियाबाट प्रकाशित नक्शामै लिपुलेक भञ्ज्याङबाट आउने नदीलाई कालीनदी मानी सोही नदीमा सिमाना देखाइएको छ । दुवै नक्शामा कालापानी क्षेत्र नेपालकै भूभाग थियो । सन् १८७५ पछि भने भारतीय नक्शामा कालापानी भन्दा तलको पाखागाउँ खोलाको दक्षिणपट्टिको डाँडोलाई सिमाना देखाइयो, अनि कालापानीलाई भारततर्फ पारियो । तिब्बतमा राजनीतिक अस्थिरतासँगै सन् १९५० को दशकदेखि भारतले चीनसँग जोडिएका नेपाली सीमावर्ती क्षेत्रमा चेकपोष्ट खडा गर्न थाल्यो । हुन त २०२६ सालमा भारतीय असन्तुष्टिका बाबजुद प्रधानमन्त्री कीर्तिनिधि बिष्टका पालामा उत्तरतर्फका अधिकांश चेकपोष्ट हटाइयो, तर कालापानीको बाँकी नै रह्यो । सन् १९६२ मा चीन–भारत युद्धपछि दक्षिणी छिमेक झ्नै सशङ्कित देखियो । त्यसयता नै कालापानीमा भारतीय अतिक्रमणको सुनियोजित प्रपञ्च शुरू भएको हो, जुन आजपर्यन्त जारी छ ।

‘राष्ट्रवादी’ भनिने राजा महेन्द्रकै पालामा कालापानी क्षेत्रमा भारतीय सुरक्षाफौज बस्न थालेका र त्यसलाई उतिवेलै राजनीतिक मुद्दा नबनाइएको परिणाम नै हो, आजको कालापानीको घाउ । तर, कालापानीको घाउलाई झन् गहिरो बनाउने काम भने २०४६ सालपछिका सरकारहरूले नै गरे । पछिल्लो पटक सन् १९९६ मा भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीको कार्यकालमा कालापानी विवाद उत्कर्षमा पुगेको थियो । त्यसपछिका केही वर्ष नेपालभित्रै पनि कालापानीका विषयमा भारतविरोधी अभियान चल्यो । तर, यो पनि धेरै हदसम्म ‘राष्ट्रवादी देखिन भारतको विरोध गर्ने’ रुढीमै खुम्चियो । आन्तरिक द्वन्द्व र राजनीतिको सघन दाउपेचमा दलहरूका लागि सीमा विवाद कहिल्यै प्रधान विषय बनेन । कालापानी, सुस्ता लगायतका सीमा समस्यामा सन् १९८१ देखि नै दुवै देशका अधिकारीको वेलाबखत कुराकानी भइरहेको हो । सन् २०१४ मा नेपाल–भारत संयुक्त आयोगले यी दुई विवादित क्षेत्रलाई परराष्ट्र सचिव स्तरबाटै समाधान गर्ने पहलकदमी गर्ने निर्णय पनि गरेकै हुन् । तर, त्यसको एक वर्षपछि नै चीन र भारतले नेपाली भूमि लिपुलेक र कालापानी हुँदै द्विपक्षीय व्यापार करिडोर बनाउने सम्झौता गरे । कालापानी प्रकरणमा यो नेपालको पछिल्लो कूटनीतिक असफलता थियो ।

दशकौंदेखि दुवै देशको सम्बन्ध सुधारमा बल्झिरहने घाउ बनेको कालापानी विवाद सुल्झाउन अब ढिला गरिनुहुन्न । र, यसका लागि यो इतिहासकै अनुकूल समय हो । यसो भनिनुमा विभिन्न कारण छन् । पहिलो त, देशभित्र सम्भवतः इतिहासकै सर्वाधिक बलियो जनाधार सहितको केपी ओली नेतृत्वको सरकार छ । ओली आफैंसँग जनताको भरथेगमा भारतीय नाकाबन्दीसँग भिडेको अनुभव छ । दोस्रो, कालापानी प्रकरणमा प्रमलाई सबै दल र जनताको समर्थन छ । सबै हिसाबमा राष्ट्रिय एकता छ । तेस्रोचाहिं, भूराजनीतिक उँचाइ हो । नाकाबन्दीपछि दुवै छिमेकीसँग समदूरीको सम्बन्ध स्थापित गर्न सफल नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय कूटनीतिमा आफूलाई ‘देखिने र सुनिने’ स्थानमा पुर्‍याएको छ । यसले पनि सरकारलाई शिर ठाडो गरेर भारतसँग कुरा गर्ने आत्मविश्वास दिलाउने छ ।

हुनसक्छ, जम्मु कश्मीर राज्यलाई प्राप्त विशेषाधिकार खोसेको नरेन्द्र मोदी नेतृत्वको भारतले आन्तरिक राजनीतिक खपतका लागि पनि नयाँ नक्शा सार्वजनिक गर्ने बाध्यता आइलागेको होस् । तर, नेपाल सरकारबाट आधिकारिक रूपमा कालापानी नेपालको भएको प्रष्ट अभिव्यक्ति प्रकट भइसकेको अवस्थामा भारतलाई ‘कोर्स करेक्सन’ गर्दै नेपालमा आफ्नो छवि सुधार गर्ने अभूतपूर्व अवसर पनि हो, यो । यो अवसर छोप्न सके भारतीय प्रम मोदीलाई नेपालीजनले ‘असल मित्र’ मान्नेछन् भने यसका लागि भारतलाई सम्झाउन, बुझाउन सके प्रम ओली ‘वास्तविक राष्ट्रवादी राजनेता’ का रूपमा इतिहासमा सम्झिरहनेछन् । अतः सीमा विवाद सुल्झाउन दुवै देशबीच प्राविधिक र प्रशासनिक तहमा नभई उच्च राजनीतिक तहबाटै छलफल थाल्नुपर्छ । उग्रराष्ट्रवादी सोच र तत्वबाट भने सतर्क हुनैपर्छ ।

सत्य के हो भने, कुनै पनि देशको भूगोलले सम्प्रभुताको आकार निर्धारण गर्दैन । हरेक देशको सम्प्रभुता समान हुन्छ । त्यसैले पनि संवेदनशील कालापानी विवादमा कुनै पनि प्रकारको सम्झैता त परको कुरा, ‘यदि, तर’ को छुट पनि सरकारलाई छैन । किन पनि भने, कालापानी कुनै विवादित भूमि नभई नेपाली भूभाग हो । यसलाई पुष्टि गर्न पर्याप्त ऐतिहासिक दस्तावेज र प्रमेय हामीसँगै छन् ।

comments powered by Disqus

रमझम