हिमाल डायरी

Share:
  

 

१ माघः सरकारको आलोचना गरेको सामग्री प्रसारण गरेलगत्तै इमेज च्यानलको प्रसारणमा अवरोध । 
 
२ माघः सिरहाको एक ईंटाभट्टामा बन्धक बनाई काममा लगाइएका २१ बालबालिकासहित ६४ भारतीय मजदूरको उद्दार । 
 
२ माघः दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न अभियुक्तमाथिको अनुसन्धान नरोक्न सर्वोच्च अदालतको आदेश । अभियुक्तहरूको वयान रोक्न महान्यायाधिवक्ताले पठाएको पत्र गैरकानूनी ठहर । 
 
२ माघः पाँच वर्षका लागि मोहन वैद्यलाई पुनः अध्यक्ष चयन गर्दै नेकपा–माओवादीको महाधिवेशन सम्पन्न । उपाध्यक्ष सीपी गजुरेल, महासचिवमा रामबहादुर थापा, सचिवद्वयमा देव गुरुङ र नेत्रविक्रम चन्द चयन ।  
 
२ माघः राष्ट्रपति डा. रामवरण यादवद्वारा म्याद नतोकी अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम सहमतीय सरकार निर्माण गर्न आह्वान । सहमतीय सरकार निर्माणका लागि ८ मंसीरयता नौ पटक म्याद दिइएको थियो । 
 
४ माघः द्वन्द्वकालका घटनामा आममाफी सहितको सत्य निरुपण तथा मेलमिलाप आयोग अमान्य भएको भन्दै युरोपेली संघद्वारा काठमाडौंमा विज्ञप्ति जारी । संक्रमणकालीन न्याय संयन्त्र गठनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरिए सहयोग रोक्ने चेतावनी । 
 
५ माघः अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई सशरीर उपस्थित भएर बयान दिन आदेश । 
 
८ माघः धादिङको ज्यामरुङ भकारेमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ५० घाइते । 
 
१० माघः दैलेखमा सत्ताधारी एमाओवादी र विपक्षी दलहरूबीच झ्डप, करीब दुई दर्जन घाइते । प्रहरीद्वारा हवाई फायर । विपक्षी दलका कार्यकर्तालाई गोली हान्न आदेश नदिएको भन्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख शारदाप्रसाद चौधरीसहित प्रहरी निरीक्षकद्वय इन्द्र सुवेदी र किरण न्यौपानेको सरुवा ।  
 
११ माघः सत्तारुढ एमाओवादी नेता कार्यकर्ताबाट ज्यान लिने धम्की आएपछि दैलेखका २२ पत्रकार जिल्लाबाट विस्थापित । 
 
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकद्वारा उपकुलपति डा. संगीता भण्डारी बर्खास्त । 
 
१२ माघः महिला हिंसा विरुद्ध बालुवाटारमा शान्तिपूर्ण धर्नामा बसेका पत्रकारसहित २५ अधिकारकर्मी गिरफ्तार । 
 
१३ माघः एमाओवादी जिल्ला सम्मेलनमा सहभागी हुन भक्तपुर पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झ्ण्डा देखाएको भन्दै प्रहरीद्वारा लाठीचार्ज, १५ जना घाइते । 
 
पत्रकारको हत्यारा जोगाउन खोजेको विरोधमा प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी एमाओवादी रौतहट जिल्ला सम्मेलन स्थानीय सञ्चारकर्मीद्वारा बहिष्कार । 

 

comments powered by Disqus

रमझम