२४–३० कात्तिक २०७६ | 10-16 Nov 2019

फेरिए सातै प्रदेश प्रमुख

Share:
  

राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका सातै प्रदेशका प्रमुखहरुले कार्यभार सम्हालेका छन् । नेपालको संविधान २०७२ को धारा १६३ (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले १८ कात्तिकमा प्रदेश प्रमुखहरुको नियुक्ति गरेकी थिइन् ।

जस अनुसार प्रदेश–१ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश–२ मा तिलक परियार, प्रदेश–३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्तले कार्यभार सम्हालेका हुन् । यसअघि मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले सबै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी थिइन् । पदमुक्त हुनेमा प्रदेश–१ का प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश–२ का रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, प्रदेश–५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले ३ माघ २०७४ मा प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।


रेञ्जरको विश्व सम्मेलन सौराहामा

विश्वभरका रेन्जरहरूको नवौं सम्मेलन २६ कात्तिकदेखि चितवनको सौराहामा हुँदैछ । पाँचदिने विश्व रेन्जर सम्मेलनमा ७१ देशका ५५० संरक्षणकर्मी सहभागी हुनेछन् ।

अन्तर्राष्ट्रिय रेन्जर फेडेरेसन (आईआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन एशियामा पहिलो पटक हुन लागेको हो । सम्मेलनका कारण नेपालले वन्यजन्तु संरक्षण र अनुसन्धानमा हासिल गरेका उपलब्धि र नेपालमा वन्यजन्तु पर्यटनको अवसरको प्रचार हुने अपेक्षा गरिएको छ । आठौं सम्मेलन २०१६ मा अमेरिकाको कोलोराडोमा भएको थियो ।


महरा जेल चलान

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा पूर्वक्षका लागि १८ कात्तिकमा जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले पछि ठहरेबमोजिम हुने गरी उनलाई थुनामा राख्न आदेश दिएको हो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महरालाई पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले महरा विरुद्ध बलात्कार उद्योगमा कारबाही गर्न अभियोगपत्र दर्ता गरेको थियो । अब मुद्दाको टुङ्गो नलागेसम्म महरा जेलमै रहने छन् ।


कुवेत विरुद्घको खेल तटस्थ मैदानमा

दशरथ रङ्गशाला पुनर्निर्माण नसकिएपछि विश्वकप फूटबल २०२२ र एशियाकप २०२३ को छनोट अन्तर्गत कुवेत विरुद्ध घरेलु मैदानमा खेल्ने अवसर नेपालले गुमाएको छ । फिफाको तालिका अनुसार ३ मंसीरमा हुने सो खेल अब तटस्थ मैदानमा हुनेछ ।

अखिल नेपाल फूटबल संघ (एन्फा) ले नेपाली दर्शकसँग माफी माग्दै कुवेत विरुद्धको खेल भूटानी मैदानमा प्रस्ताव गरिएको जानकारी दिएको छ । नेपालले कुवेत विरुद्ध पहिलो खेल घरेलु मैदानमा १९ भदौमा खेल्ने फिफाको तालिका थियो । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त दशरथ रङ्गशाला तयार भइनसकेकाले नेपालले कुवेतसँग पहिला ‘अवे’ खेल खेलेको थियो । तर, दशरथ रङ्गशाला पुनर्निर्माण नसकिएपछि कुवेतले ३ मंसीरमा रङ्गशालामा खेल्न अस्वीकार गरेको छ ।

कुवेतको प्रतिक्रिया लगत्तै एशियाली फूटबल महासंघ (एएफसी)ले खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको थियो । एएफसीको निर्देशनसँगै कुवेत विरुद्ध नेपालले घरेलु मैदानमा खेल्न नपाउने निश्चित भएको छ । अवे खेलमा नेपाल कुवेत विरुद्ध ७–० ले पराजित भएको थियो ।


काठमाडौंमा आप्रवासी सम्मेलन

आप्रवासी कामदारको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २६ कात्तिकबाट काठमाडौंमा शुरु हुँदैछ । राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा हुन लागेको तीनदिने सम्मेलनमा २५ देशका प्रतिनिधिले भाग लिनेछन् । सम्मेलनमा आप्रवासी व्यवस्थापन र आप्रवासी कामदारका अधिकार, उत्तरदायित्वपूर्ण तथा स्वस्थ भर्ना प्रक्रियाको अभ्यासलाई प्रोत्साहन, अवैधानिक आप्रवासन, कामदारको न्यायमा पहुँच र सुनिश्चितता लगायत विषयमा छलफल हुने आयोगका आयुक्त सुदीप पाठकले जानकारी दिए ।

comments powered by Disqus

रमझम