१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

नोटमा अब नेपालकै हात्ती

Share:
  

नेपाली मुद्राको सबैभन्दा ठूलो नोट रु.१००० मा नेपाली जोर हात्तीको तस्वीर राखिने भएको छ । हाल प्रचलनमा रहेको नोटमा एउटा मात्र हात्तीको तस्वीर छ । उक्त हात्ती विदेशी भएको भनी आलोचना भएपछि सरकारले नेपाली हात्तीकै तस्वीर राख्ने तयारी गरेको हो । अब रु.१००० को नोटमा चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्ती राम र लक्ष्मणको तस्वीर राखिनेछ । राम र लक्ष्मण अहिले आठ वर्षका भए । ती हात्तीको फोटो राखेको नोटको डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । राष्ट्र ब्याङ्कका अनुसार चिनियाँ कम्पनीले छाप्ने ती नोट एक वर्षभित्र बजारमा आइसक्नेछ ।


सोङ ताओ स्वदेश फिर्ता

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ ८ असोजमा स्वदेश फर्किएका छन् । ‘नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारात्मक छलफल’ कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किएका हुन् । कार्यक्रममा उनले सी चिनफिङ विचारधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा जानकारी दिएका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभाग उपप्रमुख वेदुराम भुसाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले बिदाइ गरे । कार्यक्रममा सहभागी हुन ताओ नेतृत्वको १४ सदस्यीय टोली ६ असोजमा नेपाल आएको थियो । सो अवसरमा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच पार्टीगत सहयोग आदानप्रदान गर्ने सहमति पत्रमा पनि हस्ताक्षर भएको थियो । सहमति पत्रमा नेकपाका तर्फबाट विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट ताओले हस्ताक्षर गरेका थिए ।


अमेरिकी राष्ट्रपति र परराष्ट्रमन्त्री बीच भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ७४औं महासभामा भाग लिन अमेरिका पुगेका प्रतिनिधिहरूका लागि ८ असोजमा आयोजित रात्रिभोजका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले ट्रम्पसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा राष्ट्रपति ट्रम्पले नेपालबारे जिज्ञासा राखेका थिए । उनीसँग आपसी सहयोग र सहकार्यबारे पनि छलफल भएको ज्ञवालीले बताएका छन् । महासभामा सहभागी हुन १९० देशका प्रतिनिधि अमेरिका पुगेका छन् । उनीहरूका लागि न्यूयोर्कको लोट्टे प्यालेसमा रात्रिभोज आयोजना गरिएको थियो ।


डा. सन्दुक रुइत पुरस्कृत

सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई प्रदान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५ असोजमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा.रुइतलाई रु.५ लाख र सम्मानपत्र प्रदान गरिन् । राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्‍याउने प्रतिभालाई दिइने पुरस्कार पहिलो पटक डा.रुइतले पाएका हुन् । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान दिन सरकारले १७ मंसीर २०७५ मा रु.२ करोड २० लाखको कोष बनाउने निर्णय गरेको थियो । डा.रुइत आफ्नो नेतृत्वमा तिलगङ्गा आँखा अस्पताल खोलेर तीन दशकदेखि उपचारमा संलग्न छन् । उनले भारत, भूटान, चीन लगायत देशमा आँखाका बिरामीको उपचार गरेका छन् । डा.रुइतले तिलगङ्गा अस्पतालमा शुरु गरिएको आँखा उपचारको नयाँ प्रविधि एशिया, अफ्रिका र दक्षिण अमेरिकामा पनि लैजाने निर्णय गरेको जानकारी दिए ।


म्हपूजा १२ कात्तिाकमा मनाउने निर्णय

नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन कछलाथ्व प्रतिपदामा नै म्हपूजा मनाउने निर्णय गरेको छ । खलका सचिव नरेशवीर शाक्यले ७ असोजमा जारी गरेको विज्ञप्तिमा आगामी १२ कात्तिकमा कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाइएको छ । मंका खलले ११ कात्तिकमा कौलागा औंसीका दिन लक्ष्मी पूजा तथा कछलाथ्व द्वितीयाका दिन १३ कात्तिकमा भाइटीका गर्ने निर्णय पनि गरेको छ । मंका खलको निर्णय अनुसार नै चाडपर्व मनाउन नेवार समुदायलाई आग्रह गरिएको छ ।

comments powered by Disqus

रमझम